ललितपुर हाई बास्केटबलको फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ललितपुर हाई प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलामा फाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आइएसए नेपाललाई ५०-२६ ले पराजित गर्‍यो । ललितपुरका ममता गुरुङ र अस्मिता थापाले समान १३-१३ अंक जोड्नुभयो ।

ललितपुर एक खेलअगावै फाइनलमा पुगेको हो । आइएसए नेपालको लगातार दोस्रो पराजयसँगै आयोजक नखिपोट पनि फाइनलमा पुग्न सफल भयो । चार टिम सहभागी राउन्ड रोबिन लिगमा अब ललितपुर र नखिपोटको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

पुरुषमा रोयलले कीर्तिपुरलाई ७७–६३ ले हरायो । रोयलका निकेश मगरले २६ स्कोर गर्नुभयो । पहिलो क्वाटरमा १६-१० को अग्रता लिएको रोयलले अन्तिमसम्म अग्रतालाई कायम राख्यो । रोयलले दोस्रोमा २०-१४, तेस्रोमा १९-१८ र चौथोमा २२-२१ को प्रदर्शन गर्‍यो ।

यता आयोजक बौद्ध इन्टरनेसनल स्कुल पाँचौँ बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सेमिफाइनलमा प्रवेश गरेको छ । अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले मेरिडियन इन्टरनेसनल स्कुललाई २५-१४ ले पराजित गर्‍यो । विजेताकी सब्रिना पन्तले १५ अंक जोड्नुभयो ।

गल्र्समै निस्ट, चाँदवाग र ड्याफोडिलले पनि सेमिफाइनल यात्रा तय गरे । निस्टले निसर्ग वाटिकालाई ३२-१३ ले हरायो । निस्टकी पूर्णिमा बरालले १० अंक जोड्नुभयो । चाँदवागले भेनसलाई २४-११ ले पाखा लगायो । चाँदवागकी अन्सु गुरुङले ८ स्कोर गर्नुभयो । ड्याफोडिलले विद्यासंस्कारमाथि ३५-३४ को कठिन जित दर्ता गर्‍यो । ड्याफोडिलकी उर्जा मगरले १४ अंक जोड्नुभयो ।

सेमिफाइनलमा निस्टले बौद्ध तथा चाँदवागले ड्याफोडिलविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजको सेमिफाइनल नेमोनिक र युरो तथा प्रिमियर र बुद्ध एकेडेमीबीच हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?