ग्रिल उद्योगी र श्रमिकलाई सचेतना तालिम

Read Time = 3 mins

दमक । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपाल र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको सहकार्यमा ग्रिल तथा स्टिल व्यवसायी सङ्घ दमक इकाई समितिभित्रका ग्रिल उद्योगी र ग्रिल श्रमिक तीनदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दमक नगरपालिकाका मेयर राम थापाले दमक नगरभित्र सञ्चालित ग्रिल उद्योगलाई व्यवस्थित गरी सुरक्षित एवम् वातावरणमैत्री उद्योग सञ्चालनका लागि तालिमबाट सहयोग पुग्ने बताउनुभएको छ । उहाँले दमक नगरपालिकाभित्र अवैधरूपमा सञ्चालित ग्रिल उद्योगलाई सहजरूपमा कानुनी दायरामा ल्याउने र दायरामा आउन नचाहनेलाई निरुत्साहित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई प्रसाईंले ठुलो सङ्ख्यामा रोजगारी प्रदान गर्दै आएको नगरपालिकाभित्रका ग्रिल उद्योगीका समस्या समाधान गरी व्यवस्थितरूपमा सञ्चालन गर्ने वातावरण बनाइने बताउनुभयो ।

ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी ज्ञान नहँुदा बर्सेनि अकालमा ज्यान गुमाउने, अङ्गभङ्ग हुनेको सङ्ख्या बढिरहेका बेला तालिमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नुका साथै उद्योग व्यवस्थित र स्वच्छ वातावरणमैत्री बनाउन, कार्यस्थल सुरक्षित बनाउन टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा महासङ्घका पूर्वसदस्य विमल नेपाल, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र प्रमुख उमेश यादव, दमक इकाई समितिका अध्यक्ष गोपाल दाहाल, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठ, सङ्घका पूर्वउपाध्यक्ष नवीन सेडाईलगायतको उपस्थिति रहेको थियो । २५ जनाको सहभागिता रहेको तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?