स्वतन्त्र बन्ने प्रवृत्ति मौलाउनु देशका लागि घातक : कांग्रेस प्रवक्ता महत

Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताउनु भएको छ । तर, मुलुकको द्धन्द्धकालीन विकासका लागि स्वतन्त्रप्रवृत्ति घातक सावित हुने उहाँले बताउनु भयो ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा प्रवक्ता महतले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताउनु भएको हो।
तर, काठमाडौंकै मेयर बालेन्द्र शाहले पनि अहिले काम गर्न नसकेको कुरा जनताका सामु प्रमाणित हुन थालिसकेको उहाँको भनाइ छ ।

‘तपाईँहरुले देखिरहनुभएको छ । बोल्न सजिलो हुन्छ, काम गर्न कति गाहे हुन्छ । मेरै जिल्लामा अहिले कत्रो समस्या भइरहेको छ । यहाँ (काठमाडौं)को मेयरले एक महिनामै फोहोरको समस्या समाधान गरेर दुर्गन्धरहित बनाउँछु भनेर सम्झौता गर्नुभयो । तर अहिले सिसडोलको अवस्था बेहाल छ । त्यहाँ बसिसाध्य छैन’, महतले भन्नुभयो ।

उहाँले झुटा प्रचार गरेर स्वतन्त्रहरुले चुनाव जितेको बताउनु भयो । ‘एकछिन प्रचार गरेर, एकछिन विज्ञापन गरेर आउनेहरुबाट समस्याको समाधान निस्किँदैन, उहाँले भन्नुभयो, ‘बोलेर प्रचार गरेजस्तो काम गर्न सजिलो छैन ।’

प्रवक्ता महतले भुपरिवेष्ठित मुलुक नेपालले अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्ने बताउनु भयो। कांग्रेसकै नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने उहाँले बताउनु भयो । यति हुँदाहुँदै पनि कांग्रेसका केही कमजोरी नै छैनन् भन्न नमिल्ने उहाँले भन्नुभयो । कमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

‘हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन । तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन । कांग्रेस अब सुधारिएर अघि बढ्दै जनताको समस्या समाधान गर्न लागिपर्छ’, डा महतले भन्नुभयो ।

उहाँले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकोले आगामी निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान पनि गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ संगठनहरुलाई चलायमान बनाउनुपर्ने बताउनु भयो । निर्वाचन नजिक आइसकेकोले अब सबै पार्टी पंक्तिले कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने उहाँले बताउनु भयो। नवौँ महाविधेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रका पक्षमा जागरण ल्याउन भूमिका खेल्नुपर्ने उहाँले बताउनु भयो ।

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको विकासका लागि लोकतन्त्रलाई बलियो पार्न आवश्यक रहेको बताउँदै यसका लागि लागि प्रेस युनियनको भूमिका निकै महत्वपूर्ण रहने बताउनु भयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले मुलुकका लागि कुनै योगदान नगरेकाहरु अहिले स्वतन्त्रका नामबाट सलबलाउन थालेकोले उनीहरुलाई निस्तेज पार्न जरुरी रहेको बताउनु भयो ।

उहाँले लोकतन्त्रका लागि भएको आन्दोलनमा कुनै भूमिका नभएकाहरु अहिले स्वतन्त्रका नाममा राजनीति गर्न आउन थालेको भन्दै आक्रोश पोख्नुभयो ।
प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शाखाका सचिव सीताराम ओझाले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?