टानमा अध्यक्ष बास्तोलासहित प्यानलै विजयी

Read Time = 3 mins

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित हुनुभएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धनका उम्मेदवार बास्तोलासहितको प्यानल नै विजयी भएको हो । वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा विजयी हुनुभएको छ भने सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमल्सिना र सहकोषाध्यक्षमा छिङदोर्ची शेर्पा रहनुभएको टानले जनाएको छ ।

महिला सदस्यमा सजना त्रिपाठी र खुला सदस्यमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नमिनाथ देवकोटा, सुवास भण्डारी र लाक्पा दोर्जी शेर्पा हुनुहुन्छ । टानको सोमबार सम्पन्न ४४औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट बास्तोला छ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको हो भने प्रतिस्पर्धी रामप्रसाद सापकोटाले दुई सय ६४ मत प्राप्त गर्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचनका क्रममा प्रस्तुत २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथमिकतासाथ लाग्ने पनि उहाँले बताउनुभएको छ । टानलाई समयसापेक्ष बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गरिने बास्तोलाको भनाइ छ ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिने टानले जनाएको छ । टानमा एक हजार आठ सय ५० व्यवसायी आबद्ध रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?