खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र : तारले बढायो बजारमा जोखिम

हिमालय टाइम्स
Read Time = 10 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबजारको खुलामञ्चलाई स्तरोन्नती गरि मिनी रंगशाला बनाउने काम सुरु भएको बर्षौ बितेपनि बजेट अभावले योजना अलपत्र परेको छ । खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरु यस अघि राष्ट्रिय र अन्तराष्ट्रियस्तर सम्म पुगिसकेको भएपनि केहि बर्ष यता खुलामञ्च खेलमैदान उपयोग विहिन बनेको छ ।

खुलामञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामाग्रि अव्यवस्थित रुपमा राखिएको कारण विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगिता समेत प्रभावित बनेका छन भने बेनी स्थित विभिन्न विद्यालय र क्लबका खेलाडीहरुले खेल अभ्यास राम्रोसंग गर्न पाएका छैनन् ।

मिनि स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारहरू समेत बीचैमा अलपत्र बनेका छन् । अहिले खुलामञ्च सवारीसाधनको पार्किङ गर्ने स्थान र बजारको सडक कालोपत्रे गर्ने सामानहरू ढुंगा, गिटि र बालुवा भण्डारण गर्ने स्थानको रुपमा परिणत भएको छ ।

पूर्वाधार निर्माण योजनाले पूर्णता पाउन नसक्दा युवाहरूलाई खेलकुद अभ्यासमा कठिनाई र फुटबल प्रतियोगिता आयोजना गर्न नपाएको एभग्रीन युवा क्लवका अध्यक्ष निरज राम्जालीले बताउनुभयो ।

‘खुल्लामञ्चमा पछिल्लो समय खेलकुद अभ्यास गर्न ग्राहो छ, ढुंगा, बालुवा र सडक कालापत्रे गर्ने अलकत्रा लगायतका सामाग्री खुल्लामञ्चमा राख्दा अभ्यास गर्ने मैदानको स्वरुप विग्रिएको छ, खेलकुद अभ्यासमा युवाहरू घाइते हुने अवस्था सिर्जना भएको छ’- अध्यक्ष राम्जालीले भन्नुभयो ।

खुल्लामञ्चको पुर्वाधार निर्माणमा ढिलाई गर्दा बेनीमा विभिन्न समयमा एभग्रीन, बौद्ध युवा क्लव, कालीपुल युनाईटेड र दोभान युवा क्लवले आयोजना गर्ने फुटवल लगायतका खेलकुद प्रतियोगिता समेत प्रभावित बन्दै आएका छन् ।

खुल्लामञ्चलाई मिनी रंगशाला बनाउने योजनासहित अघि बढेपनि बजेटको निरन्तरता नहुदा पुर्वाधार निर्माण अलपत्र परेको हो । खुल्लामञ्च खेलमैदान मात्र नभएर ब्यापारिक मेला महोत्सव, साँस्कृतिक कार्यक्रम र राजनीतिक सभा हुने स्थल पनि हो ।

तर, पछिल्लो समय क्लव, विभिन्न संघसंस्था, विद्यालयले आयोजना गर्ने खेलकुद प्रतियोगिता र मेलामहोत्सव रोकिएको छ । बजेटमा निरन्तरता नहुँदा निर्माणधिन प्याराफिट अलपत्र छ । विभिन्न खेलकुद प्रतियोगितामा जनप्रतिनिधिले खुलामञ्चलाई मिनि स्टेडियम बनाउने घोषणा भाषणमा सिमित भएको छ । संघ, प्रदेश र स्थानीय तहले खुल्लामञ्चको पुर्वाधार निर्माणमा प्राथमिकता नदिएको युवा क्लवहरूको गुनासो छ । अलपत्र अवस्थामा रहेको खुल्लामञ्चलाई पुर्णता दिने गरी बजेटको लागि नगरमा छलफल अघि बढाउने बेनी नगरपालिका-७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

म्याग्दी नदीको किनारतर्फ अग्लो पर्खाल निर्माण सम्पन्न भएको छ । प्याराफिट निर्माणको करिब आधा काम सकिएको छ भने आधा भागको प्याराफिट निर्माणमा बजेट अभावले रोकिएको छ । कालीगण्डकी किनारतर्फ खुल्लामञ्चलाई फराकिलो बनाउने किसिमले प्याराफिट निर्माण लागि सुरु गरिएको काम पिल्लर राख्ने काम मात्र भएको छ ।

