गरगहना लगाएर हिँड्दा पनि भन्सार अवरोध

Read Time = 3 mins

काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरूपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीले सहजीकरण गर्न भन्सार विभागको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग भेट गरी ध्यानाकर्षण गराएको हो ।

महानिर्देशक भट्टराईसँगको भेटका क्रममा महासंघ अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सुनका गहना ल्याएमा त्यसको भन्सार लिने गरिएकोप्रति असन्तुष्टि जनाउँदै विमानस्थल भन्सारबाट आवत-जावत गर्दा भन्सारमा अवरोध गर्न नहुने बताउनुभयो ।

विद्यमान व्यवस्थाअनुसार विदेशबाट नेपाल आउँदा प्रत्येक व्यक्तिले ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउने पाउने व्यवस्था छ तर गरगहनाको हकमा यस्तो सीमा निर्धारण गरिएको छैन । नेपालबाट बाहिर जाँदा गरगहना लगाएर जान पाइने तर बाहिरबाट आउँदा ५० ग्रामभन्दा बढी गरगहना लगाएकोमा कडाइ गरिएको पाइएपछि व्यवसायीले विरोध गरेका हुन् । विभागका महानिर्देशक भट्टराईले व्यवसायीका समस्या अध्ययन गरी त्यसलाई सम्बोधन गर्न पहल गर्ने आश्वासन दिनुभएको छ । तथापि कतिपय व्यक्तिले गरगहनाको वहाना बनाएर सुन नै ल्याउन खोजेको भेटिएपछि कडाइ गर्नुपरेको उहाँको भनाइ छ ।

सो अवसरमा महासंघका उपाध्यक्ष पवनकुमार सोमानी, महासचिव धर्मसुन्दर बज्राचार्य र कोषाध्यक्ष सुदिप श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

यसैबीच सुनचाँदी व्यवसायीबीच सबै खालका कारोबार र व्यावसायिक गतिविधिमा एकरूपमा ल्याउने सहमति भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच यस्तो सहमति भएको हो । दुई महासंघबीच भएको सहमतिका क्रममा दुवै महासंघको काठमाडौं उपत्यकाका विभिन्न जिल्लाका प्रतिनिधिको समेत सहभागिता थियो । उक्त सहमतिसँगै सुन आपूर्ति तथा बिक्रीवितरण, मूल्य निर्धारण प्रक्रिया, बिक्रीपछिको खरिद प्रक्रिया, ज्याला, जर्ती तथा टोलरेन्सलगायतका विषयमा व्यवसायीबीच एकरूपता आउने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?