ज्येष्ठ नागरिकमैत्री छैन जुम्ला मालपोत कार्यालय

हिमालय टाइम्स
Read Time = 4 mins

विजय रावत

जुम्ला । जिल्ला मालपोत तथा नापी कार्यालय जुम्ला ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिमैत्री नहुँदा उनीहरूलाई सेवा लिन समस्या भएको छ । जुम्ला सदरमुकाम खलंगा बजार समुद्री सतहदेखि दुई हजार ५१४ मिटर उचाइमा छ । मालपोत कार्यालय त्यसभन्दा करिब २०० मिटर उचाइमा पर्दछ । त्यहाँ सेवा लिन जाने सबै सेवाग्राहीले उकालो बाटो चढ्नुपर्दछ ।

जग्गा कारोबार हुने भएकाले सेवाग्राहीहरूमा ज्येष्ठ नागरिकहरूले अनिवार्य मालपोत कार्यालय पुग्नैपर्छ । तर, दम तथा श्वासप्रश्वासका रोगी नागरिकहरूले त्यहाँ पुग्न निकै सास्ती भोग्नुपर्दछ । मालपोत पुग्न असहज भएपछि ज्येष्ठ नागरिक, दमका रोगी तथा अपांगता भएका व्यक्तिहरूले सेवालाई सहज र सुगम बनाउन अनुरोध गरेका छन् ।

जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले मालपोत कार्यालय जुम्ला आफ्ना लागि निकै कष्टकर भएको बताउनुभयो । ‘हामीले जिल्ला प्रशासन कार्यालय, राजनीतिक र नागरिक समाजलगायतका सरोकारवाला निकाय, मालपोत कार्यालय सहज बनाउन धेरैपटक पहल गर्यौ तर आजसम्म हाम्रो पीडा कसैले सुनुवाइ गरेन,’ अध्यक्ष भारतीले भन्नुभयो, ‘तत्कालीन जिल्ला विकास समिति र महिला विकास कार्यालयमा मालपोत र नापी सारिदिएको भए हामीलाई सहज हुने थियो ।’

आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पनि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिमैत्री नभएको उहाँले दुखेसो प्रकट गर्नुभयो । अपांग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले मालपोत तथा नापी दुवै कार्यालय ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिमैत्री नहुँदा ठूलो दुःख भोग्नुपरेको प्रतिक्रिया दिनुभयो । ‘सबै सरकारी कार्यालय सदरमुकाम खलंगा बजारमा छन् । तर, उक्त कार्यालय अवैज्ञानिक स्थानमा राखिएको छ । त्यसलाई तल सार्न जरुरी छ,’ अध्यक्ष धितालले भन्नुभयो । यता जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र रोकायले कार्यालयको भौतिक संरचना र सेवा प्रवाह राम्रै भए पनि ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई त्यहाँ पुग्न निकै असहज भएको बताउनुभयो ।

मालपोत विभागको परिपत्रअनुसार साबिक सिञ्जा क्षेत्रका ११ गाविसलाई सेवा पुग्ने मालपोतको शाखा सिञ्जा गाउँपालिका राख्ने पहल सांसद गजेन्द्र महतले गर्नुभएको छ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा दिएको बताउँदै निमित्त कार्यालय प्रमुख रोकायले जनप्रतिनिधिहरूद्वारा पहल भए कार्यालय उपयुक्त ठाउँमा सार्न सकिने बताउनुभयो । चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको समस्यालाई मध्यनजर गरी मालपोत कार्यालय तल सार्न पहल गरिरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?