जिल्ला सदरमुकाम बेनीमा फराकिलो प्याराफिटसहितको स्तरीय रंगशाला बनाउने योजनासहित जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डीपिआरसहित नौ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो ।

जनप्रतिनिधि राजनीतिक रुपमा बोलेको बाचा पुरा नगर्दा जिल्लामा ठूूला आयोजनाहरू मध्ये खुल्लामञ्च पनि अलपत्र छ । कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११/११ जना फुटबल खेल्न मिल्ने खेलमैदान बनाउन ९६ मिटर लम्वाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउने योजना छ । हालसम्म तीन करोड भन्दा बढी लगानी भएको खुल्लामञ्चलाई ब्यवस्थित बनाउन नौ करोड भन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

कोरोना कहर र त्यसपछि समेत बजेट विनियोजन नभएपछि खुलामञ्चको पूर्वाधार निर्माण प्रभावित बनेको हो । आर्थिक बर्ष ०७७/०७८ मा यो योजनामा कतैबाट पनि बजेट विनियोजन भएन । आव ०७८/७९ मा पनि विगतमा दिएको आश्वासन अनुसार बजेट विनियोजन नहुदाँ खुल्लामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने योजना अधुरै बन्ने भएको हो ।

खुल्लामञ्चको पूर्वाधारलाई पुर्णता दिने बजेट नगरपालिकासँग नभएको मेयर सुरत केसीले बताउनुभयो । उहाँले खुलामञ्चको पूर्वाधार निर्माणलाई नगरले प्राथमिकतामा राखेपनि १५/२० लाख भन्दा बढी बजेट विनियोजन गर्न सक्ने क्षमता नगरसंग नरहेको बताउँदै सम्बन्धित निकायमा पहल गर्ने जानकारी दिनुभयो ।

अव्यवस्थित तारका कारण बढ्यो जोखिम

बेनी नगरपालिकाको ७ र ८ नं वडामा पर्ने जिल्ला सदरमुकाम बेनीबजारमा जडान गरिएको सडकबत्ती नबलेको एक हप्तायता बलेका छैनन् । बत्ती बल्न छाडेपछि बेनी नगरपालिकाले समस्या पहिचान गर्न दुई प्राविधिकलाई दुई दिनसम्म परिचालन ग¥यो । समस्या पहिचान हुन नसक्दा सडकबत्ती मर्मतमा ढिलाइ भएको बेनपा-७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

‘विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण त्यही पोलमा राखिएको सडकबत्तीको समस्या पहिचान गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘अव्यवस्थित तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै बजारको सौन्दर्यमा पनि असर परेको छ ।’ बेनी बजारका विद्युतका पोलमा नेपाल टेलिकमका टेलिफोनका साथै निजी क्षेत्रका केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको पनि तार तानिएको छ । वर्षौँ पुराना र काम नलाग्ने तार पोलबाट हटाइएको छैन । विद्युत्का पोल तारको गुजुल्टाले फेटा गुथाएजस्तो भएका छन् । जसका कारण विद्युत् पोलमा भार बढेको छ ।

सडकबत्ती मर्मतसँगै विद्युतका पोलमा राखिएका अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता देखिएकाले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । प्राधिकरण र तार प्रयोग गरेर केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग छलफल गरेर आगामी असोज महिनाभित्र व्यवस्थापन गरिसक्ने योजना बनाएको उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाले बजारको सडक छेउमा रातको समयमा उज्यालो बनाउन सडकबत्ती जडान गरेको छ । बजारलाई सुरक्षित बनाउन, रातको समयमा हुने अपराध न्यूनीकरण र अनुसन्धानमा सघाउने उद्देश्यले सडकबत्ती जडान गरिएको हो । सडकबत्ती बल्न छाडेपछि सुरक्षा चुनौती बढेको बजारवासीले बताएका छन् ।

गत असोजमा नेपाल विद्युत् प्राधिकरणले सम्झौताबिनै विद्युतका पोलको प्रयोग गरेर भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने अभियान थालेको थियो । तर केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको आन्दोलन र दबाबपछि प्राधिकरण पछि हटेको छ ।

जिल्लामा दुई केबल टिभी र पाँचवटा इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेका छन् । पोल प्रयोग गरेवापत ती कम्पनीले प्राधिकरणलाई प्रतिकिलोमिटरका दरले भाडा तिर्नुपर्ने नियम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?