एमफासिस टेक फाउन्डेसनविरुद्ध उत्रिए कर्मचारी, भन्छन्- एक वर्ष बित्दा पनि पैसा पाएनौँ

हिमालय टाइम्स
Read Time = 5 mins

पार्थ मण्डल/हिटा
झापा । एमफासिस टेक फाउन्डेसन काठमाडौंले श्रम शोषण गरेको खुलासा भएको छ । फाउन्डेसनले झापाको भद्रपुर नगरपालिकाका विभिन्न वडा कार्यालयमा करारमा काम गरेका कर्मचारीमाथि श्रम शोषण गरेको पाइएको हो । फाउन्डेसनले आफ्ना शाखा कार्यालयमार्फत करारमा कर्मचारी राखेर व्यक्तिगत घटना दर्ता किताब डिजीटाइजेसनको काम गराएको थियो । श्रम शोषणमा परेका कर्मचारीले पटक-पटक पाउनुपर्ने भुक्तानीका लागि एमफासिसका कर्मचारीसँग सम्पर्क गर्दासमेत रकम उपलब्ध नगराएको पीडित कर्मचारीहरूले गुनासो पोखेका छन् ।

गृह मन्त्रालयको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना सुदृढीकरण परियोजना कार्यक्रमअन्तर्गत नगरपालिकाले व्यक्तिगत घटना दर्ता किताब डिजिटाइजेसन गर्नका लागि सार्वजनिक सूचना आ≈वान गरेका थिए । डिजिटाइजेसनका लागि नगरपालिकाले ६ लाख १८ हजार रुपैयाँ न्यूनतम अंक राखेर सूचना प्रकाशन गरेको थियो । सो टेन्डर एमफासिस टेक फाउन्डेसनले भ्याटबाहेक तीन लाख ९२ हजार २३३ रुपैयाँमा पारेको नगरपालिकाको परियोजना सेवा इकाइका प्रकाश भट्टराईले जानकारी दिनुभयो । एमफासिसका टेक्निकल अफिसर अर्जुन तिवारीले नगरपालिकासँग २०७७ मंसिर ११ गते सम्झौता गर्नुभएको थियो ।

एमफासिसले नगरको तीन स्थानमा एकैपटक २०७७ मंसिर २१ गतेदेखि सुरु गरेको डिजिटाइजेसनमा नगरभित्रका तीन दर्जन बढी युवायुवतीलाई करारमा नियुक्ति गराएर काम गर्न लगाएको थियो । एमफासिसले एउटा घटना कम्प्युटरमा दर्ता गराए बापतमा प्रतिव्यक्ति तीन रुपैयाँ दिने सर्त थियो । दुई महिनासम्म काम गराए पनि एमफासिसले अधिकांश कर्मचारीको रकम नदिएको र दिँदा पनि पाउनुपर्ने रकमबाट घटाएर रकम दिएको पाइएको छ । एमफासिसले एक वर्ष बितिसक्दा पनि काम गरेको रकम नदिएको पीडित कर्मचारी दीपिका मण्डलले बताउनुभयो । ‘तीन महिना काम गर्दा जम्मा १८ हजार रुपैयाँ भएको थियो,’ उहाँले भन्नुभयो, ‘नौ हजार ३६५ रुपैयाँ अझै पाउनु छ, पैसाको लागि एमफासिसका टेक्निकल अफिसर अर्जुन तिवारी र दीपेन्द्र राईसँग पटक पटक फोन सम्पर्क गर्दा पैसा दिएनन् । अहिले त उनीहरूले फोन पनि उठाउन छाडिसके अर्को पीडित कर्मचारी साहिब शेखले बताउनुभयो । ‘मैले पाँच हजार रकम पाउनु छ, मलाई त अहिलेसम्म एक रुपैयाँ दिएन,’ उहाँले भन्नुभयो । त्यस्तै अन्जु तामाङले १० हजार पाँच सय रुपैयाँ लिनुछ । उहाँले गरेको फोन पनि एमफासिसका कर्मचारी उठाउँदैन ।

एमफासिसको बदमासीबारे पीडितहरूले पटक पटक नगरपालिकाका कर्मचारीलाई जानकारी गराइसकेका छन् । तर, अहिलेसम्म उनीहरूको माग सम्बोधन भएको छैन । नगरपालिकाको परियोजना सेवा इकाइका भट्टराईले भन्नुभयो, ‘खटाइएका कर्मचारीलाई भुक्तानी दिन कैयौँपटक एमफासिसका टेक्निकल अफिसर तिवारी र राईलाई फोनमार्फत जानकारी गराउँदा पनि बेवास्ता गरेकै हो ।’

एमफासिसको पाँच प्रतिशत बोलपत्र धरौटी रकम १५ हजार ४५० र भुक्तानी धरौटी रकम १६ हजार ३९८ गरी ३१ हजार ८४८ रुपैयाँ नगरपालिकासँग रहेको नगरपालिकाका लेखा अधिकृत सुवास भट्टराईले जानकारी दिनुभयो । पीडित कर्मचारीलाई रकम नदिएसम्म त्यो धरौटी रकम फिर्ता नदिने नगरपालिकामा छलफल भइरहेको बुझिएको छ । यता, एमफासिसका टेक्निकल अफिसर तिवारीको मोबाइल नम्बर बन्द छ, भने राईको फोन उठ्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?