दीनानाथ उपाध्याय : एक सफल कूटनीतिज्ञ

Read Time = 19 mins

✍️ प्रा.डा.तीर्थप्रसाद मिश्र

नेपालको कूटनीतिक इतिहास विचरण गर्दा धेरै यस्ता पात्रहरू पनि भेटिन्छन् जसले व्यक्तिगत स्वार्थलाई त्यागी राष्ट्रिय स्वार्थलाई सर्वाधिक प्राथमिकता दिए । साथै मुलुकको दीर्घकालीन हितमा उल्लेख्य योगदान गरेका थिए । यस्तै एकजना ऐतिहासिक पात्रको नाम हो, सुब्बा दीनानाथ उपाध्याय । उनको सुझबुझ, अभिव्यक्ति कौशल, क्षमता र कूटनीतिले गर्दा नै पृथ्वीनारायण शाहको अंग्रेजप्रतिको पूर्वदृष्टिकोणमा परिवर्तन हुनुको साथै अंग्रेजको इस्ट इन्डिया कम्पनी सरकारसँग बिग्रेको सम्बन्धमा सुधार आएको थियो ।

यसका अतिरिक्त तराईको विवादित क्षेत्र पनि नेपालको प्रभुत्वमा आएको थियो । नुनको सोझो गर्नुपर्छ भन्ने मान्यता राख्ने सुब्बा दीनानाथ उपाध्याय मुलुकको स्वार्थरक्षाका लागि जस्तोसुकै विषम परिस्थितिमा पनि कर्म गर्न अग्रसर रहन्थे । यिनै सुब्बासाहेबका विषयमा चर्चा गर्नु नै यस आलेखको उद्देश्य रहेको छ ।

दीनानाथ उपाध्याय मकवानपुरका सेन राजाका भारदार (सुब्बा) थिए । उनका पुर्खा सेन राजाहरूकै साथ लागेर मकवानपुर आएको हुनसक्ने अनुमान गर्न सकिन्छ । पृथ्वीनारायण शाहले मकवानपुर विजय गरेपश्चात् दीनानाथ उपाध्यायलाई पूर्ववत् दर्जा दिएर महत्वपूर्ण दायित्व सुम्पेका थिए । विजित प्रदेशका भए पनि योग्य व्यक्तिलाई कदर गर्ने पृथ्वीनारायण शाहको नीतिकै कारण उनको विजय अभियानले सफलता पाएको थियो । गोरखाले मकवानपुर विजय गरेपश्चात् मकवानपुरको सेन राज्यका क्षेत्र स्वतः गोरखाको अधीनस्थ भयो ।

यसअन्तर्गत हालका रौतहट बारा पर्साका तराईका भूभाग पनि समाविष्ट थिए । पृथ्वीनारायण शाहका विरुद्ध जयप्रकाश मल्ललाई सहयोग गर्न आएको किनलकको नेतृत्वको फौजले सिन्धुलीमा नराम्रो पराजय भोगी त्यहाँबाट लखेट्नु परेको थियो । यिनै किनलक तराईका केही क्षेत्रमाथि कब्जा गरी हैकम जमाएर बस्न थाले । यो कुरा स्वाधीनताप्रेमी पृथ्वीनारायण शाहलाई पाच्य हुने कुरै थिएन । तर, गोर्खा–काठमाडौं संघर्षका कारण पृथ्वीनारायण शाहले चाहेर पनि उक्त समस्यातर्फ ध्यान दिन सकेनन् । काठमाडौं उपत्यका दखल गरेपछि उक्त तलहट्टीको मुद्दा सल्टाउन उनले सुब्बा दीनानाथलाई नै सम्झिए । सेना परिचालन गरी समस्या समाधान गर्नुभन्दा शान्तिपूर्ण ढंगबाट कूटनीतिक तबरले अंग्रेज सरकारसमक्ष प्रस्तुत हुने नीति उनको थियो ।

