राजेन्द्र अर्यालको आजको मान्छे : हेर्दा यस्तै देखियो

Read Time = 16 mins

✍️ तिलकप्रसाद लुइटेल

१८ गते बुधबारको अंकबाट क्रमशः
वर्तमान भन्ने शब्द समय, व्यक्ति, घटना, स्थान आदिभन्दा बढी आफू स्वयं हो । वर्तमानलाई छल्छु वा दिन्छु भन्नु आफूमाथि नै गरिने व्यवहार हो । क्षणभरको त्रुटिले जीवनभर पछुताउनुपर्ने र उपस्थित समयको बुद्धिमत्ताले सधैँका लागि सुख सन्तोष पाइने उदाहरणहरू धेरै पाइन्छन् । ‘अविवेकी वर्तमानहरू’ शीर्षकको कविताभित्र वर्तमानमै विवेक पुर्‍याउने आशय- ‘खोलो तर्‍यो लौरो बिस्र्यो... कति अविवेकी प्रत्येक वर्तमानहरू ।’

भ्यागुताका लागि हिलो नै रुचिकर हुन्छ, माछाका लागि पानी नै चाहिन्छ, न्यानो ओछ्यान तिनलाई होइन । जन्मेकै ठाउँमा जीवन हुन्छ जन्मेकै ठाउँमा उसको पोषण हुन्छ । ठाउँ छोडेपछि दाँत, केस, नङ र मानिसको पतन हुन्छ र त्यो ठाउँ पनि विरूप हुन्छ । देश छोडेर परदेशमा बसेका मानिसको मनले केही कुरामा सन्तोष पाए पनि केही कुरामा यसरी नै विषाद मानेको हुन्छ भन्ने विषय ‘मन बस्न मान्दैन’ शीर्षकको कवितामा- ‘जन्मेको ठाउँ प्राण नै सरी... मस्र्याङदी सुसायो ।’

समाजको मानिस धनी गरिब, पठित अपठित होला तर आमाको सम्बन्ध सबैसँग एकै हुन्छ । राजा रङ्क सबैका आमालाई सन्तान जन्मिँदा खुसी उस्तै र माया उति नै हुन्छ । आफ्नी आमा राम्री नदेखेर अर्काकी राम्रो देख्ता सर्वनाश हुने पनि उति हो । ‘आमा’ शीर्षकको कविताले- ‘तुलना गर्न योग्य... बेघरकी हुनै नपरोस् ।’

मानिसले जति बेला जुन कामको निर्णय गर्छ, त्यो बेला उसलाई त्यही ठीक लाग्छ र पछुताउँदा जति ज्ञान पाएको हुन्छ, त्यो ज्ञान पहिले नै हुने हो भने उसले गल्ती गर्दैन ।

कसैले समस्यालाई अवसर देख्छ, कसैले अवसरलाई समस्या भन्छ । एक्लो सिंह निडर भएर हिँड्छ भने बथानको स्याल डराएको हुन्छ । हतियार, कोष, सेना, प्रहरीले सम्पन्न शासक जनतासँग डराउँछ, निहत्था जनताको स्वर नै सत्ता हल्लाउँछ । द्वन्द्व त दुई पक्षको अवश्यम्भावी हो तर डराएर भाग्नेको समाप्ति निश्चित हुन्छ सामना गर्दा विजयको सम्भावना हुन्छ । ‘कालो बादलमा चाँदीको घेरा’ शीर्षकको कवितामा- ‘अमानवतावादी सोचको... मानव सृष्टि गर्ने जननीहरूको ।’

रूखमा उँधोमुन्टो भएर झुण्डिएका चमेराले आफूलाई सकारात्मक देख्छ । अर्काले सुल्टो बन्न दिएको सुझाव र शिक्षा उसलाई पाच्य हुँदैन । करेलालाई खुदोमा पकाए पनि तितो हराउँदैन, खुर्सानीको पिरो मासिँदैन । त्यो प्रकृतिको स्वभाव भयो । मानिसले सामाजिक व्यवहारमा अर्कालाई बाधा पर्ने काम गर्छ र करेलाको वा चमेराको स्वभाव बसेको हुन्छ भने त्यो घातक हो । ‘नालायक’ शीर्षकको कवितामा- ‘आमा बुबा अनुज रुवाइ... प्रतिनिधि ऊ नालायकको ।’

