लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुरधाम । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि-२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि-२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो ।

गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लाबाट पत्रपत्रिका, टेलिभिजन, रेडियो/एफएम र अनलाइन सञ्चारमाध्यमलाई मधेस प्रदेश सरकारको लोकहितका विज्ञापन एवं सूचना लोककल्याणकारी विज्ञापनको रूपमा वितरण गर्न लागेको छ ।

यसका लागि सञ्चारमाध्यमलाई सूचीकृत गराउन आवेदन आह्वान गरेको र आवेदन आएलगत्तै तीन-चार दिनभित्रै सञ्चारमाध्यमलाई लोकल्याणकारी विज्ञापन उपलब्ध गराइने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

केही महिनाअघिदेखि नै लोककल्याणकारी विज्ञापन वितरणको तयारी गरिए पनि मन्त्रिपरिषद्द्धारा कार्यविधि स्वीकृत हुन ढिलाइ भएको र कर्मचारी अभावलगायतका कारणले केही समय ढिलाइ भएको उहाँले बताउनुभयो ।

लोकल्याणकारी विज्ञापनको सबै तयारी भइसकेको र केही दिनभित्रै सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइने उहाँको भनाइ छ । त्यस्ता विज्ञापन एवं सूचना सञ्चारमाध्यमले प्रकाशन-प्रसारण गरेवापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिएबमोजिम भुक्तानी उपलब्ध गराइने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

यसैगरी पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत भएपछि प्रदेशका जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरू बीमा कार्यक्रमबाट लाभ लिने बाटो खुलेको छ । बीमामा सहभागी पत्रकारले वर्षमा एकपटक रु एक लाखसम्मको औषधोपचार खर्च पाउने र रु सात लाखसम्मको दुर्घटना बीमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?