देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

Read Time = 3 mins

काठमाडौं । नवलपरासीको देवचुली नगरपालिकाले देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरेको छ । देवचुली नगरपालिकाका मेयर र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँग भेट गर्दै यस्तो आग्रह गरेको हो ।

प्रतिनिधिमण्डलले देवचुलीको भौगोलिक अवस्थिति, प्राकृतिक स्रोतसाधन र स्थानीय तहमा स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य रहेका कारण देवचुलीमा लगानी गर्न प्रतिनिधिमण्डलले आग्रह गरेको छ । उद्योग स्थापना, पर्यटन विकास, सार्वजनिकस्थल तथा पूर्वाधार निर्माणलगायतमा लगानीको प्रचुर सम्भाव्यता रहेको बताइएको छ । मेयर हरिप्रसाद न्यौपानेले देवचुलीमा लगानी गर्न आउने लगानीकर्तालाई स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । सो अवसरमा महासंघ अध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईको उपस्थिति रहेको थियो ।

महासंघ अध्यक्ष गोल्छाले देवचुलीमा स्थानीय सरकार र निजी क्षेत्रको संस्था उद्योग वाणिज्य संघबीचको सहकार्य देखेर आफू अत्यन्त प्रभावित भएको भन्दै देवचुलीमा रहेको सम्भाव्यताका सम्बन्धमा विज्ञको सहयोगमा ठोस अध्ययन गराई सोही आधारमा त्यस क्षेत्रको विकासमा अघि बढ्न सुुझाव दिनुभयो । महासंघ आफ्नातर्फबाट सहयोग गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।

महासंघका उपाध्यक्षहरू श्रेष्ठद्वय र संघाईले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीचको सहकार्यमै सो क्षेत्रमा आर्थिक विकासको बलियो सम्भावना भएको बताउनुभयो । स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई स्थानीय ऐनले पनि प्राथमिकता दिएकाले राजस्व संकलन, बस पार्क, मनोरञ्जन पार्क, केबुलकार निर्माण, सरसफाइलगायतका क्षेत्रमा काम गर्न सकिने बताउनुभयो ।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूूर्यप्रसाद दवाडीले समृद्ध देवचुलीको भोक स्थानीय सरकार र निजी क्षेत्र दुवैलाई भएकाले देवचुलीमा लगानीको अभियानलाई अघि बढाइएको स्पष्ट पार्नुुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?