बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

हिमालय टाइम्स
Read Time = 2 mins

गलेश्वर । म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका-२ बगरफाँटमा खानेपानीको हाहाकार भएको छ ।

यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याइ सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधेखोलामा आएको बाढीले क्षति पुर्‍याएको हो ।

बगरफाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी पिउन बाध्य भएको स्थानीय ओमकुमारी शर्माले बताउनुभयो ।

दुई सय १४ घरधुरी रहेको बगरफाँटमा नौ दिनदेखि खानेपानीको समस्या भएको छ । विसं २०६९ मा बेनी नगरपालिका-३ भकिम्ली र बेनपा-२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको हो ।

यस वर्ष पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका हेरालु हरि कार्कीले बताउनुभयो । वर्षा रोकिएपछि मात्र मर्मत कार्य अघि बढाइने उहाँको भनाइ छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?