लघुवित्तले महिला उद्यमीको बिचल्ली

हिमालय टाइम्स
Read Time = 6 mins

नेपालगञ्ज । बाँकेका उद्यमी महिलाहरू लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् । लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरू विभिन्न संस्थाहरूमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन् । एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दल–दलमा फस्दै गएका छन् ।

ऋण तिर्न समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरूको आरोप छ । अध्ययनअनुसार नेपालमा करिब २२ लाख मानिसहरूले कर्जा लिएका छन् । २२ लाखमध्ये ७५ प्रतिशत मानिसहरूले कर्जा समयमा तिर्न सकेका छैनन् । सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएका लघुवित्तहरूबाट नै आमनागरिकले अहिले दुःख पाइरहेको लघुवित्तमा आबद्ध महिलाहरूको गुनासो छ ।

सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महँगो व्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाकी मिना बुढा क्षेत्रीले बताउनुभयो । सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने व्याज लिने गरेको उहाँको भनाइ छ । पहिला लघुवित्तहरूले सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकस्मिक समस्या आइपरे पनि समस्या नबुझिदिने उहाँले गुनासो गर्नुभयो ।

ऋण लिएर हदैसम्मको ज्यादतिका कारण बस्नसमेत गाह्रो भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा बसोबास गर्ने मनिषा तामाङले बताउनुभयो । केही समय ढिलो भयो भने घरबाट निकाल्न खोज्ने, किड्नी बेच, मरे हुन्छ बिमा छ किन बाँच्ने जस्ता धम्की दिने गरेको उहाँले बताउनुभयो । घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरू केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्काउने गरेकाले वित्तिय संस्था खारेज गर्नुपर्ने उहाँको धारणा छ । बिरामी हुँदासमेत समस्या नबुझ्ने गरेकाले मनमा अनेक कुराहरू खेल्ने गरेको तामाङले बताउनुभयो ।

पीडित धना सुनारले लघुवित्तले गर्दा घरपरिवारको सम्बन्ध नै बिग्रिएको बताउनुभयो ।  लघुवित्तको दबाबले दिनरात सताउने गरेको उहाँले दुखेसो पोख्नुभयो । घरमा ऋण माग्न आउनेबित्तिकै भैंसी लैजान्छौँ, कहिले घरमा ताल्चा लगाउने जस्तो धम्की दिइरहेकाले मनमा अनेक सोच पैदा भइरहेको बताउनुभयो । उहाँले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भए पनि लघुवित्तहरूले दिनदिनै दबाब दिँदा समस्या उत्पन्न भएको बताउनुभयो ।

त्यस्तै पीडित दरमरिम भुइहारले लघुवित्तहरूले ऋण दिने बेला आर्थिक स्थिति र अवस्थासमेत नहेरी दिने गरेको र घरमा आकस्मिक समस्या आएर ऋण तिर्न केही समय लाग्यो भन्दैमा दिनदिनै दबाब दिनु उचित नभएको बताउनुभयो । उहाँले लघुवित्तका कर्मचारीले समस्या नबुझी अभद्र व्यवहार गर्ने गरेको बताउनुभयो । घरको अवस्था सुधार गर्न र कर्जाको किस्ता तिर्नका लागि होटलमा भाडा धुने काम गरिरहे पनि किस्ताको व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो ।

त्यस्तै पीडित महिला उद्यमी सीता शाहीको समस्या पनि अरूको भन्दा फरक छैन । घर खर्च चलाउन र व्यवसाय गर्नका लागि लिएर श्रीमानलाई वैदेशिक रोजगारका लागि पठाए पनि कतैबाट राम्रो आम्दानी नभएपछि लघुवित्तले समस्या दिन थालेको बताउनुभयो । साथै कोरोना भाइरसको कारणले मुलुक लकडाउन भएपछि झनै ऋणमा फसेको उहाँले बताउनुभयो ।

बचौं बचाऔँ र अघि बढौँ भन्ने मूल नाराका साथ लघुवित्तीय संस्थाहरूको विरुद्ध देशव्यापीरूपमा संघर्ष गरिने समितिका उपाध्यक्ष फत्तेबहादुर पुन मगरले बताउनुभयो । नेपालमा करिब ५८ लाख नागरिकमा ऋण प्रवाह गरेका र २२ लाख ऋण तिर्न नसक्ने अवस्थामा रहेको लघुवित्तीय संस्थाहरूका विरुद्ध संघर्ष समितिका उपाध्यक्ष मगरले बताउनुभयो । लघुवित्तका ऋणले गर्दा घरवारविहीन बनाएको र लघुवित्तीय संस्थाबाट धेरै पीडा सहनु परिरहेको मगरले बताउनुभयो ।

लघुवित्तीय संस्थाविरुद्ध लघुवित्तपीडित महिलाहरूले सरकारसँग लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, आमगरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न उनीहरूले सरकारसँग माग राखेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?