भत्ता बुझ्न पैदल तीन दिन, घर फर्कंदा रित्तो हात

हिमालय टाइम्स
Read Time = 7 mins

कृष्ण विष्ट/हिटा
बैतडी । बैतडीको सिगास गाउँपालिका कले लुहार, महा लुहार र कालु लुहार बुधबार भत्ता बुझ्न भन्दै घरबाट हिँड्नुभयो । बिहान झिसमिसेमै घरबाट हिँड्नुभएका उहाँहरू दुईदिनको पैदल हिँडेर वडा नं २ मा रहेको कृषि विकास बैंकमा पुग्नुभयो । तेस्रो दिन बैंकमा पुग्नुभएका उहाँहरू भत्ता नलिएरै घर फर्किन बाध्य हुनुभयो । शुक्रबार बैंकमा पुग्नुभएका उहाँहरू दिनभर लाइनमा बसे पनि पालो नआएपछि निराश भएर फर्किन बाध्य हुनुभएको हो ।

६० वर्षीय कालु लुहारले भन्नुभयो, ‘समाजिक सुरक्षा भत्ता बुझ्न सारै गाह्रो भयो, बैंकमा ठेलमठेल भिड थियो, पालो नै आएन, शनिबार र आइतबार बैंक बन्द हुने भएपछि रित्तै फर्किन बाध्य छौँ ।’ भौगोलिक विकटता र बैंकिङ झन्झटिलोका कारण दुःख भएको उहाँहरूको गुनासो छ । ‘तीन दिन लगाएर बैंकमा पुगेर पनि रित्तै फर्किन बाध्य छौँ, महा लुहारले भन्नुभयो, वडामै भत्ता बुझ्ने व्यवस्था भए राम्रो हुन्थ्यो ।’ उहाँका अनुसार सिगास-५, ६, ७ र ८ नम्बर वडाबाट हिँडेर बैंक भएको ठाउँ पुग्दा दुई/तीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानुपर्ने अवस्था छ ।

लुहारको मात्र होइन वृद्ध तथा समाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया वडास्तरमै हुनुपर्ने उहाँ जस्तै सबैको माग छ । सिगास गाउँपालिकामा रहेको कृषि विकास बैंकमार्फत भत्ता वितरण हुने गरेको छ । कृषि विकास बैंकको शाखा वडा नं २ मा छ । भौगोलिक रूपमा विकट रहेको पालिकामा सामाजिक सुरक्षा भत्तादेखि बैंकिङ कारोबारको लागि सेवाग्राहीलाई सास्ती हुँदै आएको छ ।

सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबैजसो ठाउँहरूमा सामाजिक सुरक्षा भत्ता बुझ्न समास्या भइरहेको छ । तीनदेखि चार महिनाको भत्ता एकैपटक निकासा हुँदा भत्ता बुझ्न बैंकहरूमा भिड लाग्ने गरेको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न दुई/तीन दिन हिँड्नुपर्दा बाटोमा बिरामी पर्ने, हिउँ परेका बेला र वर्षात्मा भिरपाखाको बाटो हिँड्न निकै जोखिम हुने गरेको वृद्धवृद्धाहरूको गुनासो छ ।

कतिपय ग्रामीण बस्तीमा सडक छैन । भएका कच्ची सडकमा यातायात चल्दैन । राज्यले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लिने निर्णय लिएपछि पैदल यात्रा गर्न ज्येष्ठ नागरिक बाध्य भएका छन् । वडा कार्यालयबाट वितरण हुँदै आएको भत्ता गत चैतदेखि बैंक खाताबाट वितरण हुन थालेको हो । बैतडीको सिगास गाउँपालिका-२ स्थित कृषि विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, पाँच वर्षमुनिका बालबालिकाले सास्ती भोग्दै आइरहेका छन् ।

यता, बैंकको दुःख पनि उस्तै छ । बिजुली बत्ती नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर बैंक सेवा दिनु परिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजुली नहुँदा बैंकको सेवा छिटो छरितो हुन सकेको छैन । घाम नलागेको दिन सोलारले काम गर्दैन । इन्टरनेट नचल्दा सेवा ठप्प हुने गरेको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती भएकाले बैंकसित समन्वय गरेर वडा कार्यालयमार्फत गाउँमै भत्ता वितरण गर्नुपर्ने सेवाग्राहीले माग गरेका छन् । सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

यता, सामाजिक सुरक्षा भत्तालाई सहज बनाउनेबारे पालिकामा छलफलकै क्रममा रहेको सिगास गाउँपालिकाका पञ्जीकरणका फिल्ड सहायक खगेन्द्र धामी पनि बताउनुहुन्छ । वडामै बैंकका कर्मचारी बोलाएरै भए पनि भत्ता सहज रूपमा वितरण गर्नेबारे छलफल चलिरहेको उहाँको भनाइ छ ।

जिल्लाको दशरथचन्द नगरपालिकाले बैंकको पहुँचभन्दा टाढा रहेका वडाहरूमा वडा कार्यालयबाटै भत्ता वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ । २, ३, ७, ९ र ११ नं वडाका नागरिकहरूलाई सम्बन्धित वडा कार्यालयबाटै भत्ता वितरणको तयारी थालेको हो । जिल्लाको सुर्नया गाउँपालिका-३ वडामा पनि वडा कार्यालयबाटै भत्ता वितरण गर्ने निर्णय भएको छ ।

गत चैतमा दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लाइन लाग्नुभएका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भएको थियो । उहाँ सिगास-६, थलाकाँडाबाट सिगास गाउँपालिका-२ स्थित कृषि विकास बैंक पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?