एउटा जामवन्तको आवश्यकता छ

Read Time = 17 mins

✍️ मणि शर्मा
सिसिटिभीको फुटेज भेटिएन । पत्रकारहरूलाई फुटेजका बारेमा थाहा छ भन्छन् तर गोपनीयताका कारण दिन नमिल्ने भन्छन् । सामाजिक सञ्जालहरूमा उक्त फुटेज रिकभर गर्ने दाबी विभिन्न जानकारहरूले दिइरहँदा पनि तिनीहरूलार्ई बोलाइँदैन । यो पनि बालुवाटार काण्ड जस्तै सेलाएर जानेछ, एउटा राष्ट्रप्रति घात गर्नेले क्लिन चिट पाउनेछ । पशुपतिमा चढाएको सुनको जलहरीमा दश किलो सुन गायब छ, विमानस्थलबाट तेत्तीस केजी सुन गायब हुन्छ, गायबकर्ता भेटिँदैनन् । यस्ता हजारौं भ्रष्टाचारका कथाहरू छन् । विदेशीहरूका लागि नागरिकता विधेयक ल्याइन्छ, सत्ताधारी सांसदहरू त्यसको पक्षमा बोल्छन्, एमालेमा भीम रावलबाहेक अरूको बोली निस्कँदैन ।

नेपालमा एक दिन नेपालीहरू नै शरणार्थी बन्ने अवस्था आउँदा पनि सांसदहरू नेतृत्वको अगाडि निरीह भएर मुलुकको अस्तित्व समाप्त पार्ने काममा समर्थन गरिरहेका छन् । जनतालाई मल चाहिएको छ, दुई छाक हातमुख जोड्न पाए पुग्छ । मानिसको जुनी पाएर पनि जनता विवेकशील, चेतनशील प्राणी हुन सकेका छैनन् । जनताको शक्ति असीम छ, उनीहरूलाई थाहा छ, खोई कसको श्राप हो वा सुषुप्त मस्तिष्क हो राष्ट्रका बारेमा सोच्न सक्दैनन् । यो शक्तिलाई जागृत तुल्याएर उसको शक्तिको ज्ञान दिने जामवन्त अझै आई नपुगेको जस्तो छ ।

अचेल सामाजिक सञ्जालमा राष्ट्रिय परिचय पत्रको व्यापक विरोध छ तर सांसदहहरू कुन शक्तिको प्रभावमा चुप छन् ? केवल चुनावका बेलामा मात्र जनताका हुन्छन्, जनताको कुरा सुन्ने अभिनय गर्छन् । चुनाव जितेपछि सानातिना कुराहरूमा जनतालाई भुल्याएर राष्ट्रिय कुराहरूलाई सुन्न नचाहेर बहिरो बनिदिन्छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा पुरुषले नेपाली टोपी लगाउन नपाउने र विवाहित महिलाले सिन्दुर, टीका, पोते वा कुनै अलंकार लगाउन नमिल्ने प्रावधान रहेछ । नेपालीको आफ्नो पहिरनमाथि प्रतिबन्ध लगाउने पत्र कसरी राष्ट्रिय परिचय पत्र भयो ? यो त अराष्ट्रिय प्रमाणपत्र पो भयो ।

अचेल सामाजिक सञ्जालमा राष्ट्रिय परिचय पत्रको व्यापक विरोध छ तर सांसदहहरू कुन शक्तिको प्रभावमा चुप छन् ? केवल चुनावका बेलामा मात्र जनताका हुन्छन्, जनताको कुरा सुन्ने अभिनय गर्छन् । चुनाव जितेपछि सानातिना कुराहरूमा जनतालाई भुल्याएर राष्ट्रिय कुराहरूलाई सुन्न नचाहेर बहिरो बनिदिन्छन् ।

