‘किसान सबल भएमात्रै अर्थतन्त्र पनि सबल बन्न सक्छ’

Read Time = 5 mins

काठमाडौं । कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्र सुधार, भोकमरी अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो । किसानलाई उत्पादनसँगै उत्पादित वस्तु संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने उहाँँको भनाइ छ ।

ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानलाई सँगसँगै अघि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले साना किसानलाई उद्यमसँग जोड्नुपर्ने बताउनुभयो । सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उक्त कार्यक्रमका लाभग्राही साना किसान नै रहेको उहाँले दाबीसमेत गर्नुभयो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले नेपालका दूरदराजका गरिब किसानको जीवन रूपान्तरणमा विगत २१ वर्षदेखि निरन्तर काम गर्दै आएको बताउनुभयो । ग्रामीण क्षेत्रमा साना किसानले भोगिरहेका आर्थिक समस्या समाधान गर्ने एकमात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको उहाँको दाबी थियो । अध्यक्ष पाठकले संस्था राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाति, महिलालगायतलाई सुसूचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मूलधारमा ल्याउन सफल भएको दाबी गर्नुभयो । लघुवित्तका सञ्चालक प्रताप सुवेदीले गरिबी निवारणमा साना किसान लघुवित्त वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले आर्थिक क्षेत्रमा किसानको पहुँच बढाउँदै आम्दानीको स्रोत बढाउन किसानलाई सहयोग गर्ने एकमात्र संस्था साना किसान लघुवित्त वित्तीय संस्था नै रहेको दाबी गर्नुभयो । नेपालका पाँच सय ४० स्थानीय तहमा पहुँच विस्तार गरेको उक्त लघु वित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको पनि उहाँले जानकारी गराउनुभयो । लघुवित्तको २१औँ स्थापना दिवसका अवसरमा साना किसान विकास अभियानमा सहयोग पु¥याउने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दीका मानबहादुर खड्कालाई सम्मान गरेको थियो ।

त्यसैगरी राष्ट्रियस्तरमा सर्वोत्कृष्ट संस्थाका रूपमा साना किसान कृषि सहकारी संस्था रघुनाथपुर धनुषालाई पुरस्कृत गरिएको छ भने इलाका कार्यालय बनेपाअन्तर्गत उत्कृष्ट संस्थाका रूपमा सिन्धुपाल्चोकको जरायटार साना किसान कृषि सहकारी पनि पुरस्कृत भएको छ । सर्वोत्कृष्ट इलाका कार्यालयका रूपमा नेपालगञ्ज कार्यालयलाई पुरस्कृत गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?