साउनमा दुई अर्बको विद्युत् निर्यात

Read Time = 6 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना अर्थात् साउनमा झण्डै दुई अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउनमा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् निर्यात गरेको हो ।

निर्यातबाट साउनमा औसतमा दैनिक पाँच करोड ९३ लाख रुपैयाँ आर्जन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले चालु आवको साउनमा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात गरेको छ ।

प्राधिकरणका अनुसार सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिकरूपमा आइएक्समा बिक्री गरिएकोमा २७ जेठदेखि दैनिकरूपमा छवटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट बिक्री हुँदै आएको छ ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ । गत आव २०७८/०७९ मा तीन अर्ब ८८ करोडको विद्युत् निर्यात भएको थियो । ढल्केबर-मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत् विद्युत् निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोसी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको कुल सात सय ३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।

थप एक सय ११ मेगावाट निर्यात प्रस्ताव
प्राधिकरणले वर्षायामको थप एक सय ११ मेगावाट विद्युत् आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले विभिन्न चार जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत् निर्यात सुरु हुने बताइएको छ । प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरेको छ । कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत् आदान-प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत् उत्तर बिहार पावर वितरण कम्पनीबाहेकका निकायलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायसँग पहल भइरहेको छ ।’

प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याहृन १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत् प्रणालीमार्फत् तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ । प्रतिस्पर्धी दर तयपछि रातीको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ । प्राधिकरणतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत्् व्यापारका लागि तोकिएको सम्पर्क निकाय (नोडल एजेन्सी) एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) ले गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?