आम्दानीको श्रोत बन्दै पाल्पाको युनानी शैलीमा बनेकाे रानीमहल

Read Time = 8 mins

-रामचन्द्र रायमाझी
पाल्पा । नेपालको ताजमहल र प्रेमको प्रतिकका रुपमा परिचित ऐतिहासिक पर्यटकीय स्थल हो पाल्पाको रानीमहल दरबार । यहाँ देश विदेशबाट थुप्रै पर्यटकहरु आउँने गर्दछन् । आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण केन्द्रको रुपमा रानीमहल दरबार रहेको छ ।  दरबारको उचित प्रयोग गर्न नसक्दा वर्षौदेखि यहाँबाट हुने लाखौं आम्दानी खेर गएको थियो । पर्यटकीय क्षेत्र आम्दानीको गतिलो माध्यम पनि हो । यही माध्यमलाई अहिले पाल्पाको तानसेन नगर सरकारले आफ्नो गतिलो आम्दानीको स्रोत बनाएको छ । वर्षौदेखि प्रयोगविहीन अवस्थामा रहेको रानीमहल दरबारलाई व्यवस्थित गरी नगर सरकारले अहिले मनग्य आम्दानी गर्न थालेको छ ।

आन्तरिक स्रोत पहिचान गर्न नसक्दा अधिकांस स्थानीय सरकारहरु प्रदेश र संघीय सरकारको बजेटमै निर्भर बनिरहेका बेला तानसेन नगर सरकारले भने पर्यटकीय क्षेत्रबाट आम्दानी गर्न थालेको हो । नगर सरकारले रानीमहलमा आउने पर्यटकहरुबाट शुल्क उठाएर आम्दानी गर्न थालेको छ । रानीमहल दरबार अवलोकन गर्न पुग्ने पर्यटहरुबाट प्रवेश शुल्क उठाउने गरिएको छ । ५ महिनाको अवधिमा नगर सरकारले रानीमहल दरबारमा पर्यटक शूल्कबाट मात्र १७ लाख २६ हजार ५ सय २० रुपैयाँ आम्दानी गरेको छ । उसले माघ महिनामा मात्र १ लाख ७७ हजार ७ सय २०, फागुन महिनामा ३ लाख ६२ हजार ५ सय, चैत्र महिनामा ३ लाख २८ हजार ५ सय, बैशाख महिनामा ४ लाख ७६ हजार ३ सय र जेठ महिनामा ३ लाख ८१ हजार ५ सय आम्दानी गर्न सफल भएको नगरपालिका राजश्व शाखा प्रमुख मधुसुदन घर्तिले बताउनुभयो ।

कोरोना सक्रमणको कारण दुई वर्षसम्म बन्द अवस्थामा रहेको रानीमहलमा नगरपालिकाले पर्यटकलाई चाहिने आवश्यक पूर्वाधार निर्माणसँगै २०७८ माघ १ गतेदेखी पुनः सञ्चालनमा ल्याएको थियो । रानीमहल दरबारलाई पुरातत्व विभागले १० वर्षसम्मका लागि रेखदेख तथा संरक्षणको जिम्मा तानसेन नगरपालिकालाई दिएको थियो । नगर सरकारले पर्यटकका लागि रानीमहल दरबार अवलोकनको लागि विहान ८ बजेदेखी ५ बजेसम्म खुला गर्ने व्यवस्था मिलाएको छ । उसले आवश्यकता अनुसार रातीमा समेत उक्त दरबार अवलोकनका लागि व्यबस्था गरेको छ । कोभिडको कारण कुरुप अवस्थामा पुगेको रानीमहल दरबार नगर सरकारकोे वातावरण तथा सरसफाई शाखाका प्रमुख शंकर भण्डारीको संयोजकत्वमा सरसफाई देखी पर्यटकीय पूर्वाधार निर्माण गरी माघ १ गते देखी औपचारिक रुपमा सबैका लागि खुला गरिएको थियो । कुरुप बनेको रानीमहल अहिले हेर्ने लायक बनेको छ । जंगली अवस्थामा पुगेको रानीमहल पूर्ण रुपमा सरसफाई गरी हेर्न लायक भएको हो । रानीमहल दरबारमा तानसेन नगरपालिकाका कर्मचारीबाट दैनिक रुपमा नियमित सरसफाई हुँदै आएको छ । रानीमहलमा पुग्ने महिला, पुरुषहरुका लागि छुट्टै शौचालय, निःशुल्क वाईफाई, युरोगार्डको पिउने पानी, पानीका फोहोरा, फुल बगैचा सहित आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