प्रकृतिले नौलो भाव र स्वभाव देखाउँदा मानिसलाई जहिले नयाँ प्रभाव पर्छ, त्यस ठाउँको नयाँ वर्ष त्यही हो जस्तो लाग्छ, नेपालमा वैशाख एक गते नयाँ वर्ष मनाउँदै गर्दा । प्रकृति परिवेश नै नौलो, मानिसको चिन्तन र सोचविचार नै नौलो गराएको हुन्छ । वर्ष नयाँ मनाइकन जीवनले पनि नयाँ दिशा लिन सकेको अवस्थामा नयाँ वर्षको सार्थकता यही हो । ‘नयाँ वर्षको कामना’ शीर्षकको कविताका हरफहरूले- ‘गौतम बुद्ध बनेर आऊ ...निरन्तर सीमित रहे ।’

मानिसले जति बेला जुन कामको निर्णय गर्छ, त्यो बेला उसलाई त्यही ठीक लाग्छ र पछुताउँदा जति ज्ञान पाएको हुन्छ, त्यो ज्ञान पहिले नै हुने हो भने उसले गल्ती गर्दैन । आफूले गरेका कामको नतिजा फेला परेपछि त्यो भुल थियो वा सही थियो भन्ने निधो हुन्छ । ‘त्यो तिम्रो भुल हुनेछ’ शीर्षकको कविता यसै विषयमा सचेत गराउने प्रयास हो । यस कविता हरफहरूमा- ‘यो मेरो जिन्दगीलाई... अवश्य जलाउने छ ।’

नेता र नीति कैयौँ बार फेरिए तर त्यसले नियति बदलिन सकेन, किनभने त्यहाँ नियत बदलिएको पाइएन । राजनीति र धर्मको लक्ष्य जीवनलाई सहज दिशामा लैजाने हो । जीवन र जीविकासँग सरोकार राख्ने, त्यसको अध्ययन गर्ने शिक्षाले तिनलाई सही बाटो देखाउँछ । अशिक्षाले अँध्यारो छाउँछ तर कुशिक्षाले सर्वनाश गर्छ । ‘जनताको कण्ठहार’ शीर्षकको कविता यस्तै कुरामा- ‘कुनै निरङ्कुश देवता... जनताको कण्ठहार बनेको छ ।’

योजना बनाउनु मनको धन्दा हो । क्रियात्मक रूप दिनका लागि ठोस वस्तुको आवश्यकता पर्छ । ठोस वस्तुको कुशल र व्यवस्थित संयोजन नभए रूपका ठाउँमा कुरूप हुन्छ र सफलता हात लाग्ने कुरै हुँदैन । हातमा भएको औजारले खेतको डल्ला पनि फोर्छ र चलाउने सीप नपुग्दा घुँडाको पाङ्ग्रो पनि खुस्काउँछ । कर्म आफ्नै हो, कर्मले सीपको अपेक्षा गर्छ । ‘आफ्नै गर्दन रेट्नेहरू’ शीर्षकलाई हेरौँ । त्यस कवितामा- ‘आज उनी ढाँट- ... प्रख्यात बिम्ब भएका छन् ।’

पुण्यफल खोज्ने मान्छे पुण्यको कर्म गर्न आँट गर्दैन । डुम्री रोपेर आँपको अपेक्षा गर्न सुहाउँदैन । आफूतिर फर्केर हेर्न नभ्याएका मानिसलाई उत्तर आफूसँगै छ भन्ने लक्ष्य गरिएको हुनुपर्छ । आफू जिम्मेदार भएपछि अर्काका जिम्मेदारीको कुरो गर्न सुहाउनेतर्फ सङ्केत भएको ‘तासको घर’ शीर्षकका कवितामा- ‘किन यति कमजोर... आकाशमा नै बिलाए ।’

