६ दशक स्वास्थोपचारको क्षेत्रमा समर्पित कम्पाउण्डर बाको सालिक अनावरण

Read Time = 5 mins

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाँउपालिका-२ चिलाउनेबास थुम गाँउमा वि.स. १९८५ साल असार २४ गते जन्मेर आँधीखोला गाँउपालिका वडा नं. ५ सेतीदोभानमा छ दशकसम्म नागरिकहरूको औषधोपचार कार्यमा संलग्न गंगाप्रसाद शर्माको शुक्रबार एक कार्यक्रमका बीचमा उहाँकै निवासस्थानमा सालिक अनावरण गरिएको छ ।

उक्त सालिक अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार डा.महेश्वर शर्माले उपचारको सर्वसुलभता नभईसकेका बेलामा आफूहरूले क्लिनिक खोलेर सेवा गरेको बताउनुभयो । उहाँले आफूले सुरु गरेको क्लिनिक गंगाप्रसादलाई छोडेर आफू निजामती सेवामा लागेको बताउँदै गंगाप्रसादले जीवनभर त्यही क्षेत्रमा आफूलाई समर्पित गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व कृषि मन्त्री त्रिलोचन शर्मा ढकालले गंगाप्रसादले यस क्षेत्रका धेरै मानिसहरूको उपचार गरेर ज्यान बचाएका हुनाले उहाँलाई समाजले स्मरण गरिरहने बताउनुभयो । उहाँले असल सन्तानले आफ्नो क्षमता अनुसार बाबुआमाको स्मरणमा सामाजिक काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्राडा.यमबहादुर पौडेलले गंगाप्रसादले पुण्य कार्य गरेर मानिसलाई असल बाटो देखाएको बताउनुभयो । उहाँले गंगाप्रसादकै बाटोमा उहाँका सन्तानहरू पनि लाग्नु सुखद् भएको भन्दै छोराहरूले असल सन्ततिको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै भागीरथी गंगा ट्रस्टका अध्यक्ष त्रिभुवन शर्माले आधुनिक उपचारको नाम थाहा नभएका बेलामा गंगाप्रसादले सेतीदोभान क्षेत्रमा आधुनिक औषधोपचार सुरु गर्नुभएको भन्दै उहाँले पैसा नभएका बिरामीलाई पनि निशुल्क उपचारसमेत गरेर पठाउने गरेको बताउनुभयो । उहाँमा बिरामीलाई कसरी निको बनाएर पठाउने भन्ने मात्र चिन्ता हुने गरेको बताउनुभयो ।

ट्रस्टका अध्यक्ष त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत कोषका संरक्षक जयराम पौडेलले र कार्यक्रम सञ्चालन कोषका सचिव युवराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा शिक्षाविद् ई.ओम शर्मा, पूर्व प्रअ कुलानन्द शर्मा, शिक्षाविद् टिकाराम ढकाल, पुण्य प्रसाद तिमिल्सिना, भरतराज शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गंगाप्रसादको योगदानलाई चिरकालसम्म जिवन्त राख्ने उद्देश्यले उहाँकी धर्मपत्नी भागीरथीदेवी समेतको नाममा छोराहरूले भागीरथी गंगा कोषको स्थापना गरेको घोषणा गरेका थिए । शर्माको ९५ औं जन्मदिनका अवसरमा सो भागीरथी गंगा कोषको स्थापना गरिएको हो ।

विपन्न वर्गलाई औषधी उपचारमा सहयोग गर्ने, विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तथा कल्याणकारी क्रियाकलाप संचालन गरी सामाजिक न्याय स्थापनामा सहयोग पुर्याउने उद्देश्यका साथ यस कोषको स्थापना गरिएको गंगाप्रसादका छोरा जयराम पौडेलले बताउनुभयो ।

भागीरथी गंगा कोषका संरक्षकमा छोराहरू भरतराज शर्मा, महेन्द्र शर्मा र जयराम पौडेल रहनुभएको छ । त्यस्तै कोषका संस्थापक अध्यक्षमा आँधीखोला-५ सेतीदोभानका पूर्व प्रधानाध्यापक तथा बुद्धिजीवी त्रिभुवन शर्मा, उपाध्यक्षमा आँधीखोला-६ का वडाध्यक्ष नवीन ढकाल र सचिवमा आँधीखोला-५ सेतीदोभानका लेखक तथा पत्रकार युवराज पौडेल रहनुभएको छ । त्यस्तै कोषाध्यक्षमा सञ्जिवनी बहुउद्देश्यीय सहकारीका प्रबन्धक ध्रुव लामिछाने तथा सदस्यहरूमा अप्सरा पोखरेल, श्वेता शर्मा र अनिल ढकाल रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?