बजेटका लागि सुझाव माग्दै स्थानीय सरकार

Read Time = 6 mins

-रामचन्द्र रायमाझी
पाल्पा । स्थानीय सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याउन सबै पक्षसँग सुझाव मागी रहेका छन् । पाल्पाका दश स्थानीय तहहरु मध्ये केहीले नीति, कार्यक्रम तथा योजनामार्फत बजेट ल्याउन पत्रकार, राजनीतिक दल र सरोकारवालाहरुसँग सुझाव मागेका हुन् ।

१० असारभित्रै बजेट ल्याउने गरी तयारी थालेको पाल्पाको बगनासकाली गाउँपालिकाले जिल्लाका पत्रकार, राजनीतिक दल, सरोकारवालाहरुसँग सुझाव मागेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको हो । पत्रकारहरुले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षमा केन्द्रीत रहेर आगामी नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन् । उनीहरुले पालिकामा बसाइसराई चुनौतीको रुपमा देखा परेको भन्दै त्यसलाई रोक्न गुणस्तरी शिक्षा, रोजगार र सर्वशुलभ स्वास्थ्यको व्यवस्था गर्न पालिकालाई सुझाव दिएका छन् । पत्रकारहरुले परम्परागत कृषिलाई व्यवसायिक बनाई पालिकावासीको जीवनस्तर उकास्ने, विपन्न र गरिब वर्गहरुका लागि विपन्न उद्यान कार्यक्रम ल्याउनुपर्ने, पर्यटकीय र धार्मिक क्षेत्रको विकास गरी आय स्रोत बढाउनुपर्ने, सेवा प्रवाहलाई प्रभावकारी, चुस्त र पादर्शी बनाउनुपर्ने, कृषि बजारीकरको व्यवस्था मिलाउनु पर्ने, स्थानीय रक्सीलाई ब्राण्डिड्ड गरिनुपर्ने, मिडिया सवलीकरण कार्यक्रम ल्याउनुपर्ने लगायतका सुझाव दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले महँगीका कारण प्रभावित बनेका नागरिकहरुका लागि आयआर्जन र सिपमूलक कार्यक्रम, ओझेलमा परेका पर्यटकीय तथा धार्मिक स्थलहरुको संरक्षण गर्ने जस्ता कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले दलित, बोटे, अल्पसंख्याक समुदायका नागरिकहरुको जीवनस्तर उकास्न आर्यआर्जनका कार्यक्रम ल्याउन गाउँ सरकारलाई सुझाव दिनुभयो । उहाँले कुमाल समुदायले बनाउने माटोका भाडा, बगनासे साँचोको प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले राजश्व संकलनमा ध्यान दिन गाउँ सरकारलाई आग्रह गर्नुभयो । उहाँले बगसकालीका केही वडाहरु कालिगण्डकी बाट प्रभावित क्षेत्र भएकाले विश्व बैंकको सम्झौता अनुसार ति क्षेत्रलाई केही प्रतिशत रकम उपलब्ध गराउनुपर्ने व्यवस्था रहेकाले त्यसतर्फ पालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सचिव यज्ञमूर्ति तिमिल्सीना, बगनासकाली पत्रकार समूहका अध्यक्ष दीपक ढुङ्गाना, पत्रकारहरु कृष्ण पोखरेल, किरण कौशल, कृष्ण कार्की, भोजराज भट्टराई, रामचन्द्र रायमाझी, भोजराज तिमिल्सेना, विष्णु घिमिरे, विजय बौडेल, नेत्र गैरे लगाएतले पालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि विशेष ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पत्रकारहरुको सुझावलाई नीति, कार्यक्रममार्फत बजेटमा समावेश गर्ने बताउनुभयो । उहाँले आगामी नीति तथा कार्यक्रम र बजेटमा के कस्ता विषय बस्तुहरुलाई समेट्दा राम्रो हुन्छ भनि सबै क्षेत्रका व्यक्तिहरुबाट सुझाव संकलन गर्ने कार्य गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ति सुझावका आधारमा नीति, कार्यक्रम र बजेट निर्माण गरी पालिकाको आर्थिक, सामाजिक विकास गरी देशकै नमूना पालिका बनाउने दिशामा हामी अगाडि बढेका छौं ।’ पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाको विकासमा फरक पन ल्याई जनतालाई फरक अनूभूति दिने गरी यस पटकको नीति ,कार्यक्रम र बजेट ल्याउन लागिएको बताउनुभयो । उहाँले पालिकालाई भ्रष्टचार, अनियमितामुक्त पालिका बनाउने समेत बताउनुभयो।

गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले पालिकालाई सूचनामैत्री बनाउने बताउनुभयो । उहाँले पालिकाका हरेक सूचनाहरु मागेको खण्डमा आफुले सहज रुपमा उपलब्ध गराउने समेत बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?