अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश मैनाली

सर्लाही । सर्लाहीसहित तराई क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनिरहेको छ ।

बिहान सबेरैदेखि साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी कम हुन सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ अत्यधिक गर्मी हुने गरेको छ । चर्को घाम र अत्यधिक गर्मीका कारण मानिसहरूलाई मध्याहृनको समयमा घरबाहिर निस्कनै मुस्किल पर्ने गरेको छ ।

गर्मी छल्न ग्रामीण भेगका मानिसहरू चौतारी र रुखको छहारीहरूमा बस्ने गरेका छन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।

एक सातादेखि तराई क्षेत्रको अधिकतम् तापक्रम मध्याहृनपख ३५÷३६ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ । पानी नपरेर अत्यधिक गर्मी हुँदा गर्मीजन्य संक्रमणका बिरामीहरू पनि बढिरहेका छन् ।

चिकित्सकहरूले यो समयमा पर्याप्त पानी पिउन र ताजा तथा स्वच्छ खानेकुरामात्रै खान सुझाव दिएका छन् । यस्तै, अहिले झरी पर्नुपर्ने समयमा दिनभर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ ।

असार अन्तिम भइसक्दासमेत यो वर्ष सर्लाहीसहित मधेश प्रदेशका अन्य जिल्लाहरूमा पर्याप्त वर्षा हुन सकेको छैन । खेतमा जम्ने गरी पानी नपर्दा धान रोपाइँ प्रभावित भएको हो । एक साताअघि दुई दिन सामान्य झरी परे पनि त्यसपछि रोपाइँ गर्न हुने गरी पानी परेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?