दिल्लीबाट आयो ‘भारत गौरव पर्यटक रेल’, पर्यटकले भने- ‘वास्तवमे जनकपुरधाम तारिफ लायक हैं’

हिमालय टाइम्स
Read Time = 5 mins

पुरन साह/हिटा
जनकपुरधाम । करिब ६ सय भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ मधेशको राजधानी जनकपुरधाम आइपुगेको छ । पर्यटनको विकास र हिन्दू धार्मिक सम्पदाको विकास प्रचारप्रसारका लागि बिहीबार भारतको दिल्लीबाट जनकपुरधाम आइपुगेको रेलमा आएका पर्यटकहरू खुसीले गदगद देखिए ।

यो लामो रेल भारतको राजधानी दिल्लीबाट नेपाल मधेशको राजधानी जनकपुरधाम ‘भारत गौरव पर्यटक रेल’ का रूपमा जनकपुरधाम आइपुगेको हो । विभिन्न धर्मका तस्बिर र सद्भाव दर्शाउने तस्बिरहरू अंकित रेलमा करिब ६ सय पर्यटकहरू घाम छेक्न चाहिने छातासहित विभिन्न बन्दोबस्त गरी जनकपुरधाम आइपुगेका छन् । अयोध्या नरेश भगवान् श्रीराम र मिथिलाकी राजकुमारी माता जानकीको जन्मस्थल क्रमशः भारतको अयोध्या र नेपालको जनकपुरधामसहित रामायण सर्किटको पर्यटन विकासका लागि मुख्यतः यो रेल जनकपुरधाम आइपुगेको हो ।

प्राचीन मिथिलाको राजधानी र हाल मधेशको राजधानी जनकपुरधामको आतिथ्यता र सेवा सत्कारले आफूहरूको खुसीको सीमा नरहेको पर्यटकहरू बताउँछन् । पर्यटकहरूले माता जानकीको माइती जनकपुरधाम वास्तवमै सुनेको भन्दा पनि बढी सदभावयुक्त रहेको बताए । रेल जनकपुरधाम पुग्नेबित्तिकै दुवै देशका नागरिकहरूले जय जय सियारामको नारा घन्काउन थालेपछि वातावरण नै रमणीय बनेको थियो । जनकपुरधामको चोक चोकमा जय सियाराम लिखित झण्डा सजाइएको छ ।

पर्यटकहरूले प्रसिद्व श्री जानकी मन्दिर, साँझ हुने महागंगा आरती, शुक्रबार धनुषाधाम सहितका जनकपुरधाम र यसक्षेत्रका सम्पूर्ण धार्मिक सम्पदा र कुटि र कुण्डहरूको दर्शन अवलोकन गर्नेछन् । उनीहरूको स्वागतमा रेल्वे स्टेसन पुग्नुभएका मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत र पर्यटनमन्त्री सत्रुधन महतोले यो यात्राबाट प्रचारप्रसार र रामायणकालीन स्थलहरूको पर्यटक विकासका लागि सम्भाव्यता खोज्ने थए एक कदम रहेको बताउनुभयो ।

जनकपुरधामका मेयर मनोजकुमार साह र श्री जानकी मन्दिरका सहायक महन्त राम रोशन दासले जनकपुरधाम र अयोध्याधामलाई भगिनी धार्मिक शहरको रूपमा विकास गर्न यस यात्राले थप बल पुग्ने बताउनुभयो । वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत निनेश कुमारले यात्रा रामायणबाट रामायण सर्किटको विकासका अनेकन सम्भावयता र अगामी प्रयासहरूको बाटो खोल्ने र दुई देशबीच त्यसका लागि छलफलको वातावरणसमेत बनाउने बताउनुभयो ।

जनकपुरधाम आएका पर्यटकहरू तत्कालीन मिथिलाको राजधानी जनकपुरधामदेखि माता जानकी उत्पत्ति भएको स्थल भारतको सितामढीसम्म बसबाट यात्रा गर्नेछन् । रेल भने बिना पर्यटक बिहीबार नैै जनकपुरधामबाट सीतामढी गएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको रेल र पर्यटकहरूको स्वागतका लागि जनकपुरधामका उद्योगी, पर्यटन व्यवसायीहरू समेत एकजुट भएर सक्रिय छन् । भारतीय राजदूतावासका अनुसार यो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोसाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला र धार्मिक सदभाव र भाइचारा दर्शिने जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को चित्रित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?