यस प्रसंगबाट पृथ्वीनारायण शाह घोर अंग्रेजविरोधी भने थिएनन् भन्ने तथ्य पुष्टि हुन्छ । अतः उनलाई अंग्रेजविरोधी भनेर आवश्यकताभन्दा बढी प्रचारप्रसार गरिएको देखिन्छ । जुन अद्यापि छँदै छ । गोर्खा र कम्पनी सरकारबीच समन्वय हुन नदिने हेतुले तत्कालीन समयमा केहीले तथ्यलाई तोडफोड गरिदिएकाले पृथ्वीनारायण अंग्रेजविरोधी देखिएका हुन् । वास्तवमा उनी अंग्रेजसँग नजिक पनि नहुने र टाढा पनि नरहने विचारका पक्षपाती थिए । यद्यपि यो बहसकै विषय होला । अहिलेलाई भने मूल सन्दर्भतिरै लागौँ ।

मकवानपुरका सेन राजाहरूले मुगल बादसाह औरंगजेब (सन् १६५८-१७०७) कै पालादेखि प्रतिवर्ष १४ हातको एक हात्ती र सामान्य रकम (वार्षिक ३००० देखि ५०००) बुझाउने व्यवस्था गरी तलहट्टीको उपभोग गरेका थिए । औरंगजेबको अवसानपछि मुर्सिदावादका नबाबलाई सोहीअनुसार बुझाउँदै आएका थिए । यसै आधारमा उक्त क्षेत्रमा आफ्नो हैसियत जमाउने र किनलकलाई त्यस क्षेत्रबाट भगाउने विचार पृथ्वीनारायण शाहले गरे । उक्त कार्य प्रयोजनका लागि उनले सुब्बा दीनानाथ उपाध्यायलाई आफ्ना दूत (वकिल) बनाई कम्पनी सरकारसँग वार्ता गर्न खटाए । यिनै दीनानाथ उपाध्यायका विषयमा इतिहास शिरोमणि बाबुराम आचार्यले निम्नलिखित टिप्पणी गरेका छन् :

मकवानपुर मालका सुब्बा दीनानाथ उपाध्याय (दाहाल) चतुर र देशभक्त पुरुष थिए । यिनका पितापुर्खासमेत मकवानपुरका राजाको पालादेखि मालपोत विभागमा काम गर्दै आएका ‘‘.. मकवानपुरमा गोर्खालीको अधिकार भएपछि यिनी पनि गोर्खाली बनेका थिए र मालपोतसम्बन्धी काममा अनुभवी हुँदा श्री ५ पृथ्वीनारायण शाहले पनि उनलाई मकवानपुर मालका सुब्बा गराएका थिए (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, भाग ३ पृष्ठ ५५१) ।

पृथ्वीनारायण शाहले अंग्रेजी इष्ट इण्डिया कम्पनीका गभर्नरलाई मकवानपुरअन्तर्गत रहेका तलहट्टी सो क्षेत्र गोरखाको अधीनमा आएपछि स्वतः आफ्नो क्षेत्र भएको र मकवानपुरे राजाले बुझाएको जस्तो हात्ती बुझाउन आफू तयार रहेको हुँदा ती क्षेत्र निर्वाध रूपमा पाउनुपर्ने माग गरेको आशयको पत्रका साथ दीनानाथ हिन्दुस्तान लागे । सन् १७७१ मा नेपाली वकिल, दरभंगाका कम्पनी सरकारका हाकिम मेजर केलीसमक्ष पुगी आफू आउनाको प्रयोजन बताए । केलीले दीनानाथलाई पटना काउन्सिलका हाकिम समक्ष पठाए ।

त्यहाँ उनले पृथ्वीनारायणको निर्देशनअनुसार तलहट्टीको विषयमा यथार्थ जानकारी गराए । पटना काउन्सिलका हाकिमले आवश्यक श्रेस्ता अभिलेख अध्ययन गरी पूर्वव्यवस्थाअनुसार १४ हातको हात्ती र बक्यौता रकम १५ हजार माग गरे । सोहीअनुसार दीनानाथले मञ्जुर गरी पाँच वर्षको ५ वटा हात्ती बुझाई बक्यौता रकमसमेत बुझाउन कबोल गरे । यस सहमतिपछि किनलक पटना फिर्ता बोलाइए । दीनानाथ कार्य सम्पन्न गरी नेपाल फर्किए । शान्तिपूर्ण तरिकाबाट तलहट्टी विवाद समाधान भएकामा दीनानाथ धन्यवादका पात्र बने ।

