जापानबाट साढे १४ अर्ब ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले सहरी विद्युत् प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने भएको छ । साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सुनाउँदै शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन आयोगबाट प्राप्त परामर्शअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ बमोजिम वि.सं २०७९ मंसिर महिनाको ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको बताउनुभयो ।

बैठकले मिति २०७९ साउन १ गतेदेखि लागू हुने गरेर निक्षेप सुरक्षणको सीमा तीन लाखबाट वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्‍याउने निर्णय गरेको पनि बताउनुभयो । मध्यभोटेकोसी प्रशारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मिति २०७९ भदौ १६ मा सञ्चालन हुने तेस्रो युनिस्कोपमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृत दिने पनि निर्णय गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृति भवन निर्माण गर्ने प्रयोजनार्थ लिजमा उपयोग गर्न दिन स्वीकृत दिने भएको छ । निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका यादवप्रसाद कोइरालासमेत ६ जना अधिकृतहरू सरुवा गर्ने निर्णय गरिएको पनि सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीले केही सञ्चारमाध्यममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्र्यापिङ गरी बैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्ट पार्नुभयो । उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत र यसको सम्मान र संवद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?