जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य

हिमालय टाइम्स
Read Time = 3 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । वर्षाको समय । पानी परेर चिप्लो भएको भिरको बाटो । बुट्यान र लहरालाई समाउँदै भिरपहराको बाटो छिचोलेर विद्यालय आजजाउ गर्न बाध्य म्याग्दीको धवलागिरि गाउँपालिका-४, मुदीको खाम्लाका विद्यार्थीहरूले अब भने सजिलो बाटो हिँडेर विद्यालय जान र घर फर्किन पाउने भएका छन् । विद्यार्थी र बटुवाहरूको यस्तो बाध्यतालाई मध्यनजर गरी खाम्लाका स्थानीय युवाहरूले श्रमदान गरेर पैदलमार्ग निर्माण गरिदिएपछि विद्यार्थी र बटुवाहरूले जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता हटेको हो ।

बर्खाको समयमा विद्यार्थीले जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता भएपछि स्थानीय खाम्ला युवा क्लबको पहलमा चार दिनसम्म श्रमदान गरेर पैदलमार्ग निर्माण तथा मर्मत गरिएको स्थानीय केशरी शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार ज्यानकै बाजी राखेर विद्यार्थी दैनिक विद्यालयमा आवतजावत गर्नुपर्ने बाध्यता भएपछि सामूहिक श्रमदान गरी पैदलमार्ग निर्माण तथा मर्मत गरेपछि अहिले विद्यार्थी र बटुवाहरूले सजिलो बाटो सुरक्षित तरिकाले आउजाउ गर्न पाएका छन् ।

सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिहरूले पदमार्ग निर्माण तथा मर्मतमा चासो नदेखाएपछि युवा क्लब आफैंले पदमार्ग निर्माण तथा मर्मत गरी सुरक्षित बनाएपछि बालबालिका र बटुवाहरूलाई सहज भएको छ । लगातार पानी पर्दा दैनिकजसो जोखिम मोलेर कलिला बालबालिकाहरू आवतजावत गर्नुपर्ने बाध्यता रहेको सो पदमार्ग निर्माण र मर्मतका लागि आगामी दिनहरूमा वडा र अन्य निकायबाट नै पहल हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बालबालिकालाई बर्सेनि विद्यालयसम्म जानसमेत जोखिम मोलेर यात्रा गर्नुपरे पनि सहज आवतजावतका लागि दीर्घकालीन व्यवस्थापन भने हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?