तर, मेजर केली बेतियाका अंग्रेजी दूत गोल्डिङ, बिहार मालका हाकिम सिताब रायले गभर्नर समक्ष किनलकद्वारा कब्जा गरिएका क्षेत्र फिर्ता गर्न नहुने सल्लाह दिएका थिए । कम्पनी सरकारलाई गोरखाबाट भविष्यमा खतरा हुन सक्ने भएकाले गोर्खालीलाई तराईमा प्रवेश गर्न रोकी पहाडमा नै सीमित पार्नुपर्ने जस्ता तर्क राखी पटना काउन्सिलको निर्णय बदर गर्न अनुरोध गरे ।

आफू मातहतका कर्मचारीको राय जेजस्तो भए तापनि कम्पनी सरकारका बंगालका गभर्नर जोन कार्टियर (सन् १७६९-१७७२) ले तत्कालीन भूराजनीतिक अवस्थालाई दृष्टिगत गरी नेपालसँग मित्रता कायम गर्न नै श्रेयष्कर ठाने । उनले तौतर प्रगन्नामा परम्परागत रीतिथिति कायम हुनेगरी नेपालको प्रभुत्वलाई मान्यता दिने पटना काउन्सिलको निर्णयलाई सदर गरे । अतः नेपाली वकिलको प्रयास सफल भयो । हात्ती बुझाउने विषय भने पुनः नेपाललाई असहज भयो किनकि १६ हाते हात्ती सहजै उपलब्ध हुन सम्भव थिएन ।

त्यसैले १२ हाते हात्ती बुझाउने व्यवस्था मिलाउन पृथ्वीनारायण शाहले पुनः दीनानाथ उपाध्यायलाई दूत बनाई कलकत्ता पठाए । दीनानाथले अंग्रेजी इष्ट इण्डिया कम्पनीका बंगाल गभर्नर वारेन हास्ट्रिङ्स (सन् १७७२-१७८५) लाई भेटी यथार्थ व्यहोरा जाहेर गराए । उनले कम्पनी सरकारलाई नेपालको प्रस्तावमा मञ्जुर गराए । अतः यस कार्यमा पनि दीनानाथको सुझबुझ, कौशल र क्षमता देखियो ।

पृथ्वीनारायण शाहले पूर्वतर्फको विजय अभियान सञ्चालन गरी चौदण्डी र विजयपुरको सेन राज्य दखल गरेपछि मोरङ र सप्तरी क्षेत्रसँग कम्पनी सरकारको सरहद जोडियो । चौदण्डी र विजयपुरका राजाहरूले केही रकम र हात्ती पूर्णियामा रहेका मुगल हाकिममार्फत बंगालका नबाबलाई बुझाउने गरी आफूले रजाइँ गर्दै आएका थिए । सोहीअनुसार गर्ने कबुल गरी पृथ्वीनारायण शाहले कलकत्ता पठाएका श्रीहर्ष मिश्र र बृहस्पति पण्डितको दूतमण्डलबाट अपेक्षित नतिजा निस्किएन । विजयपुरका श्रीपेच खोसिएका सेन राजालाई अंग्रेजबाट कुनै सहयोग नहोस् भन्ने चाहना पृथ्वीनारायण शाहको थियो ।

विजयपुरमा पूर्वदेवान बुद्धिकर्ण रायको उक्साहटमा कर्ण सेन जस्तोसुकै सम्झौता अंग्रेजसँग गर्न सक्ने सम्भावनाप्रति उनी चनाखो थिए । यस कार्यका लागि पुनः दीनानाथ उपाध्यायलाई दूत बनाई आवश्यक अख्तियारीसमेत दिई कलकत्ता पठाइयो । यसै समयमा कम्पनी सरकारलाई सन्यासी (नागा) तथा लुटेराहरूले खुबै दुःख दिएका थिए । सन्यासीहरू लुटपाट गरी तराईको जंगलतिर पस्थे । यिनीहरूको अराजक गतिविधि रोक्न हेस्टिङ्सले नेपालका नरेश पृथ्वीनारायण शाहसँग अनुरोध गरेका थिए ।

