नेर्पा स्पोर्ट्स क्लबलाई उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । प्रथम केएफए अन्तरसंस्था पुरुष फुटबल प्रतियोगिताको प्रथम उपाधि नेर्पा स्पोर्ट्स क्लबले जितेको छ । खोटाङ फुटबल एकेडेमी (केएफए) ले आयोजना गरेको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा आयोजकलाई १-० ले हराउँदै नेर्पा स्पोर्ट्स क्लबले प्रथम उपाधि जितेको हो । १५ साउनदेखि माटिकोरे खेलमैदानमा जारी प्रतियोगितामा विद्युत् प्राधिकरणले वाक ओभर गरेपछि साकेला गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैजूले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ४४ हजार ४४४, २२ हजार २२२ र ११ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा जिल्ला अस्पतालले अनुशासित टिमको उपाधि हात पारेको छ । उत्कृष्ट गोलकिपर केएफएका सुरेश राई, उत्कृष्ट डिफेन्डर केएफएका भिषण राई, उत्कृष्ट मिडफिल्डर नेर्पा स्पोर्ट्स क्लबका अविरल राई, हाइस्कोरर जिल्ला फुटबल संघका सोनित राई, बेस्ट कोच नेर्पा स्पोर्ट्स क्लबका सरोज गुरुङ र प्लेयर अफ द टुर्नामेन्टको उपाधि नेर्पा स्पोर्ट्स क्लबका युवराज राईले पाउनुभएको छ ।

विधागत उत्कृष्ट खेलाडीलाई जनही दुई हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको सैजूले बताउनुभयो । विजेता टिम तथा खेलाडीलाई साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा कार्यालय, क्लब तथा संघसंस्था गरी २२ टिमको सहभागिता रहेको थियो ।

यस्तै, केएफएले भदौ १४ गतेदेखि १८ गतेसम्म जिल्ला र छिमेकी जिल्लालाई केन्द्रित गरी खुला जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता, पुस २० गतेदेखि ३० गतेसम्म खोटाङ दिक्तेल हलेसी गोल्डकप, माघ २५ गतेदेखि ३० गतेसम्म जिल्लाका विद्यालयका लागि विद्यालयस्तरीय छात्रछात्रा फुटबल र चैत १८ गतेदेखि २५ गतेसम्म मेयर कप क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता गराउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?