‘खराब नतिजाका लागि खेलाडी मुख्य जिम्मेवार’

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको पछिल्लो स्कटल्यान्ड भ्रमणको खराब नतिजा आउनुमा खेलाडी मुख्य जिम्मेवार रहेको बताउनुभएको छ । स्कटल्यान्ड भ्रमणमा नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय भोगेको थियो । भ्रमण सकेर मंगलबार राती नेपाली टोली स्वेदश फर्किएको छ । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सन्दीपले खराब नतिजाको कारण खेलाडीहरू नै रहेको प्रतिक्रिया दिनुभयो । प्रशिक्षक परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला सन्दीपको उक्त प्रतिक्रिया आएको हो । ‘प्रशिक्षकको कुरा गर्दा उहाँले गर्दा राम्रो पनि भएको छ । जे छौँ यहाँसम्म उहाँले गर्दा छौँ । ब्याटिङको समस्या हाम्रो धेरै पहिलादेखि छ, अहिले आएर दोष देखिएको मात्र हो,’ सन्दीपले भन्नुभयो, ‘प्रशिक्षकमात्र नभएर हामी खेलाडी सबैभन्दा बढी जिम्मेवार हो । किनभने हामी नै गएर खेल्ने हो । प्रशिक्षकले योजना दिने हो । मैले विश्वका धेरै ठाउँको लिग खेलेँ, मैदानको बीचमा आएपछि भूमिका खासै हुँदैन ।’

स्कटल्यान्ड भ्रमण आफूहरूले सोचेजस्तो नभएको उहाँले बताउनुभयो । स्कटल्यान्डको कन्डिसनका अघि आफूहरूको केही नचलेको उहाँको प्रतिक्रिया थियो । तयारी राम्रो भए पनि नतिजा नआएको उहाँको प्रतिक्रिया थियो । ‘हामीले जे सोचेर गएका थियौँ । जुन तयारीका साथमा गएका थियौँ । एउटा टोलीका रूपमा हामी असफल भयौँ,’ उहाँले भन्नुभयो, ‘युवा टोली छ । कन्डिसनमा भरपर्छ । सबै खेलाडीका लागि नयाँ कन्डिसन पनि थियो । चुनौतीपूर्ण अवस्थामा गएर राम्रो खेल्न सक्यौँ भनेमात्रै अर्को स्तरमा पुग्न सक्छौँ । अर्को लेभलमा पुग्नका लागि पनि सबै चुनौतीहरू पार गर्नुपर्ने जरुरी छ ।’

स्कटल्यान्ड भ्रमणअघि लगातार क्रिकेट खेले पनि सोचेको जस्तो खेल्न नसकेको स्वीकार्दै सन्दीपले खेल नराम्रो हुँदा चोट पुगेको बताउनुभयो । सन्दीपको कप्तानीमा नेपालले १४ ओडिआई खेल्दा नौ खेलमा हार बेहोरेको छ । राम्रो खेल्दा समर्थकको साथ पाए पनि नराम्रो खेल्दा गाली खानु स्वाभाविक रहेको उहाँको भनाइ थियो । ‘कप्तानभन्दा पनि म टिमको सदस्य पनि हुँ । टोली हार्दा टोलीमात्रै होइन कि म पनि हारिरहेको हुन्छु,’ सन्दीपले भन्नुभयो, ‘यो टिमले अझै राम्रो गर्न सक्छ भन्नेमा अझै मलाई विश्वास छ । पोटेन्सियल र क्षमतावान टिम छ । पोटेन्सियलअनुसार खेल्न सकिरहेका छौँ । हामी आफैं कहाँ गल्ती गरिरहेका छौँ हेर्नुपर्छ । त्यसलाई सुधार्दै अघि बढ्नुपर्छ ।’

नेपालले विश्वकप लिग-२ मा अब १६ खेल खेल्न बाँकी छ । १६ मध्ये आठ खेल घरेलु मैदान र बाँकी चार-चार पपुवा न्युगिनी र नामिबियामा गएर खेल्नुपर्ने हुन्छ । नेपाल २० खेलमा आठमा जित र ११ मा हारका साथ १७ अंक जोड्दै पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने दबाब छ । शीर्ष पाँचमा पर्न १० भन्दा बढी खेल जित्नुपर्ने हुन्छ ।

सन्दीप लामिछानेको कप्तानी र पुबुदु दशानायकेको प्रशिक्षणमा नेपालले खेलेका १४ ओडिआईमध्ये नौमा हार र चारमा जित हात पारेको छ । एक खेल बाराबरीमा सकिएको छ । टी-२० क्रिकेटमा १३ खेलमा १० मा जित र तीनमा हार छ । ओडिआईका १२ खेल विश्वकप लिग–२ का हुन् । जसमा नेपालले सात खेल हारेको छ । त्यसैको कारण शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने समीकरण अब कठिन बनेको छ ।
पुबुदुको प्रशिक्षणमा नेपालले १२ मध्ये सात खेलमा दुई सय रन कटाउन सकेको छैन । १५० भन्दा कममा दुईपटक समेटिएको छ । प्रशिक्षण खेलमै पनि दुई सयमाथिको योगफल एकपटक मात्रै पूरा गरेको छ । गत मार्चमा शारजाहमा पपुवा न्युगिनीविरुद्ध २०५ रनको योगफल पूरा गरेको थियो ।

पुबुदु भने टोलीमा सीप र क्षमताको अभाव नभए पनि कन्डिसनको मारमा खेलाडीहरू परेको बताउनुहुन्छ । केही अनुभवी खेलाडीहरू नभएर पनि गाह्रो परेको प्रतिक्रिया उहाँले दिनुभयो । आफूहरूले राम्रो तयारी गरे पनि मैदानमा भने त्यो नदेखिएको पुबुदु बताउनुहुन्छ । ‘हामीले एकदमै कडा मिहिनेत गरेका थियौँ । टिमवर्क पनि थियो । तयारी पनि राम्रो भएको हो’, विमानस्थलमा पुबुदुले पत्रकारहरूसँग भन्नुभयो, ‘त्यहाँको कन्डिसनमा हाम्रा खेलाडीलाई खेल्न गाह्रो भयो । स्कटल्यान्डमा अनुभव पनि राम्रो भएन । शीर्ष सातका ब्याट्सम्यानले नतिजा देखाएनन् । यद्यपि उनीहरूले कडा मिहिनेत नगरेका होइनन् । केही अनुभवी खेलाडी थिएनन् । त्यसले पनि नतिजामा असर गर्‍यो ।’

चन्द र मल्ल इंग्ल्यान्ड प्रस्थान
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक साधारण सभामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल इंग्ल्यान्ड प्रस्थान गर्नुभएको छ । वार्षिक साधारणसभा २६ जुलाइमा भए पनि कार्यक्रम भने २३ जुलाइदेखि नै सुरु हुनेछ । आइसिसीको वार्षिक साधारणसभाको मुख्य एजेन्डा ओडिआई मान्यता रहनेछ ।

यसबीचमा नेपालले भारतको क्रिकेट बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुली र मानार्थ सचिव जय शाहबीच पनि नेपाली क्रिकेट विकासका लागि छलफल गर्ने तयारी गरेको मल्लले जानकारी दिनुभयो । शाह एसियन क्रिकेट काउन्सिलका अध्यक्षसमेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?