सिटीको विजयी सुरुवात

Read Time = 3 mins

लन्डन । म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२-२३ मा विजयी सुरुवात गरेको छ । सिटीले वेस्ट हृयाम युनाइटेडको मैदानमा २-० को जित दर्ता गर्‍यो । सिटीका लागि एर्लिङ हालान्डले दुवै गोल गर्नुभयो ।

उहाँले खेलको ३६औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । इल्काए गुन्डोगनको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै उहाँले गोल गर्नुभएको थियो । यस्तै दोस्रो हाफको ६५औँ मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर पार्नुभयो । केभिन डे ब्रुएनले दिएको थ्रो पासलाई हालान्डले अफसाइड ट्र्याप बिट गर्दै पहिलो टचमै फिनिस गर्नुभएको थियो ।

त्यसअघि सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले भने हार बेहोर्‍यो । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भएको हो । ब्राइटनको जितमा जर्मन मिडफिल्डर पास्कल ग्रसले दुई गोल गर्नुभयो । युनाइटेडका लागि एलेक्स मक्कलिस्टरले गरेको आत्मघाती गोल सान्त्वना साबित भयो ।

३०औँ मिनेटमा ड्यानी वेल्बेकको पासमा पास्कल ग्रसले गोल गर्नुभयो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पार्‍यो । डेविड डे हेयाले बचाएको रिबाउन्डमा ग्रसले सहजै गोल गर्नुभयो । खेलमा प्रशिक्षक एरिक टेन हागले फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा मैदान प्रवेश गराए पनि उहाँले गोल गर्न सक्नुभएन ।

अन्य खेलमा लेस्टर सिटी र ब्रेन्टफर्डले २-२ को बराबरी खेल्नुभयो । लेस्टरले २–० को अग्रता लिए पनि खेल जित्न सकेन । लेस्टरका लागि टिमोथी कास्टाग्न र किएर्नान देज्बरी हलले गोल गर्दा ब्रेन्टफर्डका इभान टोनी र जोस डा सिल्भाले गोल फर्काउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?