लागु औषधमा नफस्न सचेत गराउँदै भोजपुर प्रशासन

हिमालय टाइम्स
Read Time = 3 mins

-निरोज कोइराला

भोजपुर । यातायातको पहुँचसँगै पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार हुने गरेको पाइन थालेपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले बिद्यालय स्तरमा नै बिद्यार्थीहरूलाई त्यस्तो कुलतमा नफस्न सचेत गराएको छ ।

जिल्लाको यातायातका साधनको पहुँचसँगै सवारीका चालक र सहयोगीहरूबाट समेत अवैधरुपमा लागु औषधका सामाग्रीहरू ओसार पसारका घटनाहरू हुन थालेको भोजपुरका प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाको भनाइ छ ।

लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार बिरुद्धको सप्ताब्यापी अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार जिल्ला सदरमुकाममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरूका लागि आयोजना गरिएको अभिमुखीकरणमा बोल्दै प्रजिअ कोइरालाले बिद्यार्थी स्तरमा नै कुलतमा फसिने हुनाले सजग र सचेत रहन बिद्यार्थीहरूलाई आग्रहसमेत गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी राजकुमार राईले सबैभन्दा बढी प्रभावित बिद्यालय तहका बिद्यार्थीहरू नै हुने भएकाले यस तर्फ बिद्यार्थीहरू समेत सचेत हुनु पर्ने बताउनु भयो । जिल्ला भित्रका केही बिद्यालयहरूमा समेत लागु औषध सेवन हुने गरेको पाइएकाले त्यसको नियन्त्रणमा नेपाल प्रहरी सधै लागि परेको बताउनुभयो ।

गैर सरकारी संस्था महासंघसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अभिमुखीकरण कार्यक्रममा जिल्ला भित्रका पाँच बिद्यालयका ६० जना बिद्यार्थीका साथै अन्य सरोकारवालाहरूको सहभागिता रहेको महासंघका सचिव खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अवदेशकुमार यादवले सहभागीहरूलाई लागू औषध, सेवनबाट हुने हानी, बच्ने उपाए, कानुनी प्रावधान लगायतका बिषयमा सहजीकरण गर्नु भएको छ ।

प्रशासनले जिल्लाका अन्य बिद्यालयहरूमा समेत लागू औषधका विषयमा अभिमुखीकरण गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?