स्वास्थ्य बिमा कार्यक्रममा तीन प्रतिशत मात्रै सहभागी

हिमालय टाइम्स
Read Time = 4 mins

-विवेक खड्का

दाङ । दाङमा करिब २३ हजार व्यक्तिले मात्रै स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड, दाङका अनुसार जिल्लामा २०७७ माघबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म २२ हजार ९६४ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । सरकारले नागरिकको उपचार सहज बनाउन तथा आर्थिक भार कम गरी स्वास्थ्य उपचारमा नागरिकको पहुँच बढाउने लक्ष्यका साथ सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा सुरु भएको डेढ वर्षको अवधिमा लक्ष्यअनुसार निकै कम व्यक्ति सहभागी भएका छन् ।

स्वास्थ्य बिमा बोर्ड दाङका कार्यालय प्रमुख गोपीलाल वलीका अनुसार, २०७७ माघ १० गतेबाट दाङमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा बजार क्षेत्रका केहीले बिमा कार्यक्रममा सहभागिता जनाए पनि अझै गाउँपालिकास्तरमा यसको पहुँच पुग्न सकेको छैन । रकम अभाव, ग्रामीण भेगमा सूचनाको पहुँच नपुग्नु तथा दर्ता सहयोगीको भूमिका प्रभावकारी नहुँदा स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको चासो निकै कम रहेको उहाँको भनाइ छ ।

हरेक पालिकाको वडास्तरमा स्वास्थ्य बिमा दर्ता सहयोगी राखिए पनि उनीहरूले प्रभावकारी काम नगर्दा जिल्लामा करिब ३ प्रतिशतले मात्रै स्वास्थ्य बिमा गराएका छन् । जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार दाङमा ६ लाख ७६ हजार जनसंख्या रहेको छ ।

जिल्लाका सयवटै वडामा स्वास्थ्य बिमा कार्यक्रम पु¥याउन बिमा दर्ता सहयोगी खटाइए पनि पालिकाका जनप्रतिनिधिहरूले पनि भूमिका सकारात्मकरूपमा नखेलेको पाइएको छ । पालिकाका प्रमुख स्वास्थ्य बिमा कार्यक्रमको संयोजकका रूपमा रहने व्यवस्था छ । दाङको घोराही, तुलसीपुर क्षेत्रमा केहीले स्वास्थ्य बिमा गराए पनि अन्य पालिकामा यसको पहुँच निकै कम रहेको स्वयं स्वास्थ्य बिमा बोर्ड दाङका प्रमुख वलीले बताउनुभयो ।

स्वास्थ्य बिमा गराएकाहरूले अहिले जिल्लाको राप्ती स्वास्थ्य वित्रान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल र लमही अस्पतालबाट सेवा लिइरहेका छन् । अन्य तीन ठाउँमा पनि यो सुविधा दिने गरी सूचीकृत गरिएकोमा हालसम्म कसैले पनि त्यहाँबाट सेवा नलिएको पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हालसम्म सात हजारभन्दा बढीले सेवा लिन सफल भएका छन् भने राप्ती प्रादेशिक अस्पतालबाट पाँच हजार बढीले सेवा लिएका छन् । उता, लमही अस्पतालबाट पनि सयजनाले यो सेवा लिएको पाइएको छ ।

एकदेखि पाँचजनासम्मको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेर बिमा गरेमा वार्षिक एक लाखको, ६ जनाको परिवारको हकमा ४२ सय रुपैयाँ तिरेमा एक लाख २० हजार बराबरको स्वास्थ्य सेवा तथा सोही अनुपातमा परिवार संख्याको अनुपातमा दुई लाख रुपैयाँसम्मको स्वास्थ्य उपचारसहित औषधिमा सहुलियत दिइएको छ । तर, ज्येष्ठ नागरिक, अपांगता भएकाहरूको हकमा भने यो सुविधा निःशुल्क गरिएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?