नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज, सिट बाँडफाँटबारे पार्टीले आधिकारिक धारणा तय गर्ने

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको रस्साकस्सी चलिरहेको छ । मंसिरमा तय गरिएको निर्वाचनमा चुनावी तालमेल गरेर जाने औपचारिक निर्णय गरे पनि गठबन्धनका दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटिसकेको छैन ।

सिट बाँडफाँटको खाका तय गर्न गठित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटबारे छलफल गरिरहेको छ । बिहीबार बसेको कार्यदल बैठकले सिट बाँडफाँटको लागि तीन आधार तय गरेको छ । तय गरिएको आधारहरूमा २०७४ सालको निर्वाचनमा प्रत्यक्षमा पाएको मत र जितेको सिट, स्थानीय तह निर्वाचनमा प्राप्त मत, समानुपातिकमा पाएको मत र शीर्षसहित प्रभावशाली नेताहरूलाई संसद्मा ल्याउने रहेका छन् । तर, यी आधार निर्णायक विन्दुमा पुग्न सकेका छैनन् ।

गठबन्धनमा आबद्ध दलहरूले सिट बाँडफाँटमा आ-आफ्नै अडान राखिरहेको बेला गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज (शनिबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाउनुभएको हो । बैठकको मुख्य एजेण्डा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्ने रहेको छ ।

कांग्रेसले सत्ता गठबन्धनबीचको तालमेलमा प्रतिनिधिसभाका प्रत्यक्ष तर्फको १६५ मध्ये १०० सिट पाउनुपर्ने अडान राख्दै आएको छ । बैठकका एजेण्डाबारे जानकारी दिँदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिहरूको भेला लगायतका विषयमा छलफल हुनेछ ।’

गठबन्धनभित्र दलहरूले आफ्नो तर्फबाट दाबी प्रस्तुत गरिरहेको अवस्थामा कांग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गर्न बैठक बोलाइएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिनुभयो । बैठकले चुनावी अभियान सञ्चालनका सन्दर्भमा पनि निर्णय लिनेछ । यसअघि शीर्ष तहमा भदौ २ देखि सुरु गर्ने भनिएको अभियान ७ गतेदेखि २४ गतेसम्म गर्न शीर्ष तहमा सहमति भएको छ । सो सहमतिलाई कार्यसम्पादन समितिले अनुमोदन गर्ने बताइएको छ ।

इतर समूह फेरि असन्तुष्ट, बोलायो छुट्टै बैठक
नेपाली कांग्रेसभित्र संस्थापन इतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफूपक्षीय नेताको बैठक बोलाउनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले इतर समूहलाई निरन्तर पेल्दै गएको र पार्टीभित्र कुनै सरसल्लाह नगरीकनै अघि बढेको भन्दै कोइराला समूहले छुट्टै बैठक बोलाएको हो । सभापति देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाउँदै आएको शेखर समूहका नेताहरूले यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन आफूपक्षीय बैठक बोलाएको जानकारी दिएका छन् । आज (शनिबार) दिउँसो बस्ने बैठकमा इतर समूह निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।

सभापति देउवाले पार्टीका पाँचवटा भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेट्नुभएको छैन । देउवाले नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गर्नुभएको छ । कोइराला समूहले सुरुमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै, किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूहको नेतृत्व चयन भएको छैन । बिहीबार सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनीत गर्नुभएको छ । यसअघि पार्टीका भ्रातृसंस्थाहरू नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र किसान संघको अध्यक्षमा गणेश तिमिल्सिनालाई मनोनीत गर्नुभएको थियो । त्यसैगरी, आदिवासी जनजाति संघको अध्यक्षमा ओम थापा मगरलाई मनोनीत गरिएको थियो ।

कुनै पनि भ्रातृ संस्थाको नेतृत्व चयनका बेला आफूहरूलाई जानकारी नगराएको र आफ्नो समूहका कसैलाई पनि भाग नदिएको कोइराला समूहको गुनासो छ । सभापति देउवाले पार्टीलाई एकलौटी चलाएको आरोप लगाउँदै त्यसविरुद्ध कोइराला समूहले निरन्तर आफूपक्षीय भेला राख्दै आएको छ । कोइराला समूह देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थिति बनाएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुग्ने नेताहरूको भनाइ छ ।

चुनावी अभियान कार्यक्रम हेरफेर
नेपाली कांग्रेसको आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव केन्द्रित पूर्व-निर्धारित चुनावी कार्यक्रममा हेरफेर भएको छ । यसअघि कांग्रेसले आगामी भदौ २ देखि देशभर चुनावी अभियान सञ्चालन गर्ने तय गरेको थियो । तर, उक्त मितिलाई परिवर्तन गरेर ७ गते पु¥याइएको छ । महामन्त्री गगन थापाले चुनावी अभियान कार्यक्रम हेरफेर गरिएको भन्दै अब भदौ ७ देखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । यसअघि साउन २ गते सम्पन्न केन्द्रीय समिति बैठकले भदौ २ देखि २४ गतेसम्म आगामी चुनाव लक्षित कार्यक्रम सञ्चालन गर्ने तय गरेको थियो । कार्यसम्पादन समिति बैठकबाट निर्वाचन लक्षित कार्यक्रमको औपचारिक तालिका तय हुने बताइएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनाव अघि पनि कांग्रेसले एकमहिने निर्वाचन अभियान सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?