बाढी र पहिरोका कारण धादिङका ७५ घरपरिवार विस्थापित

Read Time = 3 mins

-बाबुराम श्रेष्ठ
धादिङ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण धादिङका विभिन्न ठाउँका करिब ७५ घरपरिवार विस्थापित भएका छन् ।
वर्षाका कारण धादिङको गङ्गाजमुना गाउँपालिका–६ बसेरीका २४ घरपरिवार विस्थापित भएका छन् । गङ्गाजमुना–६ बुढाथुमका १४, गङ्गाजमुना–५ फूलखर्कका १४ घर, वडा नं २ रि मा १३ घरपरिवार विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समिति धादिङले जनाएको छ ।
विस्थापितहरु सबैले अहिले घर छाडेर अन्यत्र गएका छन् । उनीहरु आफन्तहरु र छरछिमेकीको घरमा बस्दै आएका छन् ।

बाढीपहिरोका कारण विस्थापित भएकाहरुलाई अहिले सम्म त्रिपाल तथा टेन्टसमेत गाउँमा पराउन सकेको छैन । चुनावको समयमा जनताहरुको लागि ठुलो आशा देखाउने नेताहरु अहिले आपतविपत परेको बेला मौन छन् । झुटो आश्वासन देखाई जनतासँग भोट मागेर चुनाव जितेका नेता अहिले विपतको समयमा केही गर्न सकेको छैनन्। गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपदमा परेर विस्थापित भएकाहरूको संख्या धेरै रहेको बताउनु भयो । कच्ची सडक खन्दा ध्यान नदिएका कारण पहिरो आउँदा धेरै क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

बाढी पहिरोले घरबार बिहिन बनाउने यो घटना भने धादिङको लागि कुनै नौलो भने होइन । २०७८ सालको बाढी पहिरोका कारण उत्तरी धादिङको लापा, सेर्तुङ, रि, झार्लाङ, तिप्लिङ, नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरु र धुनीबेसी नगरपालिकाका केही वडाका घरपरिवार विस्थापित भएका थिए ।

बर्षातको समय सुरु भएसँगै उत्तरी धादिङका नागरिकहरु सदरमुकाम धादिङबेसी तर्फ झर्न थालेका छन् । गाउँमा बसोबास गर्दा बाढी र पहिरोले मरिन्छ की भन्ने डरले अहिले उनीहरु सदरमुकाम झर्न बाध्य भएको झार्लाङका माइला तामाङले बताउनु भयो । यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले भने यस विषयमा भोलि बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरिने बताउनु भएको छ । अन्य जिल्लाको हकमा यस जिल्लाको उत्तरी क्षेत्रमा बाढी पहिरोको बढी जोखिम रहेको छ । तसर्थ यसलाई उद्धार र राहत कसरी छिटो छरितो तरिकाले गर्ने हो यस विषयमा हामी छिटो निर्णय गछौं उहाँको भनाई छ ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?