लगानी कोष र सगरमाथा जलविद्युत्बीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनीको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्तर्फबाट डा. भूषण गुरागाईले हस्ताक्षर गर्नुभएको हो । सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्नेछ ।

कम्पनीले जारी पुँजी एक अर्ब १२ करोडमध्ये स्थानीयका लागि १० प्रतिशतबापत ११ लाख २० हजार कित्ता अर्थात् ११ करोड २० लाख रुपैयाँ बराबरको तथा सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ गरी कुल ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेठ ३२ देखि जलविद्युत् उत्पादन सुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत् उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?