युवाहरुलाई विकृति र विसंगतिको अन्त्यका लागि अभियान संचालन गर्न सभामुख सापकोटाको आग्रह

Read Time = 4 mins

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै संचालन गर्न युवाहरुलाई आग्रह गर्नु भएको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियाननै संचालन गर्न युवाहरुलाई अनुरोध गर्नु भएको हो ।

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

सभामुख सापकोटाले युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराउनु भयो । हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उहाँले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढन जरुरी रहेको समेत बताउनु भयो ।

सभामुख सापकोटाले भन्नु भयो, ‘लैगिक असमानताका विरुद्धमा तपाईँले हाम्रै देशको स्थानीय तहलाई राम्रोसँग अध्ययन गर्नु भयो भने पनि देखिन्छ । मैले भन्नु पर्दैन । काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रको चुनावहरुले के देखाएको छ त भन्दाखेरी विद्यमान परिस्थितिबाट तपाई, हामी र सबै जनताहरु सन्तुष्ट छैनन् । यो सन्तुष्ट छैनन् भन्ने कुरा बडो भद्र, शालिन र चुनावको माध्यमबाट जनताले अभिव्यक्त गरेका छन । यो कुरा नेपालका राजनीतिक पार्टीहरुले, नेपालको राजनीतिक नेतृत्वमा बसेकाहरुले, हामी सबैले बुझ्न सकेनौं, मैले आफैंलाई पनि भन्दैछु ।’
आफू तीन अंग मध्ये एउटा अंगको नेतृत्वममा रहेको बताउँदै उहाँले त्यो संकेत बुझेनौ भने फेरि अर्को पहलकदमी अगाडि आउने स्थिति रहेको उहाँले बताउनु भयो ।

सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले शिरो ठाडो पारेर बाँच्नका लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?