नेता बदलिए मात्र पनि देश सम्मृद्ध बन्नसक्छ : उपसभापति गुरुङ

Read Time = 3 mins

-राधिका बुढाथोकी
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नवनिर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेताहरुलाई हामी आफैँ बद्लिन आवश्यक रहेको बताउनु भएकोे छ ।
बिहिबार काठमाडौँको बत्तिसपुतलीमा आयोजित ‘तीनपाटन गाउँपालिकाका नव-निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा’ उहाँले देश बदल्न अघि नेताहरु आफैं बद्लिए समृद्ध देश बनाउन सकिने धारणा राख्नुभयो ।
‘आफू बद्लिन नसक्ने नेताले आफ्नो पार्टी बदल्न सक्दैन । आफ्नै पार्टी बदल्न नसक्ने नेताले देशको ताला चावी पाएपनि देशको मुहार बदल्न सक्दै सक्दैन,’ भन्नुभयो ।
विकासका लागि निष्ठाको राजनीति गर्न आवश्यक रहेको बताउँदै गुरुङले नेता नसच्चिएसम्म त्यो प्राप्त नहुने बताउनु भयो ।
उपसभापति गुरुङले निष्ठाको राजनीतिलाई तल्लो तहसम्म पुर्याउन र देश बिकासका लागि उच्च तहदेखि तल्लो तहसम्मका नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताउनु भयो ।
साथै उहाँले विदेशी उत्पादन प्रयोग गरेर देश समृद्ध बन्न नसक्ने समेत बताउनु भयो । आफूले रक्सी खाने नगरेको बताउँदै उहाँले भन्नुभयो, ‘स्वदेशको लोकल रक्सी माटोमा पोख्ने र विदेशी रक्सी नेपालमा ल्याएर खाने प्रवृत्तिले देश गरिब भएको बताउनु भयो । उहाँले भन्नुभयो, 'रक्सीमै अरबौँ रुपैयाँ विदेश पठाएर देशको विकास हुँदैन ।’
उहाँले स्वदेशी रक्सीलाई गुणस्तरीय बनाएर, करको दायराभित्र ल्याएर स्थानीय उत्पादनलाई प्रर्वधन गर्ने र विदेशी उत्पादनको प्रयोग कम गर्दै जानु पर्नेमा जोड दिनु भयो । रक्सी मात्र होइन, लुगा पनि विदेशी ब्रान्डका नलगाउने उहाँको तर्क थियो । ‘विदेशी ब्रान्डका ब्रान्डेट लुगा लगाएर हिड्ने नेता, नेता हुनै सक्दै सक्दैन,’ उहाँले भन्नुुभयो ।
स्वदेशी बस्तुको प्रयोग गर्न सकेमात्र पनि देश आर्थिक हिसाबले माथि उठ्न बल मिल्ने बताउदै उहाँले निर्वाचित जनप्रतिनिधि र सबै नेताहरुले रक्सी र लुगा मात्र स्वदेशी प्रयोग गर्ने हो भने पनि करोडौँ अरबौँ जोगिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?