सिबिफिनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Read Time = 4 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले वित्तीय क्षेत्र तथा अर्थतन्त्रका समस्या समाधानका लागि तत्काल सम्बोधन गर्नुपर्ने विषयबारे सरकारलाई सुझाव दिएको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सिबिफिन प्रतिनिधिमण्डलले उक्त सुझाव दिएको हो ।

सिबिफिनका अध्यक्ष पवन गोल्यान नेतृत्वको प्रतिनिधिमण्डले सशर्तरूपमा सिडी रेसियो ९० बाट ९५ बनाउनुपर्ने वा पुरानै सिसिडी रेसियो कायम गर्नुपर्ने, व्यापारघाटा न्यूनीकरण गर्न आयातमा नगद मार्जिनको पूर्ववत् व्यवस्था लागू गर्नुपर्ने, बैंकमार्फत् आउने रेमिट्यान्स निक्षेप राखे दुई प्रतिशत थपेर व्याज दिने व्यवस्था गर्नुपर्ने, स्थानीय तहको शतप्रतिशत रकम निक्षेपमा गणना गर्न पाउनुपर्ने, बैंकका सहायक कम्पनीलाई नभएर सिधै बैंकलाई नै सेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी संस्थागत लगानीकर्ताको सेयर सर्वसाधारणकै झैं किनबेच गर्न पाउनुपर्ने, उत्पादनमूलक क्षेत्रमा धेरै लगानी गर्ने बैंकलाई प्रोत्साहन दिनुपर्ने सुझाव दिएको छ । गोल्यानका अनुसार हाल विदेशबाट सय रुपैयाँ रेमिट्यान्स भित्र्याउन एक सय चार रुपैयाँ खर्च भइरहेको छ, एक प्रतिशतले कर्जा विस्तार हुँदा मुद्रास्फीति ०.५ प्रतिशतले बढेको छ । बैंकबाट प्रवाह हुने कर्जा र रेमिट्यान्सको रकम आयात गर्न खपत भइरहेको छ । उल्लेखित विषय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सम्बोधन गरे अर्थतन्त्र जोगाउन सकिने सिबिफिनको दाबी छ ।

सुझाव ग्रहण गर्दै प्रधानमन्त्री देउवाले सुझाव र प्रतिवेदनले आंैल्याएका कृषि क्षेत्रको सुधार, व्यापारघाटा न्यूनीकरण तथा आयात प्रतिस्थापनका उपाय र निर्यातजन्य वस्तु, लगानीका लागि पुँजी निर्माण तथा परिचालनजस्ता विषयमा चासो व्यक्त गर्नुभएको छ । उहाँले वर्तमान अवस्थामा देखिएका समग्र चुनौती सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने आश्वासन दिनुभएको सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो ।

सो अवसरमा राज्यमन्त्री उमेश श्रेष्ठ, सिबिफिनका उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, सचिव कुशकुमार मल्ली, सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको सिबिफिनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?