म यो कुरा बुझ्न जिल्ला प्रशासन कार्यालयमा गएँ । बुझ्दा कुरा सही रहेछ । मैले टोपी लगाएर, मेरी पत्नीले सिन्दुर, टीका, पोते र साधारण अलंंकार जुन दैनिक लगाइन्छ, लगाएर फोटो खिच्छु भन्दा त्यहाँका कर्मचारीहरूले मिल्दैन भने । पासपोर्टमा नेपाली टोपी र सिन्दुर पोते आदि लगाउन नमिल्ने भएकाले यसमा पनि लगाउन मिल्दैन भने, विदेशीहरूले यसलाई मान्यता दिँदैनन् भने । मैले त्यहाँ राष्ट्रिय परिचय पत्र बनाउन आएकाहरूसँग अनुरोध गरेँ, हामी सबै मिलेर यसको विरोध गरौँ, नेपाली टोपी, चुरा, पोते र सिन्दुर लगाएर मात्रै राष्ट्रिय परिचय पत्र बनाऊँ ।

हाम्रा विवाहिता चेलीबेटीलाई पति हुँदाहुँदै विधवाको भेषमा फोटो खिच्नबाट रोकौँ भनेँ तर कसैले सुनेनन् उनीहरूको बाध्यता थियो । सबैले पासपोर्ट बनाउनुपर्ने, बिनाराष्ट्रिय परिचय पत्र पासपोर्ट नबन्ने रहेछ । नेपालमा बेरोजगार भएर भोकभोकै बस्नुभन्दा खाडी र मलेसियामा गएर काम गर्नुपर्ने बाध्यताका लागि पासपोर्ट बनाउन जरुरी थियो । विदेश नगए घरमा चुलो बल्दैन । सबैलाई विदेश जाने हतार छ, अनि के गर्ने ? पहिला त नागरिकता प्रमाणपत्रमात्र भए पासपोर्ट बन्थ्यो । अहिले यो बाध्यात्मक परिस्थितिको सिर्जना सरकारले कुन शक्तिको आदेशमा गरेको हो ?

मलाई एकजना भूमिसुधार मन्त्रालयमा काम गरेका मित्रले भनेको कुरा अहिले सम्झिन्छु । उनले भने, यहाँ हाम्रो जुन जग्गाजमिन छ, यसकोे सफ्टवेयर दिल्लीको एउटा कम्पनीले बनाइदिएको हो । नेपालको सम्पूर्ण भूभागको नक्सा, जग्गाको अभिलेख सबै दिल्लीमा जान्छ । पूरै नेपालको भूभागको अवस्थाको रेकर्ड दिल्लीसँग छ । यदि ती मित्रले भनेको कुरा सत्य हो भने हामी त भारतको कठपुतली नै भएका छौँ । कतै यो राष्ट्रिय परिचय पत्रको डोरी कुनै विदेशी शक्तिकेन्द्रको हातमा त छैन, जसको आदेशले अनावश्यकरूपमा यो लागू गर्न जबरजस्ती गरिएको छ ।

कुनै पञ्जाबी मूलका नेपालीले राष्ट्रिय परिचय पत्र बनाउनुप¥यो भने के उसले आफ्नो संस्कार शिरमा बेरेको फेटा फुकाल्नेछ ? यो त उसको फेटाको अपमान हो, आफ्नो पहिचानको अपमान हो । विवाहिता महिलाको पहिचान उसको सिउँदोको सिन्दुर, हातको चुरा, निधारको टीका, घाँटीको तिलहरी वा पोते हो । यो उसको शृंगारमात्र होइन, सुहाग पनि हो । विवाहिता महिलालाई आशीर्वाद दिँदा सौभाग्यवती भए भन्छौँ हामी । महिलाको सौभाग्यलाई खोस्ने अधिकार सरकारलाई कसले दियो ? यो सरासर हाम्रो धर्म, संस्कृति र संस्कारमाथि विदेशी हस्तक्षेप हो, पश्चिमीकरणतर्फ गइरहेका राजनीतिक दलहरूले हामी सनातन धर्मावलम्बीहरूलाई पनि जबरजस्ती यस्ता संस्कार अवलम्बन गर्न बाध्य पारिरहेका छन्, नेपालीहरूको बाध्यताको फाइदा उठाउँदा ।

