शिक्षामा तराईमधेश पछाडि पर्दै जानु चिन्ताजनक

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । मधेशी एकता समाजले बिहीबार काठमाडौंमा मधेशमा शिक्षा भन्ने विषयमा अन्तरक्रिया आयोजना गर्‍याे ।

कार्यक्रममा प्राध्यापक प्रमोद मिश्र, शिक्षाविद् विनय कुसियैत, अधिवक्ता मोहना अन्सारी, अनुसन्धानकर्ता डा. सोहन साह, अधिकारकर्मी रामसुफल सदाय, दलित अभियन्ता संजय पासी र लेखिका रीता साह वक्ताको रुपमा सहभागी थिए ।

वक्ताहरुले जनक, बुद्ध र गार्गीको भूमि भनेर चिनिने तराईमधेश शिक्षामा पछाडि पर्दै जानु चिन्ताको विषय रहेको बताए । शिक्षाको अवस्था चिन्ताजनक हुनुमा राज्य र समाज दुबै दोषी रहेको उनीहरुको भनाइ थियो ।

प्रोफेसर प्रमोद मिश्रले मधेशमा शिक्षाको अवस्था सहरभन्दा ग्रामीण भेगमा भयावह रहेको बताउनुभयाे। उहाँले कथित तल्लो जातिहरु अर्थात् दलित समुदायको बसोवास भएको ठाउँमा शिक्षाको अवस्था झनै खराब रहेको जनाउनुभयाे ।

भाषा र जातिले पनि शिक्षाको स्तरमा निकै प्रभाव पार्ने भएकोले दलित समुदायको बसोवास भएको ठाउँमा अम्बेडकर पाउनुपर्ने उहाँको भनाइ छ । यस्तै, शिक्षाविद् कुसियैतले मधेशमा शिक्षाको स्तर उकास्न प्राथमिक शिक्षामा सुधार आवश्यक रहेको बताउनुभयाे ।

संघीय सरकारले मधेशको शिक्षामा अझ सकारात्मक भूमिका खेल्न सक्ने भन्दै उहाँले देशैभरि शिक्षामा क्रान्ति ल्याउन प्रदेश सरकारलाई थप अधिकारसम्पन्न बनाउनुपर्ने बताउनुभयाे ।

अधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारीले मधेशमा मुस्लिम समुदायको शिक्षाको स्तर दलित समुदायभन्दा पनि दयनीय रहेको बताउनुभयाे । अन्सारीले मदरसामा पढेकालाई क्याम्पस भर्ना हुन र जागिर पाउन समस्या रहेको भन्दै मदरसा शिक्षालाई आधुनिकीकरण गर्दै सरकारी मान्यता दिनुपर्ने धारणा राख्नुभयाे ।

त्यसैगरी लेखिका एवं महिला अधिकारकर्मी रीता साहले मधेशमा महिला, दलित र मुस्लिम समुदायको साक्षरता दर एकदमै कम रहेको बताउनुभयाे । उहाँले मधेश प्रदेशले प्राविधिक शिक्षाको व्यवस्था गर्नुका साथै बेटी पढाउ, बेढी बचाउ अभियान सञ्चालन गरेपनि कार्यान्वयन पक्ष फितलो रहेको बताउनुभयाे ।

यस्तै अनुसन्धानकर्ता डा. सोहन साहले मधेश प्रदेशको शिक्षाको स्तर सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको हाराहारीमा रहेको बताउनुभयाे । मधेश आन्दोलनपछि मधेशमा शिक्षाको अवस्था झनै खराब भएको बताउँदै उहाँले मधेश प्रदेशमा रहेका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको अवस्था दर्दनाक रहेको जनाउनुभयाे ।

दलित अभियन्ता संजय पासीले मधेशमा शिक्षाको अवस्था नाजुक हुनुपछाडिका दोषी राज्यका साथै समाज पनि रहेको बताउनुभयाे । मधेशका गाउँमा समुदाय र जातिको आधारमा शिक्षाको अवस्था फरक रहेको उहाँको भनाइ छ । उहाँले शिक्षामा जातपात र छुवाछुतजस्ता भेद्भावले नराम्रो प्रभाव पारेको बताउनुभयाे ।

दलित अधिकारकर्मी रामसुफल सदायले विद्यालयभन्दा धेरै बालबालिका बाहिर रहेपनि त्यसबारे प्रदेश सरकार र केन्द्र सरकार बेखबर रहेको बताउनुभयाे । विद्यालयभन्दा बाहिर रहेका बालबालिकामध्ये अधिकांश दलित समुदायका रहेको भन्दै उहाँले सांस्कृतिक सोच, जीवन शैली र आर्थिक अवस्थाका कारण बालबालिका विद्यालयबाहिर रहेको तर्क गर्नुभयाे । सदायले बालबालिकालाई शिक्षित गर्नुभन्दा पहिले अभिभावकलाई शिक्षित गर्नुपर्ने धारणा राख्नुभयाे ।

मधेशी एकता समाजका संस्थापक डा. रविन्द्र कुमार यादवले मधेशमा शिक्षाको खस्कदो अवस्था सुधार्न सामाजिक स्तरमा मधेशीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?