किसानले तरकारी बेच्न बनाएको टहरामा व्यापारीको रजाइँ

Read Time = 7 mins

-संजीवकुमार मिश्रा
बारा । लामो समय देखि कोरोनाले थलिएको अर्थतन्त्र अहिले बल्लतल्ल जुर्मुराउन शुरु गरेको छ । त्यसमा पनि कृषिमा लागेका किसानहरुले समयमै विउ विजन, मलखाद्य नपाएर जेनतेन निकै मिहिनेत गरि उब्जाएको समान समेत विक्री वितरण गर्न ठाउँ नपाउँदा दुखित बनेका छन् ।

उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, त्यसमाथि किसानले पाएको शेडमा व्यापारीहरुको कब्जा बढेपछि व्यापारीहरुको मनोमानीले कृषकहरु आहत भएका छन् ।

किसानले निकै मिहिनेत गरेर फलाएको तरकारी बेचेर केही कमाउने सोचका साथ कलैया उपमहानगपरपालिका १ स्थित कलैया बजारमा किसानहरुको लागि बनाइएको सेड (तरकारी बेच्न बनाइएको टहरा) मा बेच्न ल्याउँदा व्यापारीहरुले शेड नै कब्जा गरी आफूहरुलाई दुःख दिने गरेको कलैया उपमहानगरपालिका ११ का किसान रामएकबाल प्रसाद कुशवाहाले गुनासो गर्नुभयो ।

हामी किसानहरुले किसानहरुको घर घरमा पुगी चन्दा संकलन गरी शेड निर्माण गर्यौ, कुशवाहाले भन्नुभयो,‘शेड निर्माणको लागि हरेक किसानले २ हजार देखि १० हजारसम्म चन्दा दिएका छौ । त्यही चन्दाबाट किसानहरुको लागि सेड निर्माण भयो । तर सेडमा व्यापारीहरुको रजाइँ बढेको छ । व्यापारीहरुले आफनो समानको रक्षाको लागि बनाएको बासको टाटी, साइकल, तरकारीको बोराहरु राखी किसानहरुको लागि बनाइएको शेडमा राखेर कब्जा गरेका छन् । किसानहरुको लागि बनेको सेडमा तीनै तर्फबाट व्यापारीहरुले कब्जा गरेका छन् । एकातिर मात्र हामीले आफनो समान राखी विक्री वितरण गर्न पाएका छौ । दिनहुँ जसो शेडको लागि झै झगडा हुने गरेको उहाँले बताउनुभयो ।’
पटक पटक शेडलाई लिएर हुने गरेको झै झगडाको बारेमा कलैया उपमहानगरपालिकालाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो ।

हामी तरकारी लिएर बजार आउँदा आउँदै ११/१२ बज्छ कलैया उपमहानगरपालिका ११ का अर्का किसान उमेश रामले भन्नुभयो,‘ हामी आउनु भन्दा अगाडी नै यहाँका ब्यापारीहरुले हाम्रो सेड अतिक्रमण गरिसकेका हुन्छन । उनीहरुलाई आफनो सरसमान हटाउन भन्दा झै झगडा गर्न आउँछन् । दिनहुँ जसो झै झगडा नभई समान राख्न र बेच्न समेत समस्या हुने गरेको छ । सम्बन्धित निकायलाई समस्याको बारेमा भन्दा समेत कुनै सुनुवाई हुँदैन । हामी कहाँ जाने को सँग गुहार गर्ने ? हाम्रो समस्या कसैले सुन्दैन । पटक पटक उपमहानगरपालिकालाई गुनासो गर्दा एक दिन आएर सबैलाई हटाउँछन् भोलि देखि फेरि समस्या जस्ताको त्यस्तै हुन्छ, हामी बाध्य भएर सानै ठाउँमा कोच्चिएर समान बेच्नु परेको उहाँले बताउनुभयो ।’

खेतबाट टिपेर ल्याएको ताजा तरकारी र बजार भाउ भन्दा सस्तो मूल्यमा पाउने भएकोले ग्राहकहरुको भिडभाड बढने गर्दछ । ग्राहकहरुको भिडभाड बढदा उभिन सक्ने स्थान हुँदैन कलैया उपमहानगरपालिका १२ शितलपुरका किसान श्रीलाल प्रसाद कुशवाहाले बताउनुभयो । हाम्रो समान उनीहरु भन्दा अगाडी विक्री वितरण हुने भएकोले समेत उनीहरुलाई डाहा हुने गर्दछ र जसरी पनि बजारबाट हामीलाई धपाउने कोशिशमा बजारका व्यापारीहरु लागि परेको उहाँले जानकारी दिनुभयो ।

दिनहुँजसो हुने झै झगडा र अतिक्रमणबाट छुटकारा दिलाई शान्त वातावरणमा आ–आफनो ठाउँमा बसी व्यापार व्यवसाय संचालन गर्न गराउन वातावरण बनाई दिन शम्भु प्रसाद साह कानु, दिनानाथ महतो, जोखु साह लगायतका किसानहरुले सम्बन्धित निकायसँग माँग गर्नु भएको छ ।


बजार व्यवस्थापनको प्रक्रिया अगाडी बढाइएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताउनुभयो । क्रमबद्ध रुपमा बजार व्यवस्थापनको प्रक्रिया अगाडी बढाइएको छ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा सरसफाई, नाला ब्यवस्थापन लगायतको प्रक्रिया अगाडी बढाइएको छ र किसानहरुको समस्या चाँडै नै सम्बोधन गरिने उहाँले जानकारी दिनुभयो ।’

फोटो: कलैया उपमहानगरपालिका १ स्थित कलैया बजारमा किसानको लागि निर्माण गरिएको सेडको एक कुनामा तरकारी बेच्दै किसानहरु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?