स्कटल्यान्डमाथि नेपालको जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । स्कटल्यान्डमाथि नेपालले ऐतिहासिक जित हात पारेको छ । आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाललले बिहीबार राती भएको खेलमा स्कटल्यान्डमाथि ५ विकेटको जित हात पारेको हो । नेपालले स्कटल्यान्डलाई पराजित गरेको यो पहिलोपल्ट हो । एकदिवसीयसँगै टी-२० फम्र्याटको क्रिकेटमा पनि नेपालले स्कटल्यान्डलाई यसअघि हराउन सकेको थिएन ।

जितका लागि १४५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा ओपनर आसिफ शेखले ६२ बलमा १० चौका र १ छक्कासहित ७१ रनको योगदान दिनुभयो । आसिफले छक्का हान्दै अर्धशतक पूरा गर्नुभएको थियो । उहाँको यो करिअरको चौथो अर्धशतकसमेत हो ।

त्यसबाहेक उपकप्तान रोहित पौडेल ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहनुभयो । रोहितले चौका प्रहार गर्दै नेपालका लागि विजयी रन बटुल्नुभएको थियो । खराब लयबाट गुज्रिरहनुभएका दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट हुनुभयो । यस्तै आरिफ सेख १ रनमा आउट हुनुभयो ।

आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.२ ओभरमा ४७ रनको साझेदारी गरेपछि नेपालले राम्रो सुरुवात पाएको थियो । कुशल २८ बलमा ४ चौकासहित २७ रनमा आउट हुनुभयो । स्कटल्यान्डका गेभिन मेनले तीन विकेट लिनुभयो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको स्कटल्यान्डले ४२.५ ओभरमा १ सय ४४ रनमा सबै विकेट गुमाएको थियो । अन्तिम विकेटका लागि हम्जा ताहिर र गेभिन मेनले ४९ रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उक्त स्कोरमा पुर्‍याउनुभएको हो ।

गेभिन ५९ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहनुभयो । ताहिरले ४३ बलमा ७ रन जोड्नुभएको थियो । त्यसबाहेक मार्क वाट् १७ र शफ्यान शरिफ १६ रनमा आउट हुनुभयो ।

नेपालका सोमपाल कामीले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिनुभयो । त्यसबाहेक सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३५ रन दिएर २ विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी र करण केसीले एक÷एक विकेट हात पार्नुभयो ।

यस शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले अब शनिबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ । यो जितसँगै नेपाल १७ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २२ खेलमा १४ मा जित र ६ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १६ खेलमा आठमा जित र आठमा हारसहित १६ अंकका साथ छैटौँ स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा एकमा जित र १९ मा हारका साथ पुछारमा छ ।

नेपाललाई सिधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । त्यसबाहेक प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंकतालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?