अत्यासलाग्दो ‘लु’ ले जनजीवन प्रभावित

हिमालय टाइम्स
Read Time = 6 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित कोहलपुर सबैभन्दा बढी गर्मी हुने ठाउँ हो । गर्मीयाममा यहाँ लु (तातो हावा) चल्ने गर्दछ । जसका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित हुन्छ । पछिल्लो समय नेपालगञ्जमा बर्सेनि तापक्रम बढ्दै गएको छ । जल तथा मौसम विज्ञान कार्यालय फिल्ड कार्यालय नेपालगञ्जको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा नेपालगञ्जको तापक्रम बढ्दै गएको देखिन्छ ।

कार्यालयका इन्चार्ज पलबहादुर विश्वकर्माका अनुसार सन् २०१९ को मे ११ र २० तारिखमा सबैभन्दा बढी ३४.५ र न्यूनतम १८.० डिग्री सेल्सियस थियो । सन् २०२० को पनि मे महिनामै सबैभन्दा धेरै तापक्रम पुगेको उहाँले बताउनुभयो । उक्त वर्ष मे महिनामा अधिकतम तापक्रम ४१.८ र न्यूनतम १७.० डिग्री सेल्सियस पुगेको थियो । यो पछिल्लो तीन वर्षमा सबैभन्दा बढी हो ।

सन् २०२१ के २८ अप्रिलमा अधिकतम ३१.७ र न्युनतम १७.० डिग्री सेल्सियस रहेको उहाँको भनाइ छ । गत चैतमा नेपालगञ्जमा सबैभन्दा बढी ३४.६ डिग्री मापन गरिएको थियो । यो वर्ष अप्रिल ४ तारिखदेखि गर्मीयाम सुरु भएको थियो । अप्रिलदेखि जुन महिनासम्म सबैभन्दा धेरै जुन ४ तारिख (जेठ २१) गते सबैभन्दा बढी ४०.८ डिग्री सेल्सियस पुगेको थियो । अहिले यहाँको तापक्रम दिउँसो ४० डिग्री नाघेको छ ।

हाल विश्वमा जलवायु परिवर्तनका कारण बर्खामा अधिक वर्षा र गर्मी हुने गरेको छ । जलवायु परिवर्तन विश्वमा अहिलेको सबैभन्दा ठूलो समस्या हो । विगत तीन दशकदेखि वायुमण्डलको तापमान बढाउने ग्याँस उत्सर्जन तीव्ररूपमा बढेकाले तापमान बढ्दोक्रममा रहेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनको चपेटामा पुगेको मुलुक नेपालसमेत हो । यसले बेमौसममा अधिक वर्षा र गर्मी भइरहेको छ ।

समतल क्षेत्रमा झन् गर्मी बढ्नुको कारण पनि अव्यवस्थित औद्योगीकरण र जलवायु परिवर्तन रहेको मौसमविद्हरू बताउँछन् । यसै कारण पछिल्लो दशक काठमाडौंमा समेत तापक्रम पनि निरन्तर उकालो लागिरहेको छ  । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएकोमा २ चैतमा वर्षा हुँदा २९.५ मा झरेको थियो । ३ चैतमा तापक्रम २८.८ डिग्री पुगेको थियो । बेलायती अनुसन्धानकर्ताहरूको अध्ययनमा सन् २०२२ देखि २०२६ मा विश्व तापमान १.१ देखि १.७ डिग्री सेल्सियसम्म पुग्ने उल्लेख छ । २०२२ देखि २०२६ बीचका कुनै पनि वर्षमा विश्व तापमान १.५ डिग्री सेल्सियसले बढ्ने सम्भावना ४८ प्रतिशत रहेको अध्ययनमा भनिएको छ ।

बाँकेमा पछिल्लो एक सातायता अत्यधिक गर्मी बढेपछि शैक्षिक संस्था बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएपछि शैक्षिक संस्था बन्द गरिएको हो । जिल्लाका आठ स्थानीय तहमध्ये पाँचवटा पालिकाले बिहीबार एकै दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका हुन् । जिल्लाको एकमात्र नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका, बैजनाथ र जानकीले शैक्षिक संस्थामा पढाइ बन्द गर्ने निर्णय गरेका हुन् । शिक्षा युवा तथा खेलकुद शाखा खजुराद्वारा जारी विज्ञप्तिमा पछिल्लो एक सातादेखि अत्यधिक गर्मी बढेपछि विद्यार्थीको पठनपाठनमा समस्या भएकाले शैक्षिक संस्था पाँच दिनसम्म बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।

खजुरामा सबै शैक्षिक संस्था २७ गतेदेखि जेठ ३१ गतेसम्म बन्द हुनेछन् । पूर्वनिर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि भने शाखा खुला नै रहनेछ । यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले समेत पाँच दिनसम्मका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोहलपुर नगर शिक्षाका शाखाका प्रमुख रविलाल मिजारले बाँकेमा गर्मीका कारण पठनपाठनमा समस्या भइरहेको गुनासो र केही दिनका लागि विद्यालय नै बन्द गर्नुपर्ने सुझावका आधारमा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार कोहलपुरमा पाँच दिन विद्यालय बन्द हुनेछन् । ‘कोहलपुरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा पाँच दिन विद्यालय बन्द हुन्छन् । त्यसपछि अवस्था हेरेर फेरि निर्णय हुन्छ,’ उहाँले भन्नुभयो । बाँकेका अन्य पालिकाहरूले समेत विद्यालय बन्द गर्ने तयारी गरिरहेको जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?