शिरको टोपी हाम्रो राष्ट्रिय पहिचान हो, हाम्रो राष्ट्रिय पहिचानमाथि सरकारले आक्रमण गरिरहेको छ । युनाइटेड अरब इमिरेटको परिचय पत्रमा त्यहाँको राष्ट्रिय पोशाक लगाउने र शिरमा उनीहरूले बेर्ने फेटा बेरेको तस्बिर राखिन्छ । युएइको परिचय पत्र र पासपोर्ट संसारभरि चल्छ नेपालको किन चल्दैन वा चलाउन चाहँदैन सरकार ? भुटानको परिचय पत्रमा भुटानी पोशाक नै हुन्छ । कुनै पनि स्वाभिमानी मुलुकले आफ्नो धर्म, संस्कृति र सभ्यतालाई पक्षाघात गरेर बाहृय धर्म, संस्कृति र सभ्यता भित्र्याउन सक्दैन । विदेशीको आज्ञापालक बन्दाबन्दै यहाँका नेतृत्वहरू पूर्णरूपेण अराष्ट्रियवादी नै भइसकेका छन् । दासहरूको प्रयोजन सकिएपछि उनीहरूको उपादेयता सकिन्छ । पुष्पकमल दाहाललाई मोदीले भेट नदिने कारण पनि उनका लागि दाहालको उपादेयता हाललाई प्रयोजनविहीन भएरै हो ।

विदेशीका समर्थकहरूको कुनै मुलुक हुँदैन । जबसम्म बस्छन् मालिकको आज्ञापालक भएर बस्छन्, जब बस्ने अवस्था आउँदैन तब असरफ घानी वा राजापाक्षे जस्तै देश छोडेर भाग्छन् । राजा ज्ञानेन्द्रजस्तो देशभक्त त उनीहरू हुँदैनन् । राजालाई विभिन्न आरोपहरू लगाए तर कुनै प्रमाणित गर्न सकेनन्, राजा त यहीँ छन्, गद्दीच्यूत गराउँदा पनि उनी देश छोडेर भागेनन् । किनकि राजालाई आफ्नो देशको माया हुन्छ तर नेताहरूलाई हुँदैन ।

नेताहरूको झुटो आश्वासन र चुनावका बेला छरिएका कनिकाहरूको नशामा जनता लठ्ठिएका छन् । देशउपर प्रहार भइरहँदा पनि उनीहरूको चेत खुल्दैन । नेतामात्र होइन, नोकरशाह, कथित बुद्धिजीवी, कथित अधिकारवादीहरू, सेनाधिपतिहरू, प्रहरीधिपतिहरू सबै डलर, युरो र भारुमा बिकिसकेका छन् । मुलुक गम्भीर मोडमा पुगिसक्दा पनि न त बोल्छन् र न त एक्सनमा आउँछन् । मन्त्रिपरिषद्ले निर्णय गरेको एसपिपीमा समावेश नहुने निर्णयलाई अहिलेसम्म पत्राचार गरी अमेरिकालाई जानकारी पठाउन नसक्ने नोकरशाह कुन शक्तिका लागि नेपाली जनताले तिरेको करबाट बेतन खाई काम गरिरहेका छन् ?

नेपाली जनतालाई निद्राबाट ब्युँझाउन यहाँ एउटा जामवन्तको खाँचो छ । तर, अहिलेसम्म ती जामवन्त देखिएका छैनन् । जसरी हनुमानजीलाई उनको शक्तिको बोध गराउन जामवन्त चाहिएको थियो, ठीक त्यसरी नै नेपाली जनतालाई उनको शक्तिको बोध गराउन एउटा जामवन्त चाहिएको छ । हनुमानजीको उड्ने गति प्रतिघण्टा दुई हजार पाँच सय किमी भएको भनिन्छ । सीताको खोजीमा सुग्रिव, जामवन्त सबैले हनुमानलाई पठाउने निर्णय गरे । किनकि उनी महाशक्तिशाली छन् र उनको उडानको गति पनि तेज छ । तर, हनुमानले आफूले सीतामातालाई खोज्न नसक्ने, आफूमा त्यो सामथ्र्य र शक्ति नभएको भन्छन् । उनी आफूलाई कमजोर ठान्दछन् ।

