तत्काल फोहोर उठ्दैन, अझै केही दिन घरमै व्यवस्थापन गर्नू : महानगरपालिका

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दुई महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो।

विशेष गरी काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ।

महानगरपालिकाले सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको छ। यही साउन ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो।

कामपाका प्रवक्ता नवीन मानन्धरले तोकिएको समयमा पनि सडक मर्मतको काम पूरा नभएका कारण फोहोर व्यवस्थापनमा समस्या भएको जानकारी दिनुभयो। बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने उहाँको भनाइ छ।

बञ्चरेडाँडाका बासिन्दाले भने सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहोर बोक्ने गाडीमा (लिचड ट्यांकीं फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।

कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।

यसअघि हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?