यसमा नेपालले सन्यासीहरू गण्डकी पार गरी बेतिया घुस्ने हुँदा ती स्थानमा पुगी सैनिक कारबाही गर्न अनुमति मागे । तर, होस्टिङले बेतियामा नेपाली फौजलाई प्रवेश दिँदा काँक्रोलाई थाँग्रो हाल्दा थाँग्रो धनी हुनसक्ने आशंका गरी मञ्जुर गरेनन् । यो समस्याले गर्दा पिरोलिएको कम्पनी सरकारले पनि नेपालसँग नजिक हुन चाहेको थियो । यस स्थितिमा दीनानाथ हिन्दुस्थान पुगे ।

नेपाली वकिल उपाध्यायले आफ्नो दायित्व निर्वाह गर्न स्थानीय अंग्रेज अधिकारी पिककसँग सम्बन्ध बढाए । उनै पिककको सहयोग र साथ लिएर दीनानाथ वारेन होस्टिङलाई भेट्न कलकत्ता पुगे । कलकत्तामा नेपालको समस्यालाई लिएर पटकपटक छलफल भयो । यसमा विजयपुर राज्यले उपभोग गर्दै आएको सप्तरी र मोरङको तराई क्षेत्र कम्पनी सरकारले दावा छाड्दा सन्यासी समस्या समाधान हुनुको साथै नेपालसँग सम्बन्ध सुधार हुने निक्र्यौल यस होस्टिङले गरे । त्यहीअनुसार सम्झौता पनि भयो । यो सम्झौता गराउन दीनानाथले भगीरथ प्रयत्न गरेका थिए । अंग्रेजलाई हिन्दुस्थानमै मरहठ्ठासँगको संघर्षबाट सताइरहेको तत्कालीन परिस्थितिलाई विचार गरी उसले नेपालसँग विवादमा मुछिन चाहेको थिएन ।

नेपाली दूतको सत्प्रयासबाट अर्को समस्याको समाधान पनि नेपालकै पक्षमा भयो तर समस्या पुनः बल्झियो । रौतहट प्रगन्ना आफ्नो जागिर भएको दाबी गर्दै मिर्जा अब्दुल्लाहबेगले गभर्नर होस्टिङसमक्ष उजुर गरे । यस विषयमा सोधखोज हुन थाल्यो । पुनः नेपाल सरकारका दूत भई दीनानाथ उपाध्याय कलकत्ता पुगी उक्त मुद्दाको विषयमा वारेन होस्टिङसँग पेसकस गरे । त्यही समयमा वारेन होस्टिङ अन्यत्र जानु परेकाले दीनानाथलाई पटनामा भेट्ने कुरा गरी बाटोखर्च १ हजार रुपैयाँसमेत दिए (केसी र चौधरी, एङ्लो नेपलिज रिलेसन्स पृष्ठ ५४) ।
गभर्नरको निर्देशनमा दीनानाथ पटना पुगे । होस्टिङकी श्रीमती पनि त्यस समयमा श्रीमान्को प्रतीक्षामा पटना पुगेकी थिइन् । उता होस्टिङलाई विजयगढमा चेतसिंहले विद्रोह गरी आच्छु आच्छु बनाएका थिए । उनको ज्यानसमेत खतरामा पुग्ने अवस्था थियो । यस परिस्थितिमा पटनामा रहेकी श्रीमती होस्टिङले दीनानाथ उपाध्यायमार्फत नेपालका राजासमक्ष सैनिक सहयोगका लागि अनुरोध गरिन् । नेपालले दीनानाथ उपाध्यायको परामर्शमा तुरुन्तै धोकल सिंहको नेतृत्वमा एक फौज मकवानपुर पठायो । नेपाली फौज मकवानपुरमै रहेको बेलामा विजयगढमा चेतसिंहको विद्रोह दमन भई स्थिति सामान्य भयो । गभर्नरकी श्रीमतीले दीनानाथलाई धन्यवाद दिई फौज सहयोग आवश्यक नभएको जानकारी गराइन् ।

