रौतहट-१ मा पूर्व-प्रधानमन्त्री नेपाललाई टक्कर दिँदै पूर्व-मेयर गुप्ता

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । पूर्व-प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आसन्न निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको छ । अध्यक्ष नेपाल यसअघि काठमाडौं निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्दै आउनुभएको थियो । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर २ असुरक्षित देखेपछि अध्यक्ष नेपाल यसपटक रौतहट नै फर्किएको राजनीतिक वृत्तमा टिप्पणी छ । तर, अध्यक्ष नेपाल भने उक्त कुरा अस्वीकार गर्दै काठमाडौं र रौतहट पालैपालो गर्नका लागि आफू फर्किएको जिकिर गर्नुहुन्छ ।

त्यसअघि नेपाल २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रौतहट १ र काठमाडौं क्षेत्र नम्बर २ बाट नेकपा एमालेको उम्मेदवार बन्नुभएको थियो । ०६४ को निर्वाचनमा दुवै क्षेत्रबाट पराजय बेहोर्नुभएका नेपाल ०७० को निर्वाचनमा भने दुवै क्षेत्रबाट निर्वाचित हुनुभयो । त्यतिबेला एक निर्वाचन क्षेत्र रोज्दा नेपालले रौतहट रोज्नुभएको हो ।

आसन्न निर्वाचनमा भने नेपालले काठमाडौं २ दोहोर्‍याउन चाहनुभएन । गत वैैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं २ मा एकीकृत समाजवादीको मत निकै कमजोर देखिएको थियो । रौतहट १ मा भने स्थानीय तहको परिणाम हेर्दा एकीकृत समाजवादी पहिलो पार्टी देखिन्छ । रौतहट क्षेत्र नम्बर १ मा स्थानीय चुनावमा तेस्रो पार्टीको हैसियत पाएको लोसपा पनि गठबन्धनमा सामेल गरेपछि नेपाललाई झनै सहज हुने विश्लेषण भइरहेको छ ।

माधव भर्सेस अजय
पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालको उम्मेदवारीको कारण पनि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी रौनक चुलिँदो छ । अध्यक्ष नेपालसहित अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न चोक र पायक पर्ने स्थानमा चुनावी सभा सहितका कार्यक्रम दिनप्रतिदिन भइरहेका छन् ।

ठाउँठाउँमा मञ्च बनाएर त्यस क्षेत्रका जनतालाई भेट्न पुग्ने र त्यहीँ भाषण गर्ने रौतहट क्षेत्रमा चुनावी प्रचार-प्रसारको शैली अपनाइएको छ । उम्मेदवारलाई भोट माग्ने चटारो भए पनि मतदाताहरू भने आफ्ना समस्या सुनाइरहेका छन् । रौतहट निर्वाचन क्षेत्रका मतदाताको मुख्य माग कृषकका लागि जमिन मुनिबाट पानी तान्ने मेसिन, बिजुली र मल–बिउ रहेको छ । अध्यक्ष नेपाल सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । नेपालसँग पूर्व पार्टी एमालेका अजय गुप्ता जसपाको समर्थनसहित मूल प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ ।

नेपालसँग उक्त संगठनमा पार्टीको बलियो संगठन र सत्तारूढ गठबन्धनका अन्य दलको साथ छ । अर्का प्रतिस्पर्धी अजयकुमार गुप्तालाई एमाले, आफ्नो पूर्व पार्टीको व्यक्तिगत सम्बन्धनको मत र जनता समाजवादी पार्टी (जसपा)को साथ रहनुका साथै दुईपटक गौरको मेयर बनेर स्थानीय जनतासँग परिचित भएको फाइदा छ । तर, प्रधानमन्त्री भइसकेको प्रतिस्पर्धीसँगको चुनावी लडाइँ गुप्ताको लागि फलामको च्यूरा चपाउनुसरह भएको राजनीतिक वृत्तमा चर्चा छ । यद्दपि, मुख्य प्रतिस्पर्धी दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आउनुभएको छ ।

गठबन्धनको विकल्प अरू कसैले नसोचे पनि हुन्छ : नेपाल
गठबन्धनको साथ र आफ्नै पार्टीको बलियो संगठनका कारण अध्यक्ष नेपाल उत्साही देखिनुभएको छ । राम्रो गतिका साथ, उत्साहजनक जनसहभागिता र जनप्रतिक्रियाका साथ अगाडि बढिरहेको जिकिर गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘जनताले हामीबाट धेरै आशा र अपेक्षा गरेका छन् । त्यो अवस्थामा वाम लोकतान्त्रिक गठबन्धनका हामी उम्मेदवारहरू विजयी हुन्छौँ । आम किसानदेखि लिएर, व्यवसायी, मजदुर, महिलादेखि लिएर बुद्धिजीवीहरूसम्म सबै तहका जनताले मलाई अत्यन्तै माया गरेका छन् ।’

सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताहरूले प्रतिस्पर्धी उम्मेदवार गुप्तालाई अवसरवादी व्यक्तिको भएको भन्दै चुनावी एजेण्डा नै बनाएका छन् । प्रतिस्पर्धी उम्मेदवारप्रति संकेत गर्दै नेपालले भन्नुभयो, ‘महिना महिनामा, वर्ष वर्षमा पार्टी फेर्ने मानिसको चरित्रलाई अवसरवादी चरित्र भनिन्छ, त्यस्तो चरित्र बोकेको मानिसलाई कसैले पत्याउँदैनन् । त्यसमा पनि कम्युनिष्ट पार्टीको क पनि नजानेको मान्छे, एउटा किताब पनि नपढेको मान्छे, दर्शनको कुनै व्याख्या गर्नै नसक्ने मान्छेका बारेमा मैले केही भनिरहनु पर्ने आवश्यकता छैन । कसैले पनि मुकाबिला भइरहेको छ भनेर बुझेका छैनन् । हामी जित्छौँ ।’ २०४८ सालमा राष्ट्रियसभा, २०५६, २०६४, २०७०, २०७४ सालमा भएका हरेक निर्वाचन नेपाल संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ ।

माधव नेपाललाई मैले प्रतिस्पर्धी नै ठानेको छैन : गुप्ता
पूर्व–प्रधानमन्त्री नेपालका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता गएको स्थानीय निर्वाचनपछि मात्रै एमाले प्रवेश गर्नुभएको हो । शाहीकालमा नै मेयर बन्नुभएका गुप्ता ०७० को निर्वाचनमा पनि नेपालकै प्रतिस्पर्धी हुनुहुन्छ । विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमबाट उम्मेदवार बन्नुभएका गुप्ता नेपालसँग ३३८ मतले पराजित हुनुभएको थियो । ०७४ को निर्वाचनमा गुप्ता तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट गौर नगरपालिकाको मेयर निर्वाचित हुनुभएको थियो । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट गौर नगरपालिकाको मेयरका उम्मेदवार बन्नुभएको थियो । उम्मेदवार अजय ‘हेभिवेट’ नेता नेपाललाई प्रतिस्पर्धी नै ठान्नुहुन्न । गुप्ता आफू मतदाताको घरदैलोमा जाँदा राम्रो समर्थन प्राप्त भइरहेको भन्दै एमालेप्रति जनता उत्साहित भएको जिकिर गर्नुहुन्छ । पार्टी परिवर्तन गर्दैै चुनाव लड्दै आउनुभएका गुप्ताले माधव नेपाल देशको प्रधानमन्त्री भइसकेको व्यक्ति भए पनि रौतहटका जनतालाई न्याय गर्न नसकेको आरोप लगाउँदै भन्नुभयो, ‘माधव नेपाल प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ । उहाँले रौतहट क्षेत्र नम्बर १ बाट दुईपटक प्रतिनिधित्व गर्नुभएको छ । तर, त्यहाँ कुनै विकास भएको छैन । रौतहटका जनतालाई उहाँले न्याय गर्नुभएको छैन । यहाँका जनता एमालेको साथमा छन् । जनताले एमालेलाई मत दिनुहुन्छ ।’

यस्तो छ अंकगणित
गएको स्थानीय निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ का गौर र राजदेवी नगरपालिका एकीकृत समाजवादी, यमुनामाई गाउँपालिकामा लोसपा, दुर्गा भगवती गाउँपालिका माओवादी र माधवनारायण नगरपालिका कांग्रेसले जितेको थियो । रौतहट १ मा माधवनारायण, राजदेवी र गौर नगरपालिकाका साथै गढीमाईका तीनवटा वडा, गरुडाको १ नम्बर वडा, यमुनामाई गाउँपालिका र दुर्गा भगवती गाउँपालिका पर्दछन् । यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार नेपाल सुरक्षित अवस्थामा देखिनुहुन्छ । यो क्षेत्रमा पर्ने स्थानीय तहका वडामा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले १९ हजार ६९८, नेपाली कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले आठ हजार २४१, माओवादीले आठ हजार १९१ र एमालेले सात हजार ३८५ मत पाएका थिए । हालको सत्ता गठबन्धनमा रहेका दलको मत जोड्दा नेपालको पक्षमा ५६ हजार ८७९ रहेको छ भने एमाले र जसपा तालमेल गर्दा गुप्ताको पक्षमा १५ हजार ६२६ पुग्छ ।

नेकपा एमालेको जनता समाजवादी पार्टी (जसपा)सँग देशव्यापी तालमेल छ । तर, रौतहटमै जसपासँगको गठबन्धनकै कारण प्रभु साह एमालेबाट बाहिरिनु भएको छ । रौतहट प्रभु साहको राम्रो वर्चस्व भएको जिल्ला मानिन्छ । यसको असर एमाले उम्मेदवार गुप्तालाई पर्ने देखिन्छ । अर्कोतर्फ सत्ता गठबन्धनका दलहरूभित्र पनि आन्तरिक असन्तुष्टि छ । तर, त्यो असन्तुष्टिले चुनावी परिणाममा असर नपर्ने नेताहरूको दाबी छ । यो निर्वाचन क्षेत्रमा नेपाल र गुप्तासँगै १६ जना चुनावी प्रतिस्पर्धामा छन् । जनमत पार्टीका राजेन्द्रप्रसाद साह, नेपाली जनता दलका सुबोध चन्द्रसाह, नेपाल सुशासन पार्टीका रञ्जितकुमार पटेल, राष्ट्रिय स्वतन्त्र पार्टीका मिस्टर सूर्यदेवप्रसाद कोइराला चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, रामआधार महतो कोइरी, रामबलिकुमार यादव, अनिल कुमारलाल दास, रेवन्त झा लगायतले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?