नागरिकता विधेयक संसद्बाट फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । ‘संसद्मा विचाराधीन नागरिकता विधेयक बुधबार नै फिर्ता लिने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘लगत्तै बाबु र आमाको नागरिकता भएकाहरूलाई तत्काल नागरिकता दिनेगरी नयाँ विधेयक संसद्मा जानेछ ।’

उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । यो विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो । उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा सात वर्षपछि दिने भन्ने विषयमा विवाद छ । संसद्मा पेश भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो । विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झण्डै दुई वर्ष दफाबार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको थियो । प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निर्णय लिएको हो । पछिल्लो समय विधेयक पारित गर्ने कोसिस भए पनि सत्ता गठबन्धनभित्रै वैवाहिक अंगीकृत नागरिकता पाउने अवधिबारे मतभेद भएपछि सरकारले विधेयक नै फिर्ता लिएको हो । नागरिकता विधेयक पारित नहुँदा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको राष्ट्रसंघमा जाने भ्रमण स्वीकृत गरेको छ । गृहमन्त्रीको सिफारिसमा विभिन्न व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विषयमा भने कुनै छलफल नभएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?