नगरपालिकाले रानीमहल दरवार भित्र, राणा खड्ग शमशेर, रानी तेजकुमारीको आकर्षक तस्विर सहित फोटो खिच्ने व्यवस्था, त्यति बेला प्रयोगमा ल्याएका सरसमान सहितको संग्रहालय सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेले बताउनुभयो । रानीमहल दरबारमा तानसेन नगरपालिकाले नियमित रुममा ३ जना कर्मचारीहरु खटाउँदै आएको छ । नियमित सरसफाईदेखी, पर्यटकहरुको लागि टिकट व्यवस्थापन, हेरालु तथा मालीको रुपमा नगरपालिकाका कर्मचारीहरु खटिदै आएका छन् । रानीमहलको स्तरउन्नती भएपछी दरबार अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु बढेका छन् । रानीमहलमा पर्यटकको संख्या वृद्धिसँगै होटल, रेष्टुराहरुको संख्या समेत बढेको छ । तानसेनदेखी रानीमहल पुग्दा बाटो–बाटोमा नयाँ -नयाँ होटल रेष्टुराहरु सञ्चालनमा छन् । रानीमहल दरबारलाई अझै सुन्दर आर्कषक बनाउन आगामी वर्षमा रंगरोगन गर्ने, अन्य किसिमका पर्यटकीय पूर्वाधारहरु थप गर्ने तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । रानीमहलसँगै श्रीनगर क्षेत्रलाई पनि व्यस्थित रुपमा आगामी वर्षदेखी सञ्चालन गर्ने तयारीमा जुटेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

रानीमहल नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । रानी तेजकुमारीको निधनबाट विक्षिप्त बनेका खड्गशमशेरले उनकै सम्झनामा रानीमहल निर्माण गर्न लगाएको बताइन्छ । १९५० मा निर्माण सुरु भएको यो दरबार १९५५ पूरा भएको थियो । उत्तरमुखी कालीगंगा बगेको स्थान छानेर रानीमहल निर्माण गरिएको छ । भव्य संरचनायुक्त संसारका कुनै गन्तव्यभन्दा कम छैन रानीमहल । उत्तरमुखी गंगा खुट्टाले कुल्चिँदा पवित्र भइन्छ भन्ने मान्यतासहित सिँढी ओर्लिएर कालीगण्डकीसम्म पुग्ने गरी दरबार बनाइएको छ । नेपालको ताजमहल भनिने रानीमहललाई खड्गशमशेर र तेजकुमारीको अमर प्रेमको प्रतीकका रूपमा लिइन्छ । दरबारको भित्तामा जोडीको नाम लेख्दा प्रेम अमर रहन्छ भन्ने विश्वासले यहाँ पुग्ने जोडी दिगो प्रेमको कामना गर्छन् ।

कालीगण्डकी नदीको उत्तरतर्फ हानिएको मोडमा विशाल चट्टानमाथि रानीमहल निर्माण गरिएको छ । दरबारको बायाँतर्फ शीतलपाटी छ । दरबार परिसरमा ढुंगाबाट निर्मित आकर्षक पोखरी छ । शिव र गंगाका दुई मन्दिर पनि यहाँका आकर्षण हुन् । रानीमहल युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । रानीमहल तानसेनबाट १४ किलोमिटर उत्तरमा पर्छ । दुई घण्टा पैदल हिँडेपछि यहाँ पुग्न सकिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?