उत्तरी नाकामा पूर्वाधार विकास गर्न दुई देशबीच सहमति

Read Time = 5 mins

काठमाडौं । नेपाल र चीनबीच सीमा नाकामा पूर्वाधार विकास गर्ने सहमति भएको छ । हालै सम्पन्न नेपाल-तिब्बत व्यापार सहजीकरण समितिको १०औँ बैठकमा दुई देशबीच कोरोला, किमाथान्का र ओलाङचुङगोलालगायतका सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति भएको हो ।

बैठकमा नेपाल-चीनबीच निर्बाधरूपमा दुईतर्फी व्यापार सञ्चालन गर्न उपयुक्त विधि अवलम्बन गर्ने, भन्सार नाकामा कोरोनाविरूद्धको स्वास्थ्य प्रोटोकल कडाइसाथ पालना गर्ने र कृषिजन्य, पशुजन्य र वनस्पतिजन्य उत्पादन चीनतर्फ निकासी गर्न आवश्यक प्रक्रियागत विषय र प्राविधिक क्षमता अभिवृद्धि गर्न दुवै देशले सहकार्य र समन्वय गर्नेसमेत सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बैठकमा स्थलमार्गबाट नेपालबाट निर्यात हुने मालवस्तु ढुवानी प्रक्रिया अबिलम्ब सुचारु गर्ने विषयका साथै नेपाली वस्तु चिनियाँ बजारमा सहज प्रवेशबारे पनि छलफल भएको थियो ।

सोमबार लामो भर्चुअल बैठक भएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले कोरोला, किमाथान्का र ओलाङचुङगोलालगायतका सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति भएको बताउनुभयो । सो बैठकमा चिनियाँ पक्षको नेतृत्व चीनको तिब्बत सरकारका उपमहासचिव रेन सिनपिङले गर्नुभएको थियो । बैठकमा चीन सरकारको सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह छिटो सम्पन्न गर्ने सहमतिका साथै दुई पक्षीय व्यापारमा सहजीकरण, वैदेशिक लगानी, व्यापार पूर्वाधारको विकास, पारवहन सुविधाका साथै भन्सार प्रक्रिया सरलीकरणलगायतका विषयमा छलफल भएको बताइएको छ । त्यसैगरी पारवहन सम्झौताको प्रोटोकल कार्यान्वयन, अन्तरदेशीय विशेष आर्थिक क्षेत्र स्थापना, आधिकारिक आर्थिक सञ्चालक (एइओ) को व्यवस्था, भुक्तानी सहजीकरण, बहुकार्यात्मक प्रयोगशाला स्थापनालगायतका विषयमा समेत छलफल भएको मन्त्रालयका प्रवक्तासमेत रहनुभएका डा. रेग्मीले जानकारी दिनुभएको छ । छलफलका क्रममा दुवै वार्ता टोलीले दुई देशबीच रहेको ऐतिहासिक तथा सौहार्दपूर्ण दौंत्य सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच बढ्दो दुईपक्षीय व्यापारमार्फत् समेत सम्बन्ध थप सुदृढ गर्न सकिने सहमति जनाएका थिए ।

नेपाल–चीनको तिब्बतबीच द्विपक्षीय व्यापार सहजीकरण गर्ने उद्देश्यले सन् २०१० अप्रिलमा समझदारी पत्रमा हस्ताक्षर भई नेपाल–तिब्वत व्यापार सहजीकरण समितिको स्थापना भएको थियो ।

पछिल्लो समय दुई देशबीचको बैठकले तीव्रता पाएको छ । गत साल दुई देशबीच परराष्ट्र सहसचिवस्तरीय सीमा संयन्त्रको बैठकमा कोरोना महामारीपछि करिब बन्द रहेको रसुवागढी नाका पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको थियो । त्यस्तै दुई देशबीच हुम्लाको हिल्सा नाका पुनः सुचारु गर्ने सहमति थियो । दुई देशबीच सीमामा देखिएका समस्या पहिचान गरी हल गर्न महत्वपूर्ण तीन कार्यदल ब्युँताउने, संयुक्त अनुगमन समिति (जेआइसी), संयुक्त विज्ञ समूह (जेइजी) र संयुक्त निरीक्षण टोली (जेआइटी) क्रियाशील गराउने पनि सहमति भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?