विजयगढको समस्या समाधान गरी होस्टिङ पटना पुगे । उनको दीनानाथसँग बाँकेपुरमा भेटघाट भयो । नेपालले तुरुन्तै फौज पठाई सद्भाव देखाएकोमा उनले वकिलको प्रशंसा पनि गरे । ठीक त्यसैबेला नेपाल सरकारले विजयगढका राजा चेतसिंहलाई सहयोग गर्न फौज पठाइएको हो भन्ने गलत सूचना होस्टिङलाई सुनाइयो । यसबाट तनावको वातावरण सिर्जना हुन गएको थियो तर दीननाथले वास्विकता बताए साथै श्रीमती होस्टिङले नेपालको सदाशयपूर्ण दृष्टिकोण बयान गरिन् । सूचना गलत भएको ठहर भयो । पटनामा रहँदा धेरै पटक दीनानाथ र होस्टिङबीच भेटघाट भएको थियो ।

यी भेटघाटबाट दीनानाथले गभर्नरलाई प्रभाव पारिसकेका थिए । अब्दुलाबेगको उजुरी र दाबीका विषयमा कागजात हेर्दा गलत ठहराई उक्त क्षेत्रमा नेपालको आधिपत्य रहेको निर्णय भयो । पुनः दीनानाथको प्रयास सफल भयो । दीनानाथकै कौशल र कूटनीतिले गर्दा सीमा विवाद पनि समाप्त भयो । नेपालको मागसमेत पूरा भयो । अंग्रेजप्रतिको पूर्वदृष्टिकोणमा पनि पृथ्वीनारायण शाहमा परिवर्तन आयो । यथार्थमा उक्त जटिल परिस्थितिमा दीनानाथको सशक्त पहल नभएको भए ती क्षेत्र नेपालले गुमाउनु मात्र पर्ने थिएन राजपाट गुमाउने रजौटाहरूले अंग्रेजबाट सहयोग पाई अराजक स्थिति उत्पादन उत्पन्न हुने बलियो सम्भावना पनि थियो ।

पृथ्वीनारायण शाहको योग्यता पारख गर्ने क्षमताकै कारण दीनानाथ उपाध्यायले आफ्नो कूटनीति प्रदर्शन गर्ने अवसर पाए । दीनानाथ उपाध्यायले सरकारले दिएको उत्तरदायित्व इमानदारीपूर्वक निर्वाह गरे । उनी सेन राजाको कारिन्दा भए तापनि पृथ्वीनारायण शाहले उनीमाथि कुनै किसिमको पूर्वाग्रह राखेनन् । यी सबै कुरा विचार गर्दा नेपालको कूटनीतिमा दीनानाथ उपाध्यायको स्थान पहिलो पंक्तिमा राख्नुपर्ने हुन्छ । दीनानाथकै कारण उनका सन्ततिहरू नेपाल दरबारका विश्वासी बन्न पुगेका थिए । अस्तु (श्रद्धेय गुरु हेमन्तशमशेर राणाज्यूबाट यस विषयमा उठान गर्न प्रेरणा पाएकाले गुरुप्रति कृतज्ञ छु) ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
devi bhakta Dhakal
devi bhakta Dhakal
2022-07-12 7:14 am

इतिहासका उत्तम तर चर्चामा नआएका पात्रहरुलाई पाठक समक्ष ल्याउने र इतिहास बारे जानकारी दिने शृङ्खला अत्यन्तै उपयोगी छ।यसको निरन्तरता र अन्य खोजमुलक ऐतिहासिक तथ्यहरुलाई सार्वजनिक गर्ने यो अभियानले मुलुकको बिगतको परिस्थिति बुझ्ने ,जान्ने अवसर प्राप्त भएको छ।यसका लागि डाक्टर तीर्थ मिश्र धन्यवादका पात्र हुनुहुन्छ।देशको मुर्धन्य इतिहासकारको कर्तव्यले हाम्रो पढ्न पाउने अधिकार सधैं सुनिश्चितता गर्न सकोस् ।लेखकलाई बधाई छ।

Dr Prem Singh Basnyat
Dr Prem Singh Basnyat
2022-07-26 7:49 pm

अती उत्तम लेख। धेरै कुरा सिके।
मेरा आदरानीय गुरु प्रा डा. तिर्थ सरलाई नमन सहित धन्यवाद !

रिलेटेड न्युज

छुटाउनुभयो कि ?