भेरी अस्पतालमा बेथितिको पराकाष्ठा, आधा दर्जन कर्मचारीको अग्रिम हाजिरी, सयौँ अनुपस्थित

हिमालय टाइम्स
Read Time = 3 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा हुने गरेको बेथितिको पराकाष्ठाको खुलासा भएको छ । त्यहाँ कार्यरत चिकित्सकसहित कर्मचारीहरू कसैले अग्रिम हाजिरी गरेको र सयौँ कर्मचारी अनुपस्थित रहेको पाइएको हो । सुरुमा असार २० गते अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले अग्रिम हाजिरी गरेको खुलासा भएको थियो । उहाँले असार २९ गतेसम्म अग्रिम हाजिरी गर्नुभएको थियो ।

उहाँको कर्तुतको पर्दाफास भएपछि डा. नागलाई अस्पताल विकास समितिले कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस पठाएको छ । अस्पतालमा बेथिति भएको थाहा भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले गरेको छड्के अनुगमनको क्रममा पनि थप बेथितिको पर्दाफास भएको छ ।

भेरी अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकहरू समयमै कार्यालयमा नआउने गरेको पुष्टि भएको छ । हाल भेरी अस्पतालमा ३७८ जना कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सक कार्यरत छन् । तर, बिहीबार बिहान १०ः१५ बजेसम्म ८८ जना कर्मचारी मात्र समयमै हाजिर भएको पाइएको हो । २९० जना कर्मचारी भने अनुपस्थित देखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले बताउनुभयो ।

छानबिनका लागि अनुगमन टोलीले भेरी अस्पतालका १४ वटा हाजिरी रजिष्टर नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । उक्त हाजिरी रजिष्टरमा सात जनाले असार मसान्तसम्मको अग्रिम हाजिर गरेको देखिएको छ । केही कर्मचारीले १०/१५ दिनदेखि एक महिनासम्म हाजिर नगरेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । ‘हाजिरीमा बिदा वा काज केही खुलाइएको छैन,’ उहाँले भन्नुभयो । ‘बिदा वा काजमा भएको भए हाजिरी रजिष्टरमा खुल्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?