यसपछाडि कारण छ । खासमा हनुमानजीलाई उनको बाल्यकालमा विभिन्न देउताहरूले विभिन्न प्रकारको वरदान र अस्त्रशस्त्र दिएका थिए जसकारण उनी महाशक्तिशाली बने । बालापनमा अरू बच्चाहरूझैँ उनमा पनि चकचक गर्ने बानी थियो । आफूले पाएको वरदानको कारण उनले उधुम मच्चाउन थाले । ऋषिहरूका बगैंचामा गएर सबै फलफूल खाइदिने, बगैंचा उजाड पारिदिने गर्न थाले । उनी तपस्यारत मुनिहरूलाई सताउने गर्दथे । उनको बदमासी बढ्दै गएपछि मुनिहरूले उनका पिता केसरीलाई उजुरी गरे । मातापिताले उनलाई धेरै सम्झाए, यसरी दुष्ट्याइँ गर्नुहुँदैन भने ।

तर, उनले मातापिताको अर्तीलाई मानेनन् । उपद्रो गर्दै गए । अन्त्यमा भृगुवंश र अंगिराका ऋषिहरूले उनलाई श्राप दिँदै भने, उनले आफूले प्राप्त शक्तिहरू र बललाई बिर्सनेछन् तर उचित समयमा कसैले उनका शक्तिहरू र बलका बारेमा भनिदिएपछि त्यो जागृत भएर आउनेछ । अब हनुमानजीलाई कसले सम्झाउने ? वन नर अर्थात् वानरहरूले उनलाई सम्झाउन नसकेपछि वृद्ध जामवन्त उनलाई सम्झाउन आए । जामवन्तले उनले देउताहरूबाट पाएको वर र बलको कुरा उनलाई सम्झाउँदै उनमा अपरिमित शक्ति भएको कुरा सम्झाए । जामवन्त र हनुमानजीबीच लामो संवाद हुन्छ र त्यही संवादका माध्यमबाट जामवन्तले हनुमानजीलाई उनीभित्र रहेको शक्तिका बारेमा आभास गराउँछन् ।

नेपाली जनतालाई निद्राबाट ब्युँझाउन यहाँ एउटा जामवन्तको खाँचो छ तर अहिलेसम्म ती जामवन्त देखिएका छैनन् । जसरी हनुमानजीलाई उनको शक्तिको बोध गराउन जामवन्त चाहिएको थियो, ठीक त्यसरी नै नेपाली जनतालाई उनको शक्तिको बोध गराउन एउटा जामवन्त चाहिएको छ ।

हनुमानजीमा जामवन्तले सम्झाएपछि पुनः त्यो महाशक्ति प्रकट हुन्छ । उनलाई सीतामाताले चिन्न रामजीको औंठी दिइन्छ । हनुमानले लंंकामा आगो लगाएर ध्वस्त पार्दै रावणलाई बध गरेर सीतामातालाई लिएर आउने भन्छन् । उनलाई सम्झाइन्छ रावणलाई बध गर्ने अधिकार केवल श्रीराममा मात्र छ अरूमा छैन । उनले केवल सीतामाताको पत्तामात्र लगाएर आउने हो । हनुमानजीले आफ्नो विशाल रूप धारण गरेर आकाशमार्गबाट समुद्र नाघेर लंका जान्छन्, सीतामाताको पत्ता लगाउँछन् र फर्किने बेलामा लंकामा आगो लगाउँछन् ।

पछि रामले सीतालाई सम्मानपूर्वक फर्काउन रावणकहाँ दूत बनाएर पुलस्त्य ऋषिका नाति अंगदलाई पठाउँछन् । अंगदले धेरै बेर लगाएर रावणलाई सम्झाउँदा पनि आफ्नो शक्ति तथा ऐश्वर्यको घमण्डले रावणले उनको प्रस्ताव अस्वीकार गरेपछि राम-रावणको युद्ध हुन्छ र रावण मारिन्छन् । अहिले जनताको अवस्था पनि महाबली हनुमानजी जस्तै छ । कुनै दिन कोही जामवन्त भएर आएर जनतालाई उनको शक्तिको अनुभूति गराए यी रावणहरूको लंका एकदिन जलेर खरानी हुनेछ । रावण महाविद्वान् तथा शिवभक्त भए पनि धन र सत्ताको मोहान्धताले गर्दा बुद्धिभ्रष्ट भएर उनको नाश भएको थियो तर हाम्रा रावणहरू त पटमूर्ख नै छन् । यिनको सुनको लंका ध्वस्त पारेर समाप्त पार्न जनता जागे समय नै लाग्ने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?