बुद्धिचाल संघको अध्यक्षमा गौतम

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । संघको सोमबार भएको साधारणसभाले अधिकांश पद निर्विरोध र केही पद निर्वाचनमार्फत् चयन गरेको छ । राजेन्द्रप्रसाद रिजाल वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुँदा तीन उपाध्यक्षका लागि निर्वाचन भएको थियो । जसमा धनबहादुर बोगटी, सुबोधराज शेर्पाली र नारायण दास गमाल निर्वाचित हुनुभएको छ । बोगटीले ५९, शेर्पालीले ५५ र गमालले ५२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षका उम्मेदवार माधवप्रसाद प्रधानले १७ र ओमप्रसाद उपाध्यायले नौ मत प्राप्त गर्नुभयो ।

महासचिवमा धरमबहादुर लामा, तीन सचिवमा मोनालिसा खम्बू, भुपेन्द्र निरौला र उमेश केसी, कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन, सह-कोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित हुनुभयो । सात प्रदेशबाट एक-एकजना र महिला सदस्य निर्विरोध सदस्य निर्वाचित हुँदा खुला तीन सदस्यका लागि भने निर्वाचन भएको थियो ।

सातजनाबीचको प्रतिस्पर्धामा कृष्णप्रसाद सिग्देल ४३, प्रविणबहादुर भडेल ३४ र रामकिशोर सिंह ३२ मतका साथ विजयी हुनुभयो । अन्य उम्मेदवार याइसास यासिर खम्बूले २६, राजीवन कार्कीले २३, विकास कार्कीले २१, मनोज घिमिरेले १७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, प्रदेश १ बाट दीपेन राई, मधेश प्रदेशबाट सुरेन्द्रकुमार शाह, बागमतीबाट निरञ्जन प्रजापती, गण्डकीबाट महेश्वर अधिकारी, लुम्बिनीबाट चन्द्रमणि गैरे, कर्णालीबाट शक्तिराम बुढा, सुदूरपश्चिमबाट गोपाल श्रेष्ठ र महिला सदस्यमा पार्वती श्रेष्ठ निर्विरोध चयन हुनुभयो । साधारणसभामा ११३ जनाको सहभागिता रहेको थियो भने मतदानमा ७८ जनाले भाग लिएको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?