अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु

हिमालय टाइम्स
Read Time = 5 mins

इलाम । नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजना तथा इलाम जिल्ला क्रिकेट संघको व्यवस्थापनमा शुक्रबारदेखि इलाममा तीनदिने ओ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु भएको छ । कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका छन । कार्यक्रम तीन दिनसम्म चल्ने नेकोस राष्ट्रिय क्रिकेट संघका सहसचिव चेतनाथ पौडेलले बताउनुभयो ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा सुरु भएको कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गर्नुभएको थियो । सो अवसरमा मेयर थापाले जिल्लामै पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेकोस राष्ट्रिय क्रिकेट संघलाई धन्यवाद दिनुभयो । साथै उहाँले इलाममा विसं २०४२ ४३ तिर क्रिकेट भित्रिए पनि यो खेलको विकास विस्तार हुन नसकेको अवस्थामा यो कार्यक्रमले जिल्लामा क्रिकेट गतिविधि बढने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम उद्घाटनको क्रममा बोल्दै नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष विप्लभ घोषले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने बताउनुभयो ।

नेकोस राष्ट्रिय क्रिकेट संघको मूल उद्देश्यनै ग्रासरुट क्रिकेटलाई माथि उठाउने तथा विभिन्न जिल्लामा क्रिकेट गतिविधि सञ्चालन गर्ने अध्यक्ष घोषले बताउनुभयो । उहाँका अनुसार नेपालमा महिला क्रिकेटको सम्भावना भए पनि महिला क्रिकेट प्रतियोगिता कम आयोजना भएको हुँदा निकट भविष्यमै नेकोस राष्ट्रिय क्रिकेट संघले महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी महिला तथा पुरुष प्रशिक्षार्थीलाई शुभकामना दिँदै क्रिकेटमा पनि भविष्य रहेको र सबैले आ-आफ्नो क्षेत्रबाट क्रिकेटको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा आइसिसी प्यालनका अम्पायर बुद्धिबहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेका यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर र स्कोर पाउने आशा व्यक्त गर्नुभयो ।

उहाँले यस्ता कार्यक्रम देशका विभिन्न ठाँउमा आयोजना हुनुपर्नेमा जोडदिनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पाएको अनुभवहरू यो कार्यक्रममा साझा गर्न पाउदा गर्व लागेको उहाँले सुनाउनुभयो । कार्यक्रममा आइसिसी प्यानल अम्पायर बुद्धिबहादुर प्रधानसहित लेभल टु अम्पायर कमलेश ठाकुरले प्रशिक्षण दिनुहुनेछ ।

उद्घाटन कार्यक्रममा प्रदेश नम्बर एक क्रिकेट संघका सदस्य टीकाराम पुरी, जिल्ला क्रिकेट संघ इलामका अध्यक्ष अर्जुन पौडेल, जिल्ला समन्वय समिति कार्यालय इलामका सदस्यलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?