प्लास्टिकजन्य फूलमाला प्रतिबन्ध

Read Time = 3 mins

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य पुष्प गुच्छा, मालालगायतका सामग्री आयात, उत्पादन, बिक्रीवितरण तथा भण्डारणमा रोक लगाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वातावरण प्रदूषण कम गर्नेदेखि लिएर मानवीय स्वास्थ्यलाई मध्यनजर गर्दै गरेको प्रस्तावमा वातावरण विभागले प्लास्टिकजन्य सामग्री आयातमा रोक लगाउने निर्णग गरेको हो ।

प्लास्टिक जन्य पुष्प गुच्छा र मालाको आयातमा रोक लगाउँदा वार्षिक करिब १० करोड रुपैयाँको आयात रोकिने, वातावरण प्रदूषण कम हुने र स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूलको उपयोग बढ्दा पुष्प व्यवसाय पनि प्रवद्र्धन हुने मन्त्री यादवको भनाइ छ । घरेलु उत्पादनमा संलग्न भएकालाई वैकल्पिक पेशा प्रदान गर्नुका साथै घरभित्रको सजावटमा प्राकृतिक फूल उपलब्ध गराउनु चुनौतीपूर्ण भए पनि सम्पूर्ण चुनौतीको सामना गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला बन्देज गर्ने निर्णय कार्यान्वयन गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ । १७ माघ २०७८ को मन्त्रिपरिषद्को निर्णयअनुसार प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहे पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन । प्लास्टिकको झोला प्रयोगमा रोक लगाउँदा अधिकांश नालाहरूमा प्लास्टिककै कारण ढल थुनिने, माटो प्रदूषण हुने, उर्वर शक्तिमा ह्रास आउने जस्ता समस्या समाधान हुने बताइएको छ । भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्रीवितरण तथा प्रयोगमा कडाइसाथ अनुगमन हुने पनि वातावरण विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

प्लास्टिकजन्य फूलमालालगायत सामग्री प्रतिबन्ध लगाउने निर्णयको पुष्प व्यवसायीले स्वागत गरेका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङका अनुसार फ्यानले विगतमा लामो समयदेखि उक्त माग गर्दै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?