धन सकिए फेरि कमाउँला तर चरित्र सकिए कहाँबाट ल्याउँला ? असल बन्ने शिक्षा आमा बाले दिएका छन् । समाजमा अर्काका छोराछोरी पनि असल नै भए कुरै सकियो । अर्काकाले असल बन्न नसिकेका भए असर कसलाई पर्छ भन्ने पनि थाहा भएकै कुरो हो । समाजमा अर्कासँग जोगिनका लागि समय सुहाउँदो शिक्षा कताबाट ल्याउने । शिक्षित हुँदा हुँदै पनि शिक्षितहरूबाट समाजमा परेको असर देखिएकै छ । ‘नमीठो रीत’ शीर्षकको कविता पठनीय छँदै छ । यसमा अझै- ‘आफ्नो छाप्रोलाई... इलम बेच्नू, इमान नबेच्नू ।’

भोकतिर्खा, थकाइ, निद्रा हरेक व्यक्तिको निजी हो । आफैँले पूरा गर्ने उपक्रम नगरी प्राणीलाई सुखै छैन । अवसर छउन्जेल मानिस अनुशासनमा बस्छ । कठिन अवस्था आएपछि पालन गरेको अनुशासनलाई तिलाञ्जलि दिन्छ । बाटामा खसेको ठूलो पैसो टिपेपछि भिखारीलाई बाँडिदिन्छ कि खल्तीमा हाल्छ ? यस कुराले प्रेमको परीक्षा गर्छ । व्याख्या अर्को कुरो हो । ‘प्रेम’ शीर्षकको कवितामा- ‘ब्रहृमाण्डमा हरेक जीवहरूले... चर्चा र विवेचना ।’

जन्ममृत्युको प्रवाहलाई देखिआएका मानिसले आफू कहाँनिर छु भन्ने हेरिन्छ । आफूलाई भेट्नका लागि कर्मको रेखा कोरिन्छ । ‘खरानी’ शीर्षकको कविता हेरियो । खरानी त अवशेष हो, ज्यानलाई खरानी बनाउनका लागि नै कर्ममा लागिपरेको छ मानिस । काँचो मकै एक घोगा आजको दाममा दस रुपियाँमा पाइन्छ तर पोलेपछि त्यसको मूल्य पच्चीस रुपियाँ पर्छ । आफूलाई मूल्यवान् बनाउन पाक्नुपर्छ । खरानीसँग मिल्ने हिम्मत राख्नुपर्छ भन्ने यस कवितामा- ‘दुःखको कारण तृष्णा... अहम् फाल्न सक्छ ।’

गधा, गोरु, हात्ती, घोडाले पनि परिश्रम गर्छन्, तिनलाई परिश्रम मानिसले गराउँछ र बाध्यता परेर गर्छ । मानिस पनि परिश्रम गर्छ, उसलाई गाँसबासले परिश्रम गराउँछ । महत्वाकाङ्क्षा र स्वाभिमानले गराउँछ, उसका परिश्रममा नामको भोक रहन्छ । आफू मरिसकेपछि पनि आफ्नो नाम र परिश्रम जिउँदो रहोस् भन्ने मानिसको आशा हुन्छ भन्ने कुरो ‘परिश्रम’ शीर्षकको कवितामा- ‘जीवनप्रतिको आशा र... क्रूर समयले निचोरेर ।’

पहिचान र स्वाभिमान गुमाएर देशलाई धुल्याउनेहरू पनि हाम्रा नजिकै नभएका होइनन् । त्यही पहिचान खोज्छु भन्नका लागि संस्कृति मासेर बाँचेकाहरू सास खुस्काएर शरीरलाई आफू भन्दै छन् । पहिचान र स्वाभिमानका लागि देशले बाँच्न मात्रै होइन, मर्न पनि प्रेरित गर्छ । ‘देशसँगै’ शीर्षकको कवितामा- ‘संस्कृतिको दैलो उघार्दै... देश हरपल गुन्जिरहेछ ।’

पहिचान र स्वाभिमान गुमाएर देशलाई धुल्याउनेहरू पनि हाम्रा नजिकै नभएका होइनन् । त्यही पहिचान खोज्छु भन्नका लागि संस्कृति मासेर बाँचेकाहरू सास खुस्काएर शरीरलाई आफू भन्दै छन् । पहिचान र स्वाभिमानका लागि देशले बाँच्न मात्रै होइन, मर्न पनि प्रेरित गर्छ ।

भावना साटेर नै मानिसले हरेक समस्याको समाधान खोज्ने हो । बोलिरहेका मानिसको कुरो अगाडि बस्नेले सुन्दैन भने फुटबल हेर्ने ठाउँमा बसेर अन्यत्र हेरेको जस्तै हो । यथार्थ रूपले सुन्ने, हेर्ने, पढ्ने र मनन गर्नेले नै समयको आनन्द वास्तविक रूपमा लिन सक्छ । अन्यमनस्क भएर अगाडि उभिनेले समय मात्रै खेर फालेको हुन्छ । त्यस्तो परिश्रमलाई मरुभूमिमा पानी खन्याएको जस्तै मान्दा पनि अन्यथा नहोला । बुझ्नका लागि पढेको कविता मात्रै सार्थक हुन्छ भन्ने भावसँगै ‘कविता नलेख्ने कसम खाँदै छु’ शीर्षकको कविताभित्र- ‘कविता त म पनि... कविताले दुनियाँ बुझाउँछ ।’

विश्वास नाम दिएर पुकारिने अमूर्त, रूपहीन, रङ्गविहीन व्यवहार पनि सायद जीवन्त रहेछ । उसको समाप्तिपछि कसैले सास फेरेको होस् वा नहोस् मृतक समान मान्दा हुन्छ । प्रत्यक्षलाई प्रमाणको के आवश्यकता छ र ? आज अस्ताएको घाम भोलि झुल्किन्छ, झुल्किएको घाम अवश्य अस्ताउँछ । उदास जिन्दगी शीर्षकको कविता हेर्दा- ‘आँसुमा तैरिएको यो... चुपचाप छु म आज ।’

भोगिरहेका दुःखमा पनि सन्तोषको अनुभव हुन्छ, सन्तान जन्माउँदाको आमाको पीडा जस्तो, पाइरहेका सुखमा पनि सन्तोष हुँदैन, कैदीले पिएको मदिरा जस्तो । कैयौँ दुःखद क्षणहरू भोगिरहेका बेलामा सामान्य लाग्छन् तर पार गरिसकेर फर्केर हेर्दा आफैँलाई ताजुब लाग्छ । मानिसका स्वभावमा कुनै बेला आफूलाई भएन त के भयो र ? अर्कालाई हुन्छ नि, भनेर सन्तोष गर्ने व्यवहार हुन्छ, कसैमा मलाई भएन भने अर्कालाई किन हुन दिन्छु र ? भन्ने पनि हुन्छ । को ठीक र को बेठीक भन्ने स्वतन्त्रता कुरो सुन्नेकै हो । नातिको अन्नप्राशनको अवसरमा लेखिएको शुभकामना शीर्षकको कवितामा- ‘एउटा असल मान्छे... धरा उज्यालियोस् ।’

जीवनको भरोसा छैन, यथार्थ यही हो । यसमा असल कर्मतिर ध्यान दिने कि सुख, ऐस आराम खोज्नमा ध्यान दिने ? रुचि आआफ्नो हो र दुवै उस्तै सत्य हो । दुवैको प्राप्ति कमैलाई मिल्ला । मर्नकै लागि जन्मिएको हुनाले मौकामा सुखभोग गरिहालौँ, उम्केको मौका पर्खंदैन भन्ने पनि मान्छेकै सोच हो र जीवन पाएपछि कर्तव्य पूरा गर्नुपर्छ भन्ने विचार गर्नु पनि मानिसकै रूचि हो । मरेपछि संसार छोडेर जाँदा बदनाम छोडेर गए पनि आफूले देखिँदैन भन्ने वा मरेपछि नाम बाँच्यो भने देश, जाति र आफ्नै सन्तानले सम्मान पाऊलान् भन्नु पनि आफ्नै विचार हो । अन्त्य पर्खिरहेछु शीर्षकको कविता पढियो- ‘कमजोर अङ्कुशेमा... अन्त्य पर्खिरहेछु ।’

राजेन्द्र अर्यालको आजको मान्छे : हेर्दा यस्तै देखियो
थप सामग्री : https://ehimalayatimes.com/2022/08/31021/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?