चरमोत्कर्षमा जसपा विवाद, औपचारिक फुटको संघारमा पार्टी, यादव र डा. भट्टराईले थाले फरक पार्टी अभ्यास

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । विवादले पार्टी औपचारिक विभाजनको संघारमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीचको विवाद उत्कर्षमा पुगेसँगै जसपा फुटनजिक पुगेको हो । यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक असार २९ र ३० गते पर्साको वीरगञ्जमा बोलाउनुभएको छ । अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएलगत्तै संघीय परिषद् अध्यक्ष डा. भट्टराईले पनि असार २८ र २९ गतेमै काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाउनुभएको छ ।

डा. भट्टराई पक्षले काठमाडौंमा बस्ने बैठकका एजेण्डासमेत तय गरेको छ । बैठकमा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । बैठकका एजेण्डाबारे जानकारी दिँदै भट्टराई पक्षका नेता विश्वदीप पाण्डेले भन्नुभयो, ‘छलफल हुने विभिन्न एजेण्डाहरू तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ । जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरूमा पार्टीको आन्तरिक अवस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजना लगायतका विषयमा छलफल र विविध रहेका छन् ।’

भट्टराई पक्षले बैठक बोलाएपछि यादव समूह थप आक्रोशित बनेको छ । आन्तरिक विवादका कारण पार्टी विभाजन नजिक पुगिरहँदा यादव पक्षले भट्टराईले डाकेको बैठकलाई अवैधानिक भनेको छ । गत असार १३ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असार २९ र ३० गते वीरगञ्जमा बस्ने बैठक यथावत रहेको यादव पक्षले जनाएको छ । तर, काठमाडौंमा पार्टीको नाममा भेला बोलाएको भन्दै अध्यक्ष यादव पक्षले त्यसलाई अवैधानिकसमेत भनेको छ । यादव पक्षका नेता एवं जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले गैरजिम्मेवार व्यक्तिले विधानविपरीत बैठक बोलाएको आरोप लगाउनुभएको छ । भट्टराई पक्षले बैठक बोलाएपछि यादव पक्षले अनधिकृत व्यक्तिले बोलाएको बैठकमा नजान आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको छ । तर, त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ ।’
भट्टराई पक्षले काठमाडौंमा असार २८ र २९ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाउँदा अध्यक्ष यादवले भने वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । यसअघि नै अध्यक्ष यादव र डा. भट्टराईबीच अघिल्लो हप्ता एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलग–अलग बाटो लाग्ने सहमति भएको थियो । जसपाका दुवै बैठकमा समसामयिक विषयमा छलफल हुने बताए पनि यादव पक्ष सकेसम्म नेता तथा कार्यकर्तालाई रोक्ने र भट्टराई पक्ष पनि नेता÷कार्यकर्ता आफूसँग ल्याउने कसरत गरिरहेका छन् ।

यस्तो छ विवादको शृंखला
पार्टी अध्यक्ष महन्थ ठाकुर २० प्रतिशत सांसदसहित गत साउन ३ गते बाहिरिएपछि सुरु भएको जसपाको विवाद अहिले फुटको संघारमा पुगेको छ । महन्थ ठाकुरको स्थानमा को रहने भन्ने विषयले पार्टीभित्र विवादको विजारोपण भएको थियो । विवाद समाधान गर्न केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहेको तीन सदस्यीय हेडक्वार्टर बनाएर विवाद अन्त्य हुनुको सट्टा भित्रभित्रै भुसको आगोजस्तै फैलिँदै गयो । जुन अहिले विभाजनको अवस्थामा पुगेको छ । विवादको मुख्य जड केन्द्रीय अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. भट्टराई बीचको टकरावलाई लिइएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि थप चर्किएको थियो । विवाद उत्कर्षमा पुगिरहेकै बेला अध्यक्ष यादवले गत हप्ता डा. भट्टराईसँग सल्लाह नै नगरी पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउनुभयो । यो घटनाले पार्टी विभाजनको स्पष्ट दरार देखापर्‍यो ।

जसपामा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीचको शक्ति संघर्ष विवादको मुख्य कारण भएको नेताहरू बताउँछन् । अहिले जसपाका तीन शीर्ष नेताहरू एक-अर्काको कार्यप्रति सन्तुष्ट छैनन् । असन्तुष्ट हुनुको ठोस कारण नभए पनि यादव र भट्टराईको पार्टीमा हावी हुने आकांक्षा नै विवादको जड हो । भट्टराई समूहले पार्टीलाई विधिअनुसार चलाउनुपर्ने सुरुदेखि मुख्य माग राख्दै आएको थियो । अध्यक्ष यादवले पार्टी कमिटी र शीर्ष नेतालाई समेत थाहा नदिई एकतर्फी रूपमा निर्णय लिने गरेको आरोप भट्टराई पक्षले लगाउँदै आएको छ । जसपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । अहिले उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पार्टी अध्यक्ष हुनुहुन्छ । तर, दुई अध्यक्ष भए पनि पार्टीलाई यादवले मात्र चलाएको आरोप भट्टराई पक्षले लगाउँदै आएको छ । यादव पक्ष भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।

२०७६ वैशाख २२ गते डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र यादव नेतृत्वको संघीय समाजवादीबीच एकता भएर समाजवादी पार्टी बनेको थियो । २०७७ वैशाख १० गते मधेश केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग एकता भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो । तर, एकताको तीन वर्ष नपुग्दै महन्थ ठाकुर नेतृत्वमा गत साउनमा एक समूह बाहिरियो भने अहिले पनि जसपा औपचारिक फुटको सम्मुखमा पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?