कृषि अभियानकर्मीद्वारा कृषिमन्त्रीको ध्यानाकर्षण

Read Time = 4 mins

काठमाडौं । खाद्यका लागि अभियानले कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिँदै सोसम्बन्धी नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका संयोजक उद्धव अधिकारी नेतृत्वको प्रतिनिधिमण्डले बिहीबार कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेपालको संविधानबमोजिम प्रदत्त नागरिकको खाद्य सम्प्रभुता तथा खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यले खाद्य तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ तर्जुमा गरिएको भए पनि ऐन आएको चार वर्षमा समेत नियमावली आउन नसकेको अभियानको गुनासो छ ।

त्यस्तै, राष्ट्रिय कृषि नीतिको समयसापेक्ष परिमार्जन, रसायन र विषादी प्रयोगबाट बिग्रिँदै गएको मानव र पर्यावरणको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकार तथा सम्बन्धित निकायले बेलाबखत भन्दै आएको प्रांगारिक कृषिको आधार निर्माण गर्ने कुरामा ढिलाइ भइरहेको अभियानका संयोजक अधिकारीले बताउनुभयो । त्यसैगरी राष्ट्रिय कृषि नीति, २०६१ परिमार्जन, एकीकृत कृषि ऐन तर्जुमालगायतका विषयमा पनि अभियानले ध्यानाकर्षण गराएको छ । सो अवसरमा मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यकता परिपूर्ति गर्न नसक्ने भन्दै लगानी बढाउनुपर्ने बताउनुभयो ।

नेपाल कृषिप्रधान देश र अधिकांश नागरिक कृषिमा आश्रित रहे पनि सरकारले कृषि क्षेत्रको प्रवद्र्धन र विकासका लागि आवश्यक लगानी गर्न नसकेको उहाँको भनाइ छ । किसानले पनि दिगो कृषिका लागि प्रांगारिक मलमा जोड दिनुपर्नेमा रासायनिक मलमा मात्रै जोड दिइरहेको उहाँले बताउनुभयो । रासायनिक मलका कारण बढीमात्रामा विदेशमा पैसा बाहिरिएको भन्दै प्रांगारिक मलको प्रयोगबारेमा सचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो । मन्त्री यादवले प्रतिनिधिमण्डललाई भन्नुभयो, ‘तपाईहरूको सुझाव सकारात्मक छ, त्यसमा हामी मन्त्रालयमा छलफल गरेर काम अघि बढाउने छौँ ।’

सोही अवसरमा खाद्यका लागि कृषि अभियानलगायत कृषि उद्यमीका संगठनहरूले पनि कृषि नीति, २०७७ को मस्यौदामा विभिन्न सुझाव दिएका छन् । सुझाव समूहले कृषि नीति परिमार्जन कार्यदलका संयोजक डा. हरिबहादुर केसीलाई दर्जनौँ सुझाव दिएको छ । सुझाव समूहअन्तर्गत खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गी, नेपाल पोल्टी व्यवसायी समूहबाट गुणचन्द्र विष्ट, कृषिविज्ञ तथा अभियानकर्मी डा. कृष्णप्रसाद पौडेल